पुस्तक समीक्षा

डा.खगराज बराल २०७८ कार्तिक १९ गते ११:३१ मा प्रकाशित

पुस्तक पढ्न कति मानिसलाई अल्छी लाग्ने गर्छ।कतिपय स्वघोषित विद्वान्हरू पुस्तक त देखावटी रूपमा सङ्कलन गर्छन् तर पुस्तकको पहिलो पाना पनि पल्टाएका हुँदैनन्।कतिपय मित्रहरू पुस्तक उपहारका रूपमा ग्रहण गर्छन् तर पुस्तक पढेको सुईको पनि उपहारकर्तालाई दिँदैनन्।हिजो आज पुस्तक विमोचनमा उपस्थित महानुभावका लागि पुस्तक सितैमा दिइँदैन।विमोचन कक्षको बाहिर एउटा टेबुलमा आजका लागि पुस्तकको मूल्य भनी छुटमा पुस्तक बिक्री गरिन्छ।विमोचन कार्यक्रममा आउने महानुभावहरूले लाजकाज पुस्तक त किन्नुहुन्थ्यो तर त्यो पुस्तक कि त आयोजना स्थलमै छोड्नुहुन्थ्यो वा कि त घरको कुनै कुनामा थन्काएर कवाडीमा दिनुहुन्थ्यो।एकपटक एउटा होटलबाट मेरो कार्यालयमा फोन आएको थियो।फोनको सन्देश थियो,“तपाईँको कार्यालयको नाम भएका पुस्तकहरू हाम्रो होटलमा छन्।”त्यो होटलमा पुस्तक कसरी पुगे भनी म अनुसन्धानमा लागेँ।खास कुरा त वार्षिक समीक्षामा आउनुभएका जिल्ला तथा क्षेत्रका हाकिम साहेबहरू बसेको होटल रहेछ।केन्द्रबाट प्रकाशित स्मारिका,शैक्षिक सूचना,जर्नलहरू लगेर होटलमा जानुभएछ,फर्किने समयमा त्यही फालिदिनुभएछ। पुस्तकको भित्र प्रकाशक र सम्पर्क फोन नम्बर देखेपछि होटलवालाले फोन गरेका रहेछन्।अधिकांश शिक्षित भनिने व्यक्तिहरू स्कुल कलेजमा पाठ्यक्रम बमोजिमका पुस्तक पढेपछि अर्को पुस्तक पल्टाएका पनि हुँदैनन्।मैले कैयौं मित्रहरूलाई सोधेको छु,“अहिले तपाईँ कुन पुस्तक पढ्दै हुनुहुन्छ ? ” यसको जवाफमा खास ठोस उत्तरै आउँदैन।यसको मतलब हो उहाँहरू कुनै पुस्तक पढिरहनु भएकै छैन।मैले केही महानुभावलाई सोध्ने गरेको पनि थिएँ,“तपाईका घरमा भएका मुख्य मुख्य पुस्तक के होलान् ?” यसको उत्तर हुन्थ्यो,“छोराछोरीका स्कुलका किताब नै हुन्,ती पनि छोराछोरी माथिल्लो कक्षामा गएपछि कवाडीलाई दिइसकियो।”

मेरो घरमा एउटा पुरानो पुस्तक थियो,गाउँघरमा ब्रतबन्ध हुँदा गाउँलेहरू लिन आउँथे।पुस्तकलाई कपडाले बाँधिएको हुन्थ्यो।पुस्तकका छुट्टा छट्टै पाना थिए, आवरण थिए दुईओटा काठका पाना।पछि थाहा पाएँ,हजुरबा स्वर्गद्वारीको गुरुकुलमा पढ्नुभएको रे,उहाँले नै ल्याएको शुक्ल यजुर्वेद रहेछ त्यो।गाउँलेहरूले भन्ने गरेको “पस्तक” यही नै शुक्ल यजुर्वेद रहेछ।ब्रतबन्धमा वेद पाठ गर्नुपर्ने भएर लगेका रहेछन्।ब्रतबन्ध सकिएपछि पैसा चढाएर पुस्तक फिर्ता गरिदिन्थे।

