प्रशंसा-पत्र

:- मनिराम कडेल, बाग्लुङ  २०७८ मंसिर ७ गते ११:४४ मा प्रकाशित

रातो घुम्टो भित्र
काला आँखाबाट
बगिरहेछन् अश्रुधारा
छाती भित्र मडारिएकाछन्
अनन्त वेदना र सुस्केराहरू

पिरोलिन्छ मन
माइतीको प्यारो आँगन
छोड्नुपर्ने तितो यथार्थ
सम्झिदिदा मस्तिष्कले

छट्पटिन्छ मन
चेतना गुम हुन्छ
हुन्छ उस्तै भावना शून्य
अनवरत आइरहेछन् यादहरू
भाइ, बहिनी र साथीका साथहरू
समाइ हिँडेका समवय हातहरू

लाग्छ अनेक अनेक
उपचारले श्रृङ्गारिएकी
बेहुलीको जीवन
त्यही दिनबाट कुरूप भयो
मानौ कैद गरियो
आकाशमा स्वच्छन्द
उडिरहेकी चरी पिँजडामा
मानौ त्यसरी नै भत्किए सपनाहरू
जसरी भूकम्पले भत्काएको थीयो नौतले धरहरा

गएको भदौ उनन्तिस गते सम्झन्छे बेहुली
बाल दिवसको दिन
ऊ बालविवाहको घोर भर्त्सना गर्दै
वक्तृत्वकला प्रतियोगितामा
प्रथम भएर पाएकी थिई प्रशंसापत्र।

त्यस दिन उसले प्रशंसा-पत्र मात्र होइन
अतुल हौसला र प्रेरणा पाएकी थिई
आत्मसम्मान र आत्मगौरवता पाएकी थिई
त्यही दिन उसका कयौँ सपान, उद्देश्य र
अभिलाषाहरूको समुद्घाटन भएको थियोे ।

प्रशंसापत्र अझै उसैगरि टाँगिएको छ भत्तामा
जसरी टाँगिएकाछन्
ध्वजा र पतकाहरू बिवाहा मण्डपमा।

त्यही दिन बेहुली सम्झन्छे
रातो अबिरले रङ्गिएको निधार
र  प्रशंसापत्र लिएको हात देखेर
उसैका बुबाले
स्याब्बास्! स्याब्बास्!!
भन्दै मारेको धाप सम्झन्छे।

त्यस्तै अर्को कुनै दिन
मुरी कम चार (१६)पुगेकी छोरी
माइतमै राख्नु हुन्न इज्जत रहन्न
उसकै बुबाले भनेको सम्झन्छे
लगनको मुहुर्त निकाल्न
दिनहरू गनेको सम्झन्छे।

 ✍️:- मनिराम कडेल

     बाग्लुङ 

प्रतिक्रिया