साहित्य के हो,नव रस कुन हो थाहा थिएन,तैपनि सानैबाट साहित्यमा रुचि थियो।जब “गरिमा” मधुपर्क जस्ता साहित्यिक मासिक हातमा पर्थे,हरफ–हरफ नछुटाई पढ्ने आदत पर्यो।कुनै महिना यस्ता किताब नपढेमा मासिक–कर्म छुट्यो कि जस्तो लाग्थ्यो।सायद एलएलसी पछाडि त काम नै एउटा ऊनीको झोलामा एक घान मकै,दुई मुठ्ठी भट्टमास,अनि भेटेका किताब लिएर खोला–खोल्स्यान अनि टारीमा वस्तुभाउ चराउने अनि शीतलु ठाउँ खोज्दै किताब पढ्ने गरियो।
यसै क्रममा कता–कताबाट मेरा हातमा म्यासिम गोर्कीको “आमा” उपन्यास मिल्यो।त्यो बेला मुलुकमा जनयुद्ध चलिरहेकाले “आमा” उपन्यास पढ्नु राज्य विद्रोह जस्तो थियो,तैपनि पढ्ने कोशिस गरियो।मूल पुस्तक रुसी भाषामा लेखिए पनि नेपाली अनुवादक राजेन्द्र थापाले अनुवाद गरेकाले नेपाली भाषामा पढ्न सहज भयो।खै किन हो कुनै मलाई त्यति किताब गङ्गा बगे जस्तो बगे जस्तो लागेन।नेपाली जनजिब्रोमा चट्ट मन छुन सकेन।अनुवादका कारण यस्तो भएको हुन सक्छ। भाषिक,सामाजिक तथा सांस्कृतिक विषय अनुवाद हुनै सक्दैनन्।त्यसैले,पुस्तकको भाव अनुवादले बोक्न नसकेको हुन सक्छ।बस्,गोर्कीको ‘आमा’ उपन्यास पढेको आज याद यत्ति मात्र छ कि एउटा क्रान्तिकारी छोरा पावेल र एक विदुवा महिला अर्थात पावेलकी आमा बिचको क्रान्तिमा आमाले भोगेको पीडा र दिएको सहयोगले हो भन्ने ज्ञान मिल्यो।जेनतेन किताब पढेर सकियो,रक्तकोषिकामा क्रान्ति ऊर्जा मिल्यो जस्तो लाग्यो।
ममा साहित्यप्रतिको अभिरुचि अझै बढ्दै थियो।त्यसै समयमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘गौरी’ खण्डकाव्य हातमा पर्यो।राष्ट्रकवि घिमिरेको पहिलो धर्मपत्नी गौरीको महाप्रस्तानको वियोगबाट छटपटाइरहेका घिमिरेको ‘गौरी’ काव्यका हरेक श्लोक पिच्छे डुबुल्की मार्दै काव्यकी केन्द्रविन्दु कविकी धर्मपत्नी गौरीलाई सम्झदै आँखा रुझाउन पुगेँ।साँझको अँधेरीलाई चिर्दै हातमा टुकी बाल्दै आउने ती गौरी अनि टुकीको भित्तामा पर्ने ती गौरीको छायाँ जव राष्ट्रकवि खाटमा बस्दै कविता फुराउन थाल्थे तव राष्ट्रकविको समिपमा तिनै गौरी नहुँदा बगेर आउथ्यो होला।
आमा नहुँदाको याद,पीडा र छटपटी “स्यानी” उपन्यास पढदा यस्तो लाग्थ्यो कि लेखक पात्र आफू नै बगेको छु।‘गौरी’ पढिसकेपछि मैले पनि माधवप्रसाद घिमिरेका जस्ता लबेदा सुरुवाल,उस्तै उस्तै जवाहरकोट,उस्तैउस्तै चस्मामा ‘गौरी’ खोजिरहेछु जस्तो लाग्थ्यो।काव्यमा उल्लिखित शान्ति र कान्तिलाई आफ्ना साथी मान्दै कहीं भेटिए भने जीवनभर साथ रहनेछौं भन्दै काव्यकी गौरी,अनि आफ्नै आमा सम्झन्थेँ।वास्तवमा ‘गौरी’ काव्य पढ्दा मभित्र समानुभूति हुन्थ्यो,आफ्नै पीडा जस्तो लाग्थ्यो।