भारतीय उपमहाद्वीपका बासिन्दाका पुर्खाहरू ऋषिमुनि थिए,तपस्वी थिए,योगी थिए, विद्वान् थिए।ऋषिमुनिले तप,ध्यान र योगबाट ज्ञानको सिर्जना गरे।यस्ता ज्ञानलाई सुरुमा श्रुति र पछि लेख्य रूपमा पुस्तान्तरण गरियो।यस्ताका सन्तति पढ्नलाई अल्छी गर्ने नै हुँदैनन् भन्ने मान्यता थियो ।वैदिक सनातन धर्ममा आस्था गर्नेले त झनै सोच्नुपर्छ कि हाम्रा पुर्खा कस्ता थिए र हामी कस्ता छौं।पुर्खाहरूले ज्ञानको निर्माण र वितरण पठनका माध्यमबाट नै गरे।पठनपश्चात लेखनको प्रारम्भ भयो।चाख लाग्दो कुरा के छ भने जसले लेख्ने भूमिका पाए, ती लेखक ठहरिए।जसले पढ्ने भूमिका पाए,ती पाठक ठहरिए।लेखक, पाठक जस्ता थर यसरी नै सिर्जना भएको हुनुपर्छ।यस्तै, वेद पठनका आधारमा थर सिर्जना भएः दुई वेद पढ्ने द्विवेदी भए, तीन वेद पढ्ने त्रिवेदी भए, चार वेद पढ्ने चर्तुर्वेदी भए,चारै वेद बडो सुन्दर तरिकाले पढ्ने सुवेदी भए।यसरी थरको पनि निर्माण भएको हुनुपर्छ।तर अहिले न द्विवेदी,न त्रिवेदी,न त चर्तुवेदी,न त सुवेदीले नै वेदको अध्ययन गरेका छन्।पाठक निरक्षर हुनसक्छ,सग्ला अक्षर पढ्न पनि नसक्ने हुन सक्छ।लेखकले सावा अक्षर लेख्न नसक्ने पनि हुनसक्छ।पठन संस्कृतिका लागि हाम्रा पुर्खाले निश्चित कर्मपछि गुरुकुल धाए, शास्त्र पढ्न काशी पुगे।‘पढ्नु पर्छ’ भन्ने सोच समुदायमा रहिरह्यो।पढेका मान्छेले आफ्नो विद्वताको उपयोग गरी समुदायलाई गुन लगाए।पढ्ने मान्छेले बढी जानेको हुन्छ भन्ने आम सोचाइको विकास भयो।

जुन जुन देशले पठन संस्कृतिलाई जीवन पद्धतिमा अपनाए,ती देश समृद्धिका दौडमा अगाडि छन्।अन्तर्राष्टिय रूपमा हेर्दा पनि डेनमार्क,नर्वे,फिनल्याण्ड, स्वीडेन,न्युजिल्याण्ड,सिङ्गापुर,जापान,दक्षिण कोरिया जस्ता मुलुकहरू अन्तर्राष्टिय पढाइ र सिकाइका मापदण्डमा निकै अगाडि छन्।संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य,अस्टेलिया,क्यानडा जस्ता मुलुक पढाइ संस्कृतिका कारण विकासका दृष्टिबाट उत्कृष्टमा रहेका छन्।सन् १९९७ देखि २००७ सम्म संयुक्त राज्यका प्रधानमन्त्री पदमा रहेका टोनी ब्लेयरले शिक्षालाई पहिलो,दोस्रो र तेस्रो प्राथमिकतामा राखी पठन संस्कृतिलाई जोड दिए।जुन देशले पढाइ (पठन) संस्कृतिलाई बढावा दिएको छ,ती देशका विद्यार्थीको सिकाइ उपलब्धि सबैभन्दा उच्च रहेको छ।पढाइमा तेज व्यक्तिहरूले नै पहिलो उसको जीवनलाई र दोस्रो देशलाई सफल र समुन्नत बनाउन सक्छ।पढाइले नै आफ्नो जीवनमा धारण गर्ने ज्ञान,विज्ञान र विवेकको सफल गर्न सक्ने नागरिक तयार गर्न सहयोग गर्छ। विद्यार्थीको अन्तर्राष्ट्रिय परीक्षण कार्यक्रम–पिसा (Programme for International Student Assessment-PISA) को सन् २०१८ को विषयगत नतिजामा गणित (Mathematics), विज्ञान (Science) र पढाइ (Reading) तीनै विषयमा चीन,सिङ्गापुर र मकाउ (चीन) क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । चीन शासित हङ्कङले गणित र पढाइमा चौथो स्थान र ताइवान (चीन) ले गणितमा पाँचौ स्थान ओगटेका थिए।चीनले औसत अङ्क १७३६ ल्याएर पहिलो,सिङ्गापुरले औसत अङ्क १६६९ ल्याएर दोस्रो, इस्टोनियाले १५७६ औसत अङ्क ल्याएर तेस्रो स्थान ओगटेका थिए । जापान चौथो, कोरिया पाँचौ, संयुक्त अधिराज्य दशौं र संयुक्त राज्य अमेरिका बाईसौं स्थानमा रहेका थिए।विश्वमा विकसित देशको मुख्य आधारस्तम्भ नै शिक्षा हो।आज शिक्षामा अग्रस्तथामा भएका देशहरू नै विकासका चुचुरामा छन्।फिनल्यान्ड,स्वीडेन,डेनमार्क,अमेरिका, बेलायत,उदाउँदो चीन र भारत सबैको पृष्ठभूमिमा शिक्षाकै भूमिका रहेकामा कुनै दुविधा छैन। शिक्षाको मूल नै पठन संस्कृति हो।

