शुक्रबार, जेठ १३ २०७९
काठमाडौं १८:५०
वासिङटन डिसी 09:05

न्याक दशै भोज र उब्जाएका प्रश्नहरु

कृष्ण सादगी २०७८ कार्तिक ३० गते २:३७ मा प्रकाशित

 

 

काम गर्दा गल्तीहरु हुन सक्छन्। तिनलाई फेरी नदोहोरिने गरी सच्याउन, नीति नियम र बिधी प्रकृया अनि मापदण्डहरु तय गर्न सक्नुमा नै समुदायको बृहत्तर हित जोडिएको हुन्छ। भएको गल्तीमा क्षमा याचना गर्दा कोही पनि सानो हुदैन। त्यस्तो गल्ती गलत आसयका साथ भए गरेको थिएन भने त क्षमा दिनेले पनि तुरुन्तै क्षमा गर्न सक्नु पर्छ। समुदायको बृहत्तर हितका निम्ती हरेक गल्तीहरुबाट पाठ सिकेर त्यस्तो पुन दोहोरिन नदिन विशेष सतर्कता अपनाईनु पर्छ।

पृष्ठभुमी

हाम्रो NACC समुदायमा फेरी अर्को नयाँ विवादले जरो गाडिरहेको देखिन्छ । समाजलाई विभाजित गर्न हैन, सामुदायिक भावनाको जगलाई अझ बलियो बनाउनका लागि हुनु पर्ने हो हाम्रा सामुहिक कर्म, कृयाकलाप र हाम्रा चाड पर्वहरु । हाम्रा रितिरिवाजहरु अनि परम्परा र चलनहरु ।

तर त्यस्ता परम्पराहरुलाई सन्चालन गर्न र व्यवस्थापन गर्न विवेकसम्मत विधिहरुको अवलम्बलन गरिएन भने समुदायमा अनावश्यक विवाद र तनाव बढ्न सक्छ । यसपाली दशै मनाउने क्रममा न्याकमा फेरी त्यसरी नै एउटा नयां गल्तीले थप नया विवाद शुरु भएको छ ।

अघिल्लो विवादले उचित समाधानको बाटो समाति नसक्दै अर्को बिबाद शुरु हुनुले नेतृत्वमा रहेका साथीहरुको पनि सामुहिक विवेकलाई चुनौति दिइरहेको आभाष भैरहेको छ ।

न्याक परिकल्पनाको पृष्ठभुमी देखि यस अभियानमा प्रत्यक्ष्य रुपमा जोडिएको यो अधिकार कर्मीलाई के राम्ररी थाहा छ भने पुराण माध्यम मात्रै थियो। न्याकमा अपार जन सहभागिता जुट्नुमा यसलाई जुन मर्म र भावनामा अनि जुन विधी र प्रकृयाले पुराणको दिनसम्म बढो जतन र हिफाजत गरेर अभियानलाई ल्याईयो त्यसको मुल मर्म फरक थियो।

कसै कसैलाई लाग्ला कि यो अभियान बिशुद्ध मन्दिर बनाउन गरेको थियो’ त्यो पुर्ण सत्य होईन । यो तथ्य आंशिक सत्य मात्रै हो। अनि कसैलाई लाग्ला कि यो त पुरै हिन्दुबादी ब्रामण क्षेत्रीहरुको बाहुल्यता रहेको हुनाले हिन्दु मन्दिर बनाउने अभियान थियो। त्यो पनि सत्य होईन थ्यो। अनि कसैलाई लागिरहेको होला कि यो त ‘बिशुद्ध सामुदायिक केन्द्र’बनाउने अभियान मात्रै थियो त्यो पनि आंशिक सत्य मात्रै थियो। किनकि बुझाईको पृष्ठभुमी आज उत्पन्न विवादको एउटा कारण देखिन्छ।

बरु बास्तबिकता के थियो भने हामी सबै नेपाली जहाँ सबै धर्मावलम्बीहरुले पनि साथ दिएका छन् र धर्म भन्दा पनि ज्ञान बिज्ञानमा बिस्वास गर्ने रेसनलिष्टहरु पनि सामुदायिक केन्द्रको निर्माण अभियानमा जोडिएका थिए र छन्। त्यसैले, कसैको आश्था वा बिस्वास वा भनौं धार्मिक आस्था संस्कार वा बिस्वास प्रति वा भनौं अनास्था प्रति पनि यस सामुदायिक केन्द्रको कुनै पनि गतिबिधीले कत्ति पनि चोट पुर्याउने गतिबिधी गरिनु हुन्न।

हिन्दु परिवारमा जन्मिएको मानिस अरु नै धर्म पनि मानि रहेको हुन्छ भने अरु नै धर्म मान्ने परिवार र समुदायको मानिस हिन्दु धर्म पनि मानि रहेको हुन्छ। त्यसैले पनि धार्मिक आस्था व्यक्तीको बैयक्तिक मामला हो। र यो निजी व्यैयक्तिक आस्था वा ममिला भएकाले समुदायका हरेक व्यक्तीको आस्थामा चोट नपुग्ने गरी सामुहिक संस्थाका साझा गतिबिधीहरु संचालन हुनु पर्दछ।

त्यसमा पनि हाम्रो नेपाली समाजको बनौट पुर्णत विविधतायुक्त छ। फरक धर्म सम्प्रदाय वा समुहका मानिसहरुको पनि यो साझा सामुदायिक केन्द्र बन्न सक्नु पर्दछ। त्यसैले- यसको गतिबिधी संचालन गर्दा निश्चित मापदण्ड बिधी र प्रकृयाहरु अबलम्बन हुनै पर्दछ। सामुदायिक केन्द्रको कुनै पनि गतिबिधीले नेपाली सामुदायको बिबिधतालाई सम्मान गर्दै कुनै पनि व्यक्ती/सदस्यको आस्थामा चोट नपुग्ने गरी यसका कृयाकलापहरु संचालन हुनु र गरिनु पर्दछ।

विवाद/समस्याको शुरुआत

यस पटक दशै कार्यक्रम मनाउँदा यो माथि व्याख्या गरिएको मुलभुत पक्षलाई ध्यान दिईएन र हाम्रो आस्था माथि चोट आघात पुग्यो भन्ने आशयको एउटा अभिव्यक्ती ईनेप्लिजमा सार्वजनिक भयो। यो बिज्ञप्ती आउनु कुनै ठुलो समस्या वा पर्लय भएको होईन। यसले समुदायमा एउटा तरंग र बहसलाई घनिभुत गर्दथ्यो । र- भविष्यमा विधी र प्रकृया पुर्याएर मात्रै त्यस्ता गतिबिधीहरु संचालन गर्न गराउन एउटा ‘डिस्कोर्ष’को शुरुआत गर्दथ्यो।

तर त्यसपछी फेरी एउटा प्रकृयागत त्रुटी सच्याउनलाई अर्को ठुलो गल्ती गरियो। यो अभिव्यक्तीको आशय र भावनालाई उच्च सम्मान गर्दै समस्या समाधान गर्न समुदायको नेतृत्व लाग्नु पर्नेमा उल्टो त्यो विज्ञप्ती वा सुचनालाई मिडियाबाट निकाल्न सम्मको दबाब दिईयो। बिचार र अभिव्यक्ती स्वतन्त्रता मात्रै हनन गरिएन यो कर्मले धेरै वटा परिस्थितीहरु उत्पन्न गराएको छ।

झट्ट सुन्दा यो बिज्ञप्तीलाई मिडीयाबाट हटाउने घटना सानो कुरा लाग्न सक्छ । तर यो सानो बिषय पटक्कै हैन। यो आधारभुत मानवाधिकारको हनन् हो। हामी यो संसार यो धर्ती नै सबैको साझा हो भन्ने विस्वास गर्ने अधिकार कर्मीहरुका लागि त यी र यस्ता कुनै पनि कर्म र घटनाहरु सामान्य पटक्कै हैनन्।

त्यसैले, कसैको आस्था वा विस्वासमा आघात पर्न सक्छ भन्ने ख्यालै नगरी गतिबिधी डिजाईन गरेर संचालन गर्ने र त्यसविरुद्ध उठेको आवाज र अभिव्यक्तीलाई हटाउन वा दबाउन भुमिका खेल्ने यो प्रबृती पटक्कै सामान्य कुरा हैन।

यसको समाधान अब समुदायमा बृहत्तर बहस र छलफल गराएर निश्चित निती र मापदण्डहरु तयार गरेर आम समुदायबाट त्यो पारित गराएर मात्रै त्यस्ता गतिबिधी संचालन हुन पर्छ । कसैको पनि आस्थामा चोट नपुग्ने गरी सामुदायिक केन्द्रका गतिबिधीहरु संचालन हुन पर्दछ।

समाधान के?

सामुदायिक केन्द्रका कुनै पनि सामुहिक गतिबिधी सन्चालन गर्नु पुर्व त्यसको सन्दर्भमा सबैको मर्म र भावनाको सम्मान हुने गरी निर्णय प्रकृयामा सहभागिता खोजिनु पर्दछ। त्यो कसरी भन्ने प्रश्न उठ्न सक्छ तर नेतृत्वले विवेकसम्मत ढंगबाट निर्णय प्रकृयामा सहभागिता खोज्न सक्नु पर्दछ।

हामीहरुले त्यही हाम्रो सामुदायिक केन्द्रको जमिन भित्र चार दिसाको सिमा भित्रै पनि ‘मन्दिर क्षेत्र वा परिसर र सामुदायिक केन्द्र क्षेत्र वा परिसर’ यी दुवैलाई अलग्ग अलग्ग गरेर सिमांकन गर्न सक्नु पर्छ। हो- मन्दिर परिसरमा यदि कसैको आस्था र भावनामा चोट पुग्छ भने हिंसाजन्य मांसाहारी कृयाकलाप हुनु हुन्न। तर सामुदायिक केन्द्रमा कोही गैर हिन्दुले पनि आफ्ना गतिबिधी कृयाकलाप गर्न वा संचालन गर्न सक्ने गरी यसलाई सिमांकन गरी नीति, विधी र प्रकृया मिलाउन सक्नु पर्दछ।

सामुदायिक केन्द्र र मन्दिर दुई बिलकुलै फरक कुराहरु हुन्। हामीहरुले यसको फरक आधार र अस्तित्वलाई बुझ्न र सोही अनुसार संस्थाका गतिबिधीहरु संचालन गर्न गराउन सक्नु पर्दछ। मन्दिरको क्षेत्र निर्धारण गर्नु पर्दछ र भिन्नै व्यवस्थापन टिमले त्यसको व्यवस्थापन र संचालन गर्नु पर्छ।

त्यसै गरी सामुदायिक केन्द्र भनेको गैर हिन्दुहरुको पनि साझा केन्द्र हो र यसमा समुदायको सबै खाले आबश्यकतालाई सम्बोधन गरेर ‘सेल्फ सस्टेनेबल’बनाउन भोलीका दिनमा सबैखाले गतिबिधी माछामासु जन्य भोज भतेर र सभा सेमिनार सम्मेलन, अनि कार्यक्रम र जमघट र पार्टीहरु पनि संचालन हुन पाउनु पर्छ।

जसरी मन्दिर परिसरमा त्यस्ता गतिबिधी गर्न पाईदैन भन्ने कुरा समुदायको सदस्यको आस्था र अधिकार हो त्यसैगरी सामुदायिक केन्द्रको हल वा परिसरमा माछा मासु बनाउन खान पाउनु त्यो परंपरा वा चलनमा रहेका व्यक्ती वा समुदायको आधारभुत कुरा नै हो।

म व्यक्तीगत रुपमा आफु ‘एब्स्युलुट भेजिटेरियन’ अर्थात् पुर्णत साकाहारी एवं अहिंसाबादी हुँ। मन्दिर परिसर पुर्ण साकाहारी हुन पर्छ र त्यहाँ हिंसाजन्य कुनै गतिबिधी गर्न गराउन पाईदैन भन्ने आवाजको पक्षपाती हुँ। तर त्यसो भन्दैमा माछा मासु खाने संस्कार, संस्कृती भएका व्यक्ती र समुदायका सदस्यहरुको पनि साझा सामुदायिक केन्द्र भएकाले सामुदायिक केन्द्रमा माछा मासु बनाउने र खाने कुरा बर्जित वा प्रतिबन्धित गर्न मिल्दैन वा भनौ हुँदैन भन्ने पक्षमा पनि म पुर्ण प्रष्ट नै छु।

यधपी- गत दशैमा त्यहाँ जे भयो, जसरी भयो र भैसके पछी उठेको आवाजमाथी जसरी आस्था र भावनामा चोट पुगेको भन्ने आवाजलाई दबाउन जुन व्यबहार गर्न खोजियो त्यो चै पुर्णत असोभनीय भन्ने मेरो राय ठहर हो।

समुदायको सदस्य होस् या नहोस् कुनै पनि ब्यक्ती वा समुदायको आस्था माथि चोट पर्ने कुनै पनि गतिबिधीहरु भविस्यमा दोहोरिनु हुन्न। जे जति गल्ती कमी कमजोरी भए ती प्रति क्षमा याचना गरेर यस्ता गम्भिर बिषय सवालहरुमा दुईचार जनाको मनमौजी निर्णयमा हैन समुदायका धेरै सदस्यहरुको राय सुझाव लिएर मात्रै निर्णय वा गतिबिधीहरु संचालन हुन पर्छ भन्ने तथ्यलाई आत्मसात गर्न सिकौं।

मन्दिर र सामुदायिक केन्द्र दुई बिलकुलै फरक कुराहरु हुन्। यी दुवै लाई एकै पनि नबुझौं। एउटै क्षेत्र वा चार सिमा भित्र रहे पनि यी दुवैलाई छुट्याउन जरुरी छ भन्ने तथ्यलाई आत्मसात गरौ। धर्म र आस्था फरक कुरा हो र सामुदायको सामुहिक गतिबिधी फरक कुरा हों। समुदाय त्यसमा पनि ‘नेपाली अमेरिकन समुदाय’को ब्यापक बिबिधता छ। र, विविधतासंगै त्यसको फरक अस्तित्व र चाहाना पनि हुन्छ । र ती सबै बिबिधतालाई नीति, विधी र प्रकृयाले व्यबवस्थान गर्नु सक्नु पर्छ। यस्तो गम्भिर सवालमा दुईचार जनाको लहडले भएको गल्तीलाई ढाकछोप गर्न नेतृत्वमा रहेकाहरु न्वारानदेखिको बल निकालेर लाग्ने होईन।

कसैको धर्म, आस्था र भावना माथि राजनीति नगरौं। अनि धर्म र आस्थाको सिमित चौघेरामा सामुदायिक केन्द्रको बृहत्तर सम्भावनालाई पनि नखुम्चाऔं। यी सबै कुराहरुको समाधान छ। समुदायमा उठेका हरेक विवादहरुलाई बहस र छलफल गरेर समुदायका सबैको वा भनौं एक मात्र सदस्यको पनि मर्म र आस्थालाई आघात नपर्ने गरी समाधान खोजिनु पर्दछ।

सामुदायिक केन्द्रको बृहत्तर सम्भावनालाई अगाडी बढाउन यस्ता गम्भिर सवालहरुलाई दबाएर हिड्न मिल्दैन। हो यस्तै बिबादहरुको समाधान गर्ने बिधी र प्रकृयामा अपनाईको व्यबहारलले नै नेतृत्वको क्षमता र नियत दुवैको प्रदर्शन र परिक्षा गरिरहेको हुन्छ।

प्रतिक्रिया