आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:४९
वासिङटन डिसी 10:04

कविता-संगम

अस्मिता आचार्य २०७८ मंसिर ३ गते २२:१३ मा प्रकाशित

ओइ! सुन न

मेरो शब्द ए! मेरो स्वर तिमी
मेरो आवाज,ए! मेरो हजुर तिमी

तिमीलाई छुन
कहाँ सकेकी थिएँ र मैले
अहिले सम्मै।
मेरा सारा प्रयास त तुहिएथ्यो
युगौंअघि नै ।

आज फेरि खोजेथेँ तिमीलाई छुन,
ओहो !
छोएछु त यसपटक मैले।
हामी साँच्चिकै त
आज बल्ल पो भेट्यौं त,है प्रिय ?

आभार,तिमीलाई
मैले तिमी भेटे सरह
तिमीले पनि मलाई भेटिएकोमा।

आखिर,
केवल मेरै शब्दहरु न हौ तिमी,
कहाँ जान्थ्यौ र यो कलम छोडेर !
अब बल्ल तिम्री प्रियाले
तिम्रो गीत गाउन जानी,
भाका मिलाएर
तिम्रो प्रीत गुनगुनाउन बल्ल जानी ।
बल्ल भेटी संगीतले
उसको शब्दलाई ।
बल्ल छोई यसपाली
तिम्री स्पर्शले
तिमीलाई नै ।

यस्तरी कि मानौं,

बर्सिनै आटें
बेहुलीका आँखाहरु
ओसिला खुसीका थोपाहरु

फुत्किनै आँटेझैं
मायालुको ओंठबाट
मुस्कान
गर्मी तरबतर

मानौं,
क्यानभासमा उत्रिन आतुर
तस्वीरले पाउँदैछ आफ्नै काया
आफ्नै स्वरुप,
आफ्नै रंग, आफ्नै रुप,
आफू मात्र, केवल आफू नै,
आफ्नै रेखाचित्रभित्र
आफ्नै चित्र, आफैँ रेखाचित्र ।

अड्किरहेछ मानौं, रेशमी कुची
प्रणयका औंलाहरुमा
तस्वीर बन्न आतुर,
निस्सासिईरहेको प्राणले
बल्ल भेटेझैं,
उसकै आफ्नो ज्यान,
उसकै आफ्नो श्वास।

मानौं,
प्यालेटभरि बाछिटाहरु
छिट्कीरहेछन् रङ्गरस
छरपष्ट
र मनाईरहेछन् होली
उन्मादको ।

मानौं,
छनछनाउँदैछ घुँङ्ग्रु
पयरमा सरगम जडेर,
नाचिरहेजस्तो
मायाको डबलीमा मस्त!
मदमत्त!!

मानौं, सर्कियोझैं आत्मा
र बल्ल तल्ल निस्किँदैछ
दबेको सास ।
फुर्नै आँट्यो झैं पानाभरी,
घायल कवि,
पागल हृदय,
घायल मन,
घायल कलम,
घायल हरफहरु प्रेमका।

ओहो!
यो अनुभूति – कस्तो अनुपमेय !
यो आश्चर्य –कस्तो आनन्दमय !

बल्ल भेटी यसपाली तिमीलाई
तिम्री लेखनीले,
अन्तत: लेखेरै छोडी
तिम्री लेखनीले उसको अक्षर –

ढलमल, ढलमल,पाना भरी
छलछल,छलछल,प्रेमका अक्षरहरु ।

ओइ !

मेरो शब्द ए! मेरो स्वर तिमी
मेरो आवाज ए! मेरो हजुर तिमी

तिम्रै मौनता त हुँ म,
तिमी मेरै स्वर त हौ।
आखिर,कलम हुँ म तिम्री,
तिमी
केवल मेरै, मेरै मात्र,
मेरै त शब्द हौ।

ओहो!
यो कस्तो माधुर्य -त्यो मौन गुञ्जनको!
यो कस्तो मुस्कुराहट -त्यो रोदनको!

अरे!
छोएछु त तिमीलाई आज

आहा!
कस्तरी छोएछु त
तिमीलाई मैले।

मुस्कुराईरहेछ झैं
उष्ण ओँठमा,
छताछुल्ल स्पर्श!
प्रेमको स्पर्श!!
प्रेमको पहिलो,पहिलो स्पर्श !!

-अस्मिता आचार्य
(अस्टिन, टेक्सास)

प्रतिक्रिया