पढाइ नै ज्ञानको स्रोत हो।पढाइले नै ज्ञानको क्षितिज फराकिलो पारिदिन्छ।यसैले विचारलाई परिष्कृत पार्छ,कल्पना शक्तिको क्षमता विस्तार गर्छ,व्यक्तिको आन्तरिक क्षमतालाई तिखारिदिन्छ।हरेक परिवारले आफ्ना बालबालिकालाई ज्ञानको भोग जगाउनका लागि सानैदेखि पुस्तक पढ्ने बानी बसाली दिनुपर्छ।

माथि पाँच अनुच्छेदमा यति धेरै पृष्ठभूमि तयार गर्नुको मेरो उद्देश्य हरिप्रसाद बरालको ‘पुस्तकहरूका माझैमाझ’ पुस्तकको चर्चा गर्नका लागि विषय प्रवेश गर्नु हो ।यति चर्चा नगरिकन पुस्तक समीक्षा गर्दा लेखकलाई अन्याय हुनेछ भन्ने मेरो मान्यता हो।विद्वान् थोरोले भनेका थिए,“पुरानो कोट लगाऊ,नयाँ पुस्तक किन ।” थोरोका सच्चा अनुयायी हुन् धनकुटामा जन्मेर विराटनगरमा कर्मथलो बनाएका हरिप्रसाद बराल।

वि.सं. २०७८ सालमा विराटनगरबाट दुर्गादेवी खतिवडा (बराल) प्रकाशक भएको नयाँ पुस्तक प्रकाशित भयो ‘पुस्तकहरूका माझैमाझ’।पुस्तकको शीर्षक नै अन्य पुस्तकभन्दा भिन्न मात्र देखिएन,यसको विधा पनि “पुस्तक इतिवृत्तान्त” पनि रहेको छ।पुस्तकको मुख्य अंश असी पृष्ठमा समेटिएको छ भने लेखकीय भनाइ र प्रकाशकीय भनी थप छ पृष्ठ खर्चिएको छ।पुस्तक सानो, चिटिक्कको छ।यस पुस्तकको विशेषता नै पुस्तकका शीर्षक र यसभित्र एउटै मात्र विषय अर्थात पाठ छ ‘पुस्तकहरूका माझैमाझ’ । पुस्तकको शीर्षक र यसभित्रको विषय एउटा मात्रै छ । यही पुस्तक ‘पुस्तकहरूका माझैमाझ’ का लेखक हुन् हरिप्रसाद बराल।