समय सन्दर्भसँगै आमाकै बयान भएको अर्को काव्य पुनःउनै राष्ट्रकवि कै ‘पापिनी आमा’ पढ्ने अवसर मिल्यो।एक बाल विधुवा गर्भवती भईन्,एक हातले खानाको पोको अर्को हातले रगतले लत्पतिएको शिशु बोकेर मसानघाटतर्फ ती शिशुलाई यस धर्तीबाट बिदा दिएर समाजमा ईज्जत जोगाउनुपर्छ भन्दै पाइला लगाउँथिन्। चकमन्न औंसीको रातमा शिशुलाई धर्तिमाता समक्ष सुम्पिन उद्धत हुन्छिन्।अन्त्यमा,उनका मनमा मृत्यु र मातृत्व मध्ये एक रोज्नु पर्दा मातृत्व नै रोजेको पाइन्छ। अनि, म आमा सम्झन्छु।
मैले कयैन पटक श्राद्ध गर्दा पुरोहितजीले “बाबुको वा आमाको नाम सम्झनु” भनेको सुनेको छु।कतिपय छोराहरू आमाको अनुहार सम्झन नसकेको कुरा पनि सुनेको छु।तर “स्यानी” उपन्यासमा लेखकले यहाँ आमासँग बिताएका हरेक पलहरु मानसपटलमा हुबहु उतारेका छन्।‘गौरी’ शोक काव्य थियो,राष्ट्रकवि माधवप्रसाद घिमिरेले पत्नी गौरीको विछोडमा मर्माहित भएका कवि हृदय व्यक्त थियो,स्यानी उपन्यासमा लेखक खगराज बरालको मातृ विछोडमा मर्माहित भएको आख्यान हृदय व्यक्त भएको छ । यसै परिवेशमा खगराज बरालद्वारा लिखित “स्यानी” उपन्यासको सेरोफेरोमा समीक्षा गर्ने प्रयास गरेको छु।
नेपाली परिवेशअनुसार खोटी नभएको छोरा भएपछि छोरा (लेखक स्वयम्) को आयु नै पूरा नै छैन कि भन्ने जनविश्वास अनुरूप कतै जोगीको कमान्डुलुमा भिक्षा दान दिएको त कतै दमिनीको सुजेरोमा हालिदिएको,कतै देब्रे कानमाथि मुन्द्री लगाएर सुनारको छोरो बनाएको प्रसङ्ग उपन्यासमा आएको छ।लेखक सोह्र वर्ष पार गरेको र आमाले लामो सास फेर्न पाएको अवस्थामा आम नेपालीको औसत आयु नपुग्दै आमा (स्यानी) को मृत्यु भएको कुराले पाठकको मन झन चसक्क बिझाउँछ।पाठकको आँखा तप्प तप्प चुहाउँदै आँसुले नै पुस्तकको पाना पल्टाउनु पर्ने अवस्था आउन सक्ने पुस्तक रहेको छ तैपनि लेखकले यस विषयका कसरी कलम समाउँदै स्मरणात्मक उपन्यास सिर्जना गरे होलान् भन्ने अवस्थामा पाठकलाई पुर्याउँछ।पाठकले त दह्रो मन र मस्तिष्क लिएर उपन्यास टुङ्ग्याउनुपर्ने अवस्थामा पुग्दा लेखकले कथानक सिर्जना कसरी गरे होलान् भन्ने जिज्ञासा मनमा आउँछ।
भारतको असम (स्यानीका माइत पनि असम नै हुन्छ) बाट धाँगोले बाँधेको चिठी आउँदा चिठ्ठीको भित्री समाचार सुन्न नपाउँदै रुन थाल्ने ती स्यानी आज आफैँ मृत्युवरण गर्दा कति रोए होलान् ती स्यानीका छोरा लेखक भन्ने भावनाले मन छुन्छ।रेडियोमा झलकमान गन्दर्भले ले “हे वरै बाबाले सोध्लान् नि खै छोरा भन्लान्……..,” गीत सुन्दा रुने स्यानीले आफ्नो मृत्युमा पतिले स्यानीको शरीरमा सिन्दुर पोते राख्दा साँच्चै स्यानीले हेर्न मिल्ने भए कति रोएकी होलिन् भन्ने कुराले मेरो मन चसक्क छोयो।जुन गङ्गामा स्वस्थानीको साङ्गेपछि फूल सेलाइएको थियो,त्यही गङ्गाको घाटमा चिता बनाएर आफ्नै आमालाई त्यही चितामाथि राख्दै कोरा कपडा लगाएर,आगाको मसाल बोकेर त्यही आमामा आगो झास्नै र शरीरलाई नै खरानी पार्ने हाम्रो अन्तिम संस्कारलाई सम्झिदा पनि मुटु काम्छ।यसलाई दोहोर्याएर सोच्न त सकिँदैन । अनि यस्तो कहानी कसरी लेख्न सकिएला ? तर लेखे बरालले लेखे पो कसरी ?
नवौँ अङ्कमा लेखकले आºनो घरको गर्भवती भैंसी भिरबाट लडेको र कण्ठीको ढाँड भाँचिएको कुरा भोगेका छन्।बिहानीपख आँगनको डिलमा कागले कराउँदै दक्षिणतिर जाँदाको दिनमा लेखक स्वयम्ले भैंसी मरेको कुरा आमालाई सुनाउन चाहेर पनि सक्दैनन्, भक्कानिन्छन् । लेखक भक्कानिँदै भन्न लाग्दा दुःख पाउनुभन्दा मुक्ति पाएको भन्दै लेखकलाई आमा सम्झाउँदाको सन्दर्भ पाठकका लागि खप्न कठिन हुन्छ।हामी आम नेपालीलाई कुखुराका चल्ला होस् वा बाख्राका पाठापाठी होस् वा भैंसी मर्दा होस् वा खेतीबाली असिनाले मास्दा होस्,आँखाबाट त्यसै आँसुका दाना खस्छन्, भावनाका पीडा सरी । उपन्यासमा यस्ता पीडासँग साधारणीकरण हुँदा पाठकका पनि आँखा रसाएर आउँछ, समानुभूति हुन्छ।
उपन्यासमा हिन्दु धर्मअनुसार तेह्र दिनसम्म गर्नुपर्ने कर्मसँगै आमाको बाल्य कालदेखिको स्मरण गरेका छन् लेखकले।गरुड पुराणलगायत अन्य कर्महरूमा आमालाई सँगसँगै स्मरण गरेका छन्,अतीतका घटनासँग जोडेका छन्।धर्ती देखाउने स्रस्टा,ज्ञान दिने गुरु,खाना खुवाउने भान्छे,बिसञ्चो हुँदा निधार छामेर उपचार गर्ने डाक्टर, अर्तिउपदेश दिने बुद्ध, कामकाजमा सहयोग गर्ने साथीका रूपमा लेखकले आमालाई लिएका छन्।तिनै आमा स्यानीको साथमा बाल्य कालदेखिका देखाइ, भोगाइका गन्थन र स्मरणमा आधारित छ उपन्यास “स्यानी”।लेखकले आफ्नै स्वभाव अनुकूलको भाषा प्रयोग गरेका पनि छन्, भाषा नेपाली जनजिब्राले बोलिने स्थानीय भाषाको प्रशस्त प्रयोग भएको छ।
अन्तमा, सबैको बाल्यकाल,परिवेश,शब्द,शैलीसँग मिल्दोजुल्दो गरी लेखिएकाले पाठकलाई यस उपन्यास पनि “गौरी” काव्यको जस्तै छनक पाइन्छ।मृत्यु एउटा अन्तिम सत्य हो तैपनि कसैलाई सहज लाग्दैन।तिनै स्यानी यस धर्तीबाट बिदा भएर परलोकको तारा भइसकेकी छन्, धुव्रतारा जस्तै अमर बनून्।
जब लेख क्लिष्ठ हुँदैन,सलल बगेको हुन्छ,तब आफूलाई कल्पनामा जोड्न मन लाग्छ,लेखकसँगै बसेर उनैका कथा सुनेको छु जस्तो लाग्छ।साङ्गिला बुक्स प्रा.लि.ले प्रकाशन गरेको यो उपन्यास पठनीय छ,सङ्ग्रहीय छ,आफन्तीलाई उपहार दिन योग्य छ।गुमेपछि सम्झने नेपाली प्रवृत्तिमा परिवर्तन गर्न र हरेक छोराछोरीले आफ्नी आमालाई चिन्न यो उपन्यास पढ्नै पर्छ भन्ने मलाई लागेको छ।यस्तै मर्मस्पर्शी आख्यानको अपेक्षा गर्दै “स्यानी” उपन्यासका लागि लेखकलाई मुरी मुरी बधाई।
कृतिः “स्यानी”
विधाः उपन्यास
लेखकः खगराज बराल
प्रकाशनः साङ्गिला बुक्स प्रा.लि.
संस्करणः पहिलो (२०७७)
पृष्ठः २५७
मूल्यः रु ३७५÷–
प्रतिक्रिया