नेपाली भाषा र साहित्यका क्षेत्रमा कलम चलाएर ख्याति आर्जन गर्नुभएका स्रष्टाहरुले एकपछि अर्को गर्दै छाडेर गएको सन्दर्भ (लेख) धेरै नै जम्मा भएपछि यसलाई पुस्तकको रुप दिनुपर्छ भन्ने सोच राखेर पत्रकार लेखक जयदेव भट्टराईले २०६६ भदौमा छाडेर जानेहरु नामक संस्मरण सङ्ग्रह निकालेका छन्।यस संस्मरण सङ्ग्रहभित्र युद्धप्रसाद मिश्र,बदरीनाथ भट्टराई,खड्गमान मल्ल, मातृकाप्रसाद कोइराला,डा.ईश्वर बराल,छिन्नलता,रत्नध्वज जोशी,केशवराज पिडाली,केदारमान ब्यथित,भूपि शेरचन,ध.न.गोतामे,कुलमणि देवकोटा,जनकला शर्मा,सिद्धिचरण श्रेष्ठ,यदुनाथ खनाल,घटराज भट्टराई, रुद्र खरेल लगायत विभिन्न ३१ जना छाडेर जाने व्यक्तिहरुका बारेमा लेखिएका लेखहरु छन्।साहित्यमा कलम चलाउने स्रष्टाहरु पनि पारिवारिक सदस्य जस्तै हुन् जसका बारेमा निरन्तर २० वर्ष अघिदेखि पत्रकार लेखक जयदेवले कलम चलाउंदै आइरहेका छन्।पत्रकार लेखक जयदेवले गोरखापत्र दैनिकमा शनिबारको दिन प्रकाशित हुने साहित्य स्तम्भमा लेख्दै आउने क्रममा कैयौ स्रष्टाहरुका बारेमा उहाँहरुको निधनपछि हालसम्म लेखिरहेका छन्।यसरी लेख्ने क्रममा कतिपय स्रष्टाहरुका बारेमा भने जयदेवले लेख्न सकेनन्।बासु शशी,पोषण पाण्डे,शशिकला शर्मा,धुस्वाँ सायमी,लैनसिंह वाङ्देल, गोमा,बालमुकुन्ददेव पाण्डे,शरत्चन्द्र शर्मा भट्टराई,अग्निशिखा,अलि मिया आदि स्रष्टाहरुलाई यहाँ समेट्न सकेका छैनन् पत्रकार लेखक जयदेवले।यस सङ्ग्रहभित्र परेका प्राय रचनाहरु गोरखापत्रमा प्रकाशित भएकोले यसमा कतिपय सन्दर्भ–प्रसङ्ग पुनरावृत्ति भएझै लाग्न सक्छ।गुनासा र दुःखेसा बढी भएजस्तो पनि लाग्न सक्ला जयदेव भन्दछन्।मृत्यु कसरी थाहै नदिई,पत्तै नदिई आउँदो रहेछ र यस धरतीमा बस्नेहरुलाई पीडा दिदो रहेछ भन्ने दुखद अनुभूति शायद आफ्ना आमाबुबाको निधनभन्दा बढी पीडा अरु नहोला।छाडेर जानेहरु कृति छाडेर जाने बुबाआमालाई समर्पण गर्नु नै सच्चा श्रद्धाञ्जली पत्रकार जयदेवले सम्झे।पत्रकार जयदेवको पूजनीय बुबा गुणदेव भट्टराई र माता बनु भट्टराईले एकै वर्षमा छाडेर गएका छन्। यसभन्दा अगाडि जयदेवका व्यक्तित्व र शब्दचित्र (२०५३, सा.प्र.),साहित्यकार परिचय र अभिव्यक्ति (२०५४, ने.रा.प्र.प्र.) र सन्दर्भ र खोजी (२०५७) नामक तीनवटा कृतिहरु प्रकाशित भैसकेका छन्।२०४६ असारमा छाडेर जाने स्रष्टा साहित्यकार रत्नध्वज जोशीले पर्दैन–पर्दैन कसैले मेरो बारेमा लेख्न–छाप्न भनेका रहेछन्।वि.सं. २०४५ सालको पृथ्वी प्रज्ञा पुरस्कार पाउने आशाले बस्नु भएको थियो तर जीवन भर उहाँले कुनै प्रज्ञा पुरस्कार पाउन सक्नु भएन यस पुस्तकभित्र भनिएको छ।