आगामी २०७८ साल मंसिर १८ र १९ गते इलाममा साहित्यिक पत्रकार संघ,काठमाडौ र इलाम नगरपालिका साहित्य,कला,सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन सरोकार समितिको संयुक्त आयोजनामा दुई दिने पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना गरिने भएको छ।
दुई दिवशीय सो सम्मेलनमा नेपाल र भारतका एकसय बढी साहित्यकारहरुको उपस्थिति रहनेछ।साहित्यिक पत्रकार संघ र इलाम नगरपालिकाले वि. स. २०४१ सालमा यस्तै कार्यक्रमको आयोजना गरेको थियो।जसमा भूपि शेरचन, केशवराज पिडाली, शंकर कोइरालालगायतका स्रष्टाहरुको विशेष उपस्थिति रहेको थियो।
यस सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाउने र इलामको पर्यटनमा मद्दत पुग्ने विश्वास लिइएको छ।
सो सम्मेनलनमा कार्यपत्रहरु प्रस्तुति, पुस्तक प्रदर्शनी,साहित्यिक परिचर्चा,वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसंग साक्षात्कार,साँस्कृतिक कार्यक्रम,सम्मान कार्यक्रम,कवि सम्मेलन तथा इलाममा पर्यटकीयस्थलहरुको प्रदर्शनीलगायतका कार्यक्रमहरु हुनेछन्।
इलाम नगरपालिकाले हालै स्रष्टापार्कको निर्माण गरिसकेको छ।भौतिक उपलब्धिमा अग्रस्थानमा रहेको इलाम नगरपालिका साहित्यिक र सास्कृतिक विकासको लागि साहित्य, कला, सङ्गीत प्रतिष्ठानको स्थापना गरेर काम गर्दै आएको छ।यस्तै इलामको पर्यटन विकासको लागि पनि इलाम नगर पर्यटन सरोकार समितिमार्फत काम गर्दै आएको छ।
इलाम अहिले आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ।सम्मेलनमा सहभागी स्रष्टाहरुले सम्मेलनको अवसरमा विभिन्न पर्यटकीयस्थलहरुको भ्रमण पनि गर्नेछन ।यस सम्मेलनमार्फत इलामको पर्यटन र साहित्यको अझ प्रचार हुने पनि विश्वास लिइएको छ।
साहित्य, कला, सङ्गीत प्रतिष्ठानले इलाममा पारिजातको प्रतिमा स्थापना, अरनिको सास्कृतिक सङग्राहालयको व्यवस्थापन र संचालन, वरिष्ठ सङ्गीतकार कोमल निरौलाको राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण,चर्चित साहित्यकार विष्णु नविनको अप्रकाशित तीन कृतिहरुको प्रकाशन, वरिष्ठ इतिहासविद एवं लेखक प्रा. युद्धप्रसाद बैद्यको “इलाम इतिहास र विकास” कृतिको प्रकाशन र बालसाहित्यको कृति प्रकाशनलगायत विभिन्न साहित्यिक र सास्कृतिक गतिविधिहरु सम्पन्न गर्दै आएको छ।
प्रतिक्रिया