‘पुस्तकहरूका माझैमाझ’ पुस्तकलाई मैले आत्मपरक प्रबन्ध भनेको छु।प्रबन्ध वस्तुपरक हुने भनिए तापनि यो प्रबन्ध आत्मपरक छ।यो पुस्तक निजात्मक हुँदाहुँदै पनि यसभित्र वर्णन गरिएका विषयवस्तु वस्तुपरक छन्।लेखकले पुस्तकभित्र आफूले भोगेका,अनुभव गरेका,देखेका, सिकेका कुराहरू सत्यतथ्य रूपमा व्यक्त गरेका छन्।यसैले,यस पुस्तकलाई आत्मपरक प्रबन्ध भन्दा अन्यथा हुँदैन।लेखकले यस पुस्तकलाई “पुस्तक इतिवृत्तान्त” भनेका छन्।एउटै शीर्षकको यति लामो लेखलाई प्रबन्ध नै भन्नु उपयुक्त हुन्छ।त्यसो त शोध ग्रन्थलाई शोध प्रबन्ध नै भनिन्छ।शोध ग्रन्थ पनि वस्तुपरक र कतिपय आत्मपरक शोध पनि हुने गरेका छन्।यो पुस्तक पनि एक किसिमको आत्मपरक अनुभूतिजन्य शोध जस्तै नै छ।शोधका अङ्ग पुर्याएर राखिदिने हो भने यो सुन्दर शोध ग्रन्थ नै हुने थियो।अन्य विद्वानहरूले भिन्न मत जाहेर गर्न पनि सक्नुहुन्छ।आआफ्ना दृष्टिकोण हो।लेखकले लेखकीय भनाइमा पनि लेखेका छन्,“यो उचाइमा पुग्ने हैसियत नभए पनि जीवनका भोगाइहरू ओझेलमा पर्नुहुँदैन भन्ने कुराले मलाई यो बाटोमा हिँड्न प्रेरित गर्यो ।” लेखकले यस ‘पुस्तक इतिवृत्तान्त’ को लेखकीय भनाइमा मैन्तेनको भनाइलाई उल्लेख गरेका छन्, “म नै मेरा निबन्धको विषयवस्तु हो । मैले आफूलाई जति बुझेँ, त्यति अरूलाई बुझेको छैन (पृ.क)।”

लेखकले आफू कसरी पुस्तक प्रेमी भएँ भन्ने कुराको यस पुस्तकमा इतिवृत्तान्त नै पाइन्छ।पठन संस्कृति विकास गर्न लेखकले भोगेका अनुभवलाई पर्याप्त स्थान यस पुस्तकमा दिइएको छ।आफ्नो पठन संस्कृति विकास गर्दाको अनुभवलाई “यस पुस्तकलाई अनुभव बाँड्ने प्रयास हो” भनी लेखकले स्वीकारेका छन्।

लेखकले नयाँ पुस्तक घरमा आउँदाको उमङ्गलाई बेन्जामिन फ्याक्लिनको भनाइलाई यसरी दोहोर्याएका छन्,“एउटा पुस्तक किनेर ल्याउँदा घरमा चाड आएझैँ लाग्थ्यो।त्यहाँ के छ भनेर सबैको उत्सुकता जाग्थ्या (पृ.ग)”।लेखकले आफू पुस्तकको सङ्ग्रह गर्ने घरमा जन्मेको कुरा उल्लेख गर्दै आफ्नो हजुरबाहरू सय वर्षअघि पुस्तक अंशबन्डा लगाउएको विषय उठान गरेका छन्।

लेखकले आफ्नो पठन संस्कृतिको पुर्खौली विरासतमा वृद्धप्रपितामहको प्रसङ्ग उल्लेख गरेका छन्।एक सय वर्ष पहिला पुस्तक अंशबण्डा हुने परिवार थियो भन्दै लेखकले त्यो समयमा दाजुभाइको छुट्टीभिन्न हुँदा पुस्तक पनि अंश लाग्ने गरेको इतिहास प्रसङ्ग मिलाएर उल्लेख गरेका छन्।लेखकले आफ्नो शिक्षामा पिताजी र माताजीको योगदानलाई ठाउँ ठाउँमा उल्लेख गरेका छन्।आफुले बाह्र वर्षको उमेरमा शिक्षाको आरम्भ गरेको र चाँडै बोली नआएका कारण प्रताडना खेप्नुपरेको प्रसङ्ग पनि उठाएका छन्।लेखक आफूले प्रारम्भमै सुब्बा केदारनाथ होमनाथको ‘महाभारत’,पुण्यवती वस्तीको ‘प्रदक्षिणा’,शिवराज बरालको ‘आचार मञ्जरी’, जगन्नाथ गुरागाईँको ‘गुणरत्नमाला’ र ‘भागवत’,शिखरनाथ सुवेदीको ‘शिखरनाम भाष्य’,अग्निप्रसाद बरालको ‘नेपाली भजनमाला’, स्वप्ना दत्ताको ‘रवीन्द्रनाथ टैगोरको जीवनी’ जस्ता पुस्तक पढ्न पाएको कुरा उल्लेख गरेका छन्।

“पुस्तकहरूको माझैमाझ” पढ्दा कुनै दार्शनिकका विचार पढिरहेको अनुभूति हुन्छ।तपस्या वा योगमा तल्लिन योगीका वाणी जस्तै भएर आउँछन् पुस्तकमा विचारहरू।यहाँ केही उल्लेख गर्न उपयुक्त लागेको केही विचारहरू हुन्ः मान्छेको संवेदनशीलतामाथि प्रहार गर्नु,उसलाई हत्या गर्नु बराबर हुँदो रहेछ (पृ.५) । लेखक साहित्यकारले कम्तीमा जहाँ गए पनि,जे गरे पनि स्वाभिमानको गजुर फुकाल्नुहुँदैन (पृ.५)।अँध्यारो भयो भनेर डराउनुको अर्थ छैन किनकि अँध्यारो भएको त उज्यालो ल्याउनलाई हो (पृ.९)।रूखको टुप्पामा पुगेपछि,अग्लो घरको छलमा बसेपछि,आर्थिक संमृद्धिको सगरमाथा चढेपछि अरूलाई लिलिपुट देख्नु कुनै नौलो कुरा होइन (पृ.११) । जुन क्षेत्रमा जति धेरै डुबिन्छ त्यसमा त्यति नै बढी विकृति पनि देखिदो रहेछ (पृ.११)।एउटा विद्वान् खोज्न विश्वविद्यालय होइन, उनीहरूको कर्मभूमि र साधनाभूमिमा जानुपर्दो रहेछ (पृ१२)।एउटा किताब किन्नलाई मान्छे दाँतबाट पसिना निकाल्छ, किताब किन्न जति ठूलो मूर्खता अर्को हुँदैन भन्ने उसको सोच देखिन्छ (पृ.२१) । चिन्तनमा तल ओर्लेकाहरू,आफूलाई सङ्कीर्णतामा झार्नेहरू,अध्ययनलाई अहङ्कारमा अनुवाद गर्नेहरू वास्तवमा सरस्वतीका आशीर्वादको भागीदार बन्न सक्दैनन् (पृ.२९)।आत्मवृत्तान्त लेख्नु भनेको कदापि आत्मप्रशंसा गर्नु होइन (पृ.२९)।अर्काको लुगा लगाउनु र बाबुबाजेले पढेको पुस्तक पढ्नु एकै ठान्ने युग आयो (पृ.२९)।बुद्धि घुमाउने बलियो आधार पनि त ग्रन्थ पठन नै हो (पृ.३५) । पुस्तक पठनमा तीव्रता भयो भने लेखन शक्तिशाली हुने हो (पृ.४१)।पुस्तक धमिरोमय भएको देख्न र स्वजनको लाश अगाडि पल्टनु उस्तै कुरा हुन् (पृ.४०)।पढ्नु जुन कला हो,पढ्नका लागि कसैलाई पुस्तक पढ्नलाई सिफारिस गर्नु पनि त्यतिकै ठूलो कला हो (पृ.५४)।कुनै पनि मान्छेलाई दश वर्षको उमेरमा गरेको गल्तीलाई सत्तरी वर्षको उमेरमा डण्डा बनाएर हिर्काउनु ठीक हो ? (पृ.५६)।प्रायः आत्मकथामा यस्ता धेरै कुरा आउँछन्,जुन पत्याउनै गाह्रो पर्छ तर पनि तर्कले मात्र नभएर भावनाले पढेपछि मन हलुका हुन्छ (पृ.५८)।साहित्य भन्नु नै सत्यम् शिवम् सुन्दरम् परिधिभित्र रहेर लेखिएको रचना हो (पृ.५९)।किताब कहिल्यै पनि अरूलाई मूर्ख बनाउन,बुद्धू पार्न पढिँदैन (पृ.६३)।संसारमा जति पनि जीवनी वा आत्मकथा लेखