काठमाडौँ,१५ नोभेम्वर-प्राध्यापक डा.रमेशप्रसाद भट्टराईले ‘पैतालमा हिउँ आँखामा हिमाल’ नामको नियात्रासङ्ग्रहको शनिवार काठमाण्डौमा बिमोचन गरे। प्रमुख अतिथि भट्टराईले बिमोचन पश्चात भने,‘डोमेस्टिक ट्राभलमा यति शक्तिशाली पुस्तक मैले पढेको छैन।’
प्राडा भट्टराईका दृष्टिमा नेपालको पर्यटन र यात्रा साहित्यमा यो विश्वस्तरीय कृति हो ।उनले उक्त कृतिलाई ‘पर्यटन र साहित्यको उत्कृष्ट अन्तक्र्रिया’ का रूपमा प्रस्तुत गरे।
उनका अनुसार ‘पैतालमा हिउँ आँखामा हिमाल’ मा सौन्दर्य सृष्टिको भरपूर चेतना छ जसले पाठकलाई अन्त्यसम्मै एकोहोरो बनाएर तानिरहन्छ।उनका विचारमा उत्कृष्ट साहित्य नै यही हो।यो पुस्तकमा पाठकले दृष्टि,स्वाद,गन्ध र स्पर्स चारै गुण अनुभव गर्छन्।प्राडा भट्टराईका अनुसार उनले ‘पैतालमा हिउँ आँखामा हिमाल’ निकै मिहिन ढङ्गले पढे।उनलाई लाग्यो कि राजेन्द्रमानले लेखकीय सार्थकताको सिद्धि प्राप्त गरेका छन्,उनी उत्कृष्ट सर्जक हुन्।उनले पुस्तकमा पर्यटन भेटे; प्रकृति,समाज,संस्कृति, स्थानविवरण, साहस सबै भेटे।सौन्दर्यशास्त्र भेटे।
त्रिभुवन विश्वविद्यालयका अर्का प्राध्यापक तथा समीक्षक राम लोहनीले समीक्षात्मक टिप्पणीमा ‘यात्रा साहित्यको शानदार र उत्कृष्ट सङ्ग्रह’ भनेर प्रशंसा गरे।उनका अनुसार लेखनशैली काव्यात्मक छ,अभिव्यक्ति कला सशक्त र सुन्दर छ,लेखनमा शरीर र मनले गर्ने अनुभूतिहरू व्यक्त छन्।लेखकमा भरपूर राजनीतिक चेतना छ।अभिव्यक्तिमा व्यङ्ग्यचेत र हास्यचेत छ।प्रस्तुतिमा कथ्य,किम्बदन्ती र ऐतिहासिक तथ्यहरू छन्।वर्णनमा समाज छ,संस्कृति र प्रकृति छ।अधिकांश वाक्यहरू उद्धरणलायक छन्।प्रा.लोहनीको निष्कर्षअनुसार ‘पैतालमा हिउँ आँखामा हिमाल’पदयायात्रामा जानेहरूका लागि हाते पुस्तक हो,ट्रेकिङ व्यवसायीहरूका लागि व्यावसायिक मार्गदर्शन हो,साहित्यकार र साहित्यका पाठकहरूका लागि उत्कृष्ट कृति हो।
अर्का लेखक तथा समीक्षक श्रीओम श्रेष्ठ रोदनका विचारमा ‘अलेखकहरू सौखिन लेखक’ बन्ने लहर चलेका बेला राजेन्द्रमानको ‘पैतालामा हिउँ र आँखामा हिमाल’ ले उत्कृष्ट ठानिएका केही नियात्रा सङ्ग्रहरूलाई धेरै पछाडि पारिदिएको छ।
रोदनले लेखनलाई काव्यले रङ्गाएको र अनुभूतिले सजाएको उत्कृष्ट कृति दिएको भन्दै राजेन्द्रमानको अभिव्यक्तिकलाको मुक्त कण्ठले प्रशंसा गरे।
उनले आफ्नो निष्कर्ष सुनाए–पुस्तकमा समाजशास्त्रीय दृष्टि छ,भाषाशैली अत्यन्त सरल छ, शोध–अनुसन्धानका लागि उपयोगी छ।यो सङ्ग्रह पढेर नेपाली पाठकमात्रै होइन,राजेन्द्रमानसँग यात्रामा जोडिएर आएका विदेशहरू पनि धन्य हुनेछन्।
प्रसिद्ध नियात्राकार दामोदर पुडासैनी किशोरका विचारमा यात्रा लेख्नु जीवन लेख्नु हो,राजेन्द्रमानले जीवन लेखेका छन्।कमजोर नियात्रा साहित्यको बाढीमा ‘पैतालमा हिउँ आँखामा हिमाल’ विशिष्ट शैलीको कृति हो।
प्राध्यापक तथा साहित्यकार गार्गी शर्माले राजेन्द्रमानको लेखनकलाको प्रशंसा गर्दै आफूलाई मन परेका केही विशेषणहरू उद्धृत गरिन्।दीपक महतका विचारमा ‘पैतालामा हिउँ आँखामा हिमाल’अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्वभर फैलाउनु पर्छ।अर्का वक्ता विक्रम पाँणेले कृतिले राजेन्द्रमानको मान बढाएको बताउँदै भविष्यमा उनको जन्मघर र जन्मस्थान साहित्यिक पर्यटनको थलो हुने विश्वास प्रकट गरे।कृतिमा ११ वटा मूल शीर्षकअन्तर्गत स्वतन्त्र शीर्षकसहित ३१ वटा यात्रा निबन्ध समेटिएका छन्।कृति भन्डै चार सय पृष्ठको छ।लेखक राजेन्द्रमान पेसाले पर्यटन व्यवसायी हुन्।उनी नियात्रा लेख्छन्।नियात्रामा यो उनको दोस्रो कृति हो।
प्रतिक्रिया