उन्नती बोहरा “शीला” नेपाली साहित्यको कविता,गीत र उपन्यास विधामा एक उदीयमान नारी हस्ताक्षरका रुपमा सुपरिचित नाम हो।उनको शीलाका स्पर्शहरु नामक आधुनिक गीति सङ्ग्रह २०६९ सालमा उन्नाइसौ कृतिको रुपमा प्रकाशित भएको छ।शीलाका हरेक गीत चाहे राष्ट्रिय गीत हुन् वा आधुनिक वा चलचित्र सबैमा केही न केही मूल सन्देश त भेटिन्छ नै।त्यसमाथि पनि कर्णप्रिय बन्न शब्द र शैलीले गीतलाई उच्चताको चरमबिन्दुमा पुर्याइदिएका छन्।उन्नती बोहरा “शीला” का यस सङ्ग्रहका गीतहरुमा नेपालका ख्यातिप्राप्त गायक–गायिकाले आफ्नो सुरिलो स्वर दिएर र गीतको मर्म अनुरुपको सङ्गीत दिएर वरिष्ठ संगीतकारहरुले सुनमा सुगन्ध थपेका छन्।शीलाले देशको इतिहास हेरेर वर्तमान बिचारेर भविष्यप्रति चिन्ता गर्न सबैलाई आहवान गरेकी छन्।देशको बागडोर सम्हालेर बसेका देशका अभिभावक योग्य नहुंदा देशवासी अन्योलमा परेका छन्।त्यही कारणले देशका युवा विदेशिन बाध्य भएका हुन् भन्ने ठम्याई शीलाको रहेको छ।यसभन्दा अगाडि उनका १८ वटा कृतिहरु प्रकाशित भैसकेका छन्।त्यसैगरी उनका तृष्णा (उपन्यास) र बिरुवा (बालकविता सङ्ग्रह) प्रकाशोन्मुख कृतिहरु हुन्।झन्डै दुई दर्जन साहित्यिक तथा सामाजिक सङ्घ–संस्थासँग संलग्न समाजसेवी उन्नती बोहरा शिलाले उत्कृष्ट गीतलेखन,साहित्यलेखन,समाजसेवा आदिका कारण साढे चारदर्जन जति पुरस्कार, सम्मान तथा कदरपत्र प्राप्त गरिसकेकी छन्।गीतमा जीवन्त शब्दहरुको प्रयोग गरेर सबैको मन छुन सफल उन्नती बोहरा “शीला” सरल भाषाको प्रयोगले गहन भाव पोख्छिन् भने थोरै शब्दबाट धेरै सन्देश दिन्छिन्।गीत लेखनमा आफ्नो छुट्ठै मौलिकपन भएकी शीलाले नेपाली मन र माटो सुहाउँदा गीतहरु रचेकी छन्।
उनका गीतहरुमा देशप्रेम,मानवीय सन्देश,राष्ट्रियता,जातियता,दर्शन्, आध्यात्मिकता, प्रकृतिप्रेम, सामाजिक सद्भाव जताततै छताछुल्ल पाइन्छ।साहित्यिक व्यङ्ग्यचेत भएकी शीलाले सामाजिक, राजनीतिक तथा मानवीय विकृति विसङ्गतिका बिरुद्धमा समेत आफ्ना गीतहरुलाई राम्ररी उभ्याएकी नै छन् ।
धरतीको चिसो काख छ, सुष्टिको खुल्ला आकाश छ सडक बालक हौं हामी सडकमै हाम्रो बास छ यस्तै नै छ हाम्रो पीडा धरतीको शीलाको गीतले भनेको छ । सम्हाल सम्हाल शीर्षकको गीतले यो लडाइँमा हुन्न कसैको जीत यो लडाइँमा छैन कसैको हित गाऔं सबै मिली राष्ट्रियताको गीत रोपौं यहाँ कहिल्यै नटुक्रिने प्रित भनको छ।
देशप्रेम गीत र सन्देशमूलक गीत २३ वटा,आधुनिक गीतहरु ४५ वटा, चलचित्रका गीतहरु १५ वटा गरी चौरासीवटा गीतहरु यस सङ्ग्रहभित्र सङ्गृहीत छन् । शीलाको यस सङ्ग्रहमा प्रेम तथा अन्य विषयवस्तुको प्रयोग पनि पाइन्छ । उनका प्रेमभावका गीतमा मिलनका रमाइला क्षणहरुको चित्रण पनि छ र बिछोडको कारण छचल्केको आँसको नदी पनि छ।आफ्नो मुटुमा अरुको ढुकढुकी सुन्ने शीलाका गीतकार आफ्नै वशमा देखिदैन भने नजरको नशा पिएर ऊ लठ्ठिएको पनि छ।अनि मायालुको साथ पाएपछि उसको जुनी तृप्त पनि भएको छ।
देशभक्त शीलाले आफ्नो देशको परिचय, राष्ट्रिय झन्डाको परिचय, जातीयताको परिचय, वीरताको परिचय सन्देशमुलक गीतहरुमा दिएकी छन् । देशको परिचय दिने क्रममा शीलाले भनेकी छन्–
जहाँ सुनका बाला झुल्छन्
जहाँ इन्द्रधनु झर्छन्।
डाँफेमुनाल रम्दै
पहराले प्रित लाउँछन्।