२०५० वैशाखमा छाडेर जाने पारिजातलाई धेरै प्रकारबाट चिन्न सकिन्छ ।उहाँ एक शिक्षिका हुनुहुन्छ।प्रगतिवादी लेखिका,प्रतिष्ठित उपन्यासकार, चर्चित कथाकार,कवियत्री, संस्मरण लेखिका आदि।आखिर जेभन्दा पनि पारिजातको खास परिचय,खास योगदान भनेकै नेपाली साहित्यमा उहाँको कलम हो।कलिलै उमेरमा कडा रोगले गाँजे पनि स्रष्टा पारिजातको कलमलाई भने कसैले गाँज्न सकेन भनिएको छ।१९८३ फागुनमा जन्मेर २०५९ जेठमा छाडेर जाने रामभक्ति र भाषा साहित्य भक्ति साहित्यकार माधुरी भट्टराईलाई पाँच दशकको साहित्य साधनापछि मात्र नेपाली साहित्य जगत्ले चिनेको प्रतिभालाई नेपाली साहित्यले निकै सम्झ्यो। उहाँका बारेमा ठूला–ठूला विद्वानहरुले खुब कलम चलाए,अभिनन्दन पुरस्कार पनि आइलागे भनिएको छ।१९८३ मंसिरमा जन्मेर २०६३ फागुनमा हामीलाई छाडेर गएका कविवर मोहन कोइराला नेपाली साहित्यमा निरन्तर कलम चलाइरहने साधक, आरोप–प्रत्यारोप भए पनि,कवितालेखनका आरम्भिक दिनमा उपेक्षा सहे पनि नबुझिने कविता लेख्यो भनेर भन्दा पनि निरन्तर साहित्यमा समर्पित भएर लाग्ने एउटा स्रष्टा जीवनमा अनेकौ दुःख कष्ट खपेर पनि, रोगले गाँजे पनि साहित्य लेखेर, सम्पादन गरेर,साहित्यिक आन्दोलन,राजनीतिक आन्दोलनमा लागेर, साहित्यिक संघसंस्थामा आबद्ध भएर सक्रिय जीवन बाँच्नु भयो जयदेव लेख्दछन्।
१९८५ कार्तिकमा जन्मेर २०६५ पुसमा छाडेर गएका साहित्यकार रमेश विकल अमुद्रित अवस्थामै नयाँ सडकको गीत कथासङ्ग्रहका लागि मदन पुरस्कार पाउने व्यक्ति हुन् भनिएको छ।अविरल बग्दछ इन्द्रावती भनेजस्तै रमेश विकलले अविरल चल्दछ जीवन भने लेख्नु भएन यस पुस्तकमा भनिएको छ।१९८३ असोजमा जन्मेर २०५९ पुसमा छाडेर जाने दौलतविक्रम बिष्ट कथाकार,उपन्यासकार मात्र होइन नाटकको क्षेत्रमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्थ्यो उपन्यासकार हुनुअघि नै उहाँ नाटकमा खेल्ने गर्नुहुन्थ्यो भनेर लेखिएको छ।२०६२ जेठमा छाडेर जाने स्रष्टा विनय रावलको अपरिपक्व एउटा चालकको लापरवाहीले दार्जिलीङको खरसाङमा मोटर दुर्घटनामा मृत्यु भयो भनिएको छ।१९९४ असारमा जन्मेर २०६४ चैतमा छाडेर जाने गीतकार ईश्वर वल्लभ भाषा साहित्य क्षेत्रमा एउटा अग्लो व्यक्तित्व जो आफ्नो योगदानले त अग्लिनु भयो तर जीवनमा आफ्नै वेदनाले पिरोलिनु भयो भनेका छन् जयदेवले।१९८६ असारमा जन्मेर २०५९ वैशाख निधन भएका दुःखै दुःख भोग्ने कवि भरतराज पन्तले भोक, रोग र शोकको कारण कैयौपटक मृत्युलाई अँगाल्दा पनि अझै मलाई मृत्युले अँगाल्न सकेका छ्रन।एक आँखाले पश्चाताप र अर्को आँखाले अभिशापको आँसु मात्र बहाउने मैले के साहित्यिक देन दिन सकेको छु र। जीवनमा मेरो मूल्याङ्कन पनि कसले कसरी गर्न सक्ला र ? भन्दछन् पत्रकार जयदेव लेख्दछन्।