देश द्वन्दमा फसेको छ।देशलाई द्वन्द्वको खाडलबाट उकास्ने कार्यमा सबै नेपालीले लाग्नुपर्दछ भन्ने उनको ठम्याइ छ।युवाशक्ति भनेको अजेय शक्ति हो तर उनीहरुमा भएको लहडीपनले उनीहरु आफूमा भएको शक्तिको पहिचान गरिरहेका हुँदैनन्। रामायणमा जाम्बवानले हनुमानलाई उनको शक्ति चिनाइदिएझैं यस गीतिसङ्ग्रह मार्फत् शीलाले युवाहरुलाई हे युवा युवा शीर्षकको गीतमा यसरी उनीहरुको शक्ति
चिनाइदिएकी छन्–
बढ बढ अब अघि बढ
युवा युवा हे पौरखी युवा
ढुकढुकी नै देशको तिमी हौ युवा
राष्ट्र बोक्ने काँध तिमीमा छ युवा।
शीलाले गीत मार्फत् प्रेम व्यक्त गर्न प्राकृतिक वस्तुहरु प्रतीकका रुपमा प्रयोग गरेकी छन्।जसमा आकाश,धरती,क्षीतिज,शिशिरको घाम, धमिलो साँझ,मन्द बहने पवन,साउने झरी,मधुमास,बसन्त ऋतु,गाउँवेसी, कुहिरो आदि रहेका छन्।यसरी प्रकृति र प्रेमलाई एकै ठाउँमा उभ्याउन सक्नु शीलाको आधुनिक गीतिलेखनको विशेषता मान्नुपर्छ।कतिपय गीतहरुमा प्रकृतिलाई मानवीकरण गरिएको छ जुन शीलाको उत्कृष्ट खुबी हो।यस्तै खुबी युक्त हो–
समालीदेऊ मायाको सागर
तिमीलाई भनेर साँचेर राखेको
समाइदेऊ यी हात मेरा
तिम्रै सङ्घिरहेका।
सोधिहिँडे ती सावने झरीहरुलाई।
यो देशको माया शीर्षकको गीतले जहाँ जन्मे पनि नेपाली जाती तिनै हुन सन्तान तिमीलाई दुख्दा एकजुट हुन्छन् दिनलाई ज्यूज्यान भनेको छ।
यसैगरी उनका गीतले गीतकै परिभाषा पनि दिएको छ मायाको स्वाद बोकेको छ, प्रेमको मर्म गाएको छ,बिछोडको बेदना कहेको छ,प्रेमको मिलनमा कता हो कता उत्ताउलिएको पनि छैन।संयमता अपनाइएको छ।अनुशासनमा बसेको छ। उनका गीतहरुले गीतहरुमा मनोरञ्जनात्मक कुराका साथसाथै संयोग तथा वियोग श्रृङ्गारको प्रयोग गरेर होला कसै न कसैको जीवनसँग मेल खाएकै छन्।यसबाट गीत सुन्ने स्रोता हुन् वा पढ्ने पाठक दुबै भावुक बन्न सक्छन्।भाव,शैली,बिचार,प्रवाह र लयात्मकताका हिसाबले सबै गीतहरु पाठकहरुले उत्कृष्ट मान्ने छन्।गीतको भाषामा आफ्नै प्रकारको अभिव्यक्ति सामथ्र्य हुन्छ।
देशको माया त देश बनाउँछु भनेर जनताको तिरो खानेले भन्दा कलमजीवीले पो गरेका छन् जस्तो लाग्छ।आफ्नो मुलुकप्रति भएको चिन्ता र चासो लेख्नु लेखकीय धर्म पनि हो।कलम बोक्नेले देश बिगारेको इतिहास कतै भेटिदैन र भेटिने पनि छैन।देश लेख्ने गीतकार हुन् उन्नती बोहरा “शीला”।गीतकार शीलाका सिर्जनशील मनभित्र उद्वेलित र अन्तध्र्वनित विषयवस्तुको समग्र सार हुन् यस सङ्ग्रहभित्रका गीतहरु।जहाँ जीवनका अँध्यारा उज्याला बिम्ब सरल र सवल रुपमा प्रतिबिम्बित छन्।उनका गीतहरुले प्रेमप्रणयका गुनासाहरु पनि सामयिक यथार्थलाई नै आधार बनाएर उभिएका छन्।राजनैतिक अस्थिरता र अनिर्णयको सिकार बनेको छ देश ।देश देखेजस्तै छैन,नदेखेको जस्तो पनि छैन।सकारात्मक दिशातिर देश हिँडोस् भन्ने चाहना हामी सबैको छ।हरेक नागरिकलाई देशको पीर हुन्छ नै र शीलाको पीरपनि देशतिर निकै गम्भीर रुपमा दुखेको छ।गीतकार शीलाको अन्तर मनमा असीम रुपमा देशभक्ति एकनासले छचल्किरहेका छन् भन्ने कुरा उनका प्रत्येक गीतले नै बताउँछ।
यो सङ्ग्रह गीति क्षेत्रको अध्ययन गर्न चाहने गीतका पारखी लेखन कला सिक्ने हरेक व्यक्तिका लागि पठनीय र सङ्ग्रहणीय छ।अन्तर्राष्ट्रिय साहित्य समाजले प्रकाशित गरेको १५३ पृष्ठको यस आधुनिक गीतिसङ्ग्रहको मूल्य रु.२००।– राखिएको छ।शीलाका गीत ज्यादै मार्मिक र पढ्नयोग्य नै छन्।आगामी दिनमा उनका अन्य पुस्तकहरु प्रकाशित भएर पढ्न पाउने आशा राख्दछु।
सामाखुसी मार्ग,वडा नं.२९,काठमाडौं (नेपाल)
मोबाइल नं.९८४१७९७६६४
प्रतिक्रिया