मृत्यु पत्याउनै पर्ने स्वीकार्नै पर्ने नाटककार विजय मल्लले मेरो जीवन नै साहित्यमा वित्यो र अबको जीवन पनि साहित्यमा लगातार बिताउँछु अतितमा जे गरियो अब भविष्यका लागि केही काम गरेर जाने,केही कृति छाडेर जाने बिचारमा छु।संस्मरण लेख्ने, अपूरा–अधूरा कृति पूरा गर्ने,नयाँ नयाँ उपन्यास लेख्ने योजना बनाएको छु।अब कति नै बाँचिएला र ७३ वषैको भइहालियो भन्ने स्रष्टा विजय मल्लले ७४ वर्ष पूरा भएपछि आफ्नो शरीर हामी माझ २०५६ साउनमा छाडेर गएका छन्।२०५७ मङ्सिरमा छाडेर जाने फेरि यही माटोमा जन्मन चाहने स्रष्टा गीतकार छिन्नलता आफ्ना गीतहरुमा यसरी बाँचिरहनु हुन्छ–
वारि र पारि आँसुको भेल म आफैँ बीचमा
लहरी उर्ली जीवन सारा भिजेछ शीतमा।
२०६३ साउनमा हामी माझ यस धरतीबाट छाडेर जाने साहित्यकार घटराज भट्टराई लिनभन्दा दिनमै रमाउने साहित्यकार हुन्।जीवनभर भाषा साहित्यको सेवामा, परिवारको पालनपोषणमा अनि छोराछोरीलाई उच्च शिक्षा दिन मिहिनेत परिश्रम गर्ने,आर्थिक सम्पन्नतामा भन्दा नेपाली भाषा साहित्यलाई सम्पन्न गराउन उहाँले सक्दो योगदान दिनुभयो भनिएको छ । सुत्केरी हुंदा खाने औषधि बिल पेश गरेर भुक्तानी लिने,५० हजारको औषधिको नक्कली बिल पेश गरेर भुक्तानी लिने, सुविधा पाएर मोटर झिकाउने तर ट्याक्सी खर्च भनेर १० हजार रुपैयाँ लिनेजस्ता काम कमसेकम यो राष्ट्रमा साहित्यकारहरुले गर्न सक्तैनन् शंकर कोइरालाले पनि गर्नु भएन।शंकर कोइराला र उहाँजस्ता साहित्यकार गम्भीर बिरामी हुँदासम्म उपचार सुविधा पाउनु हुन्न त्यसैले उहाँहरु पाएको उमेर पनि पूरा नगर्दै बित्नुहुन्छ ।यथार्थ कुरो शंकर कोइरालाको उपचारका लागि राष्ट्रले सोचिदिएको मात्रै भए २०५४ साउन २६ गतेका दिन ६७ वर्षको उमेरमा उहाँको निधन हुने थिएन। दुईचार वर्ष बढी बाँच्न पाउनुहुन्थ्यो यस सङ्ग्रहमा भनिएको छ।व्यङ्ग्यकार केशवराज पिडालीको लेखनको विषय खास गरेर हास्यव्यङ्ग्य भएकोले अधिकांश पाठकले रुचाएको अनुभव उनले गरेका छन्।आधा शताब्दीसम्मको साहित्यिक श्रम र साधना गर्दा पनि केशवराज पिडालीले कुनै प्रज्ञा पुरस्कार र अन्य पुरस्कार नपाउनुको मूल कारण आफ्नो हास्यव्यङ्ग्य विधालाई नै ठान्ने गरेका छन् पत्रकार जयदेव लेख्दछन्।२०५५ जेठमा पुतलीसडक स्थित आफ्नो निवासमा केशवराज पिडालीले आफ्नो प्राण त्यागेका छन्।
यस पुस्तकको मूल्य रु.७५।–राखिएको छ।पृष्ठ संख्या ११९ को छ।यस पुस्तकको प्रकाशक विवेक सिर्जनशील प्रकाशन प्रा.लि.हो।
– अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग,९३५÷५४,काठमाडौं
(नेपाल)
प्रतिक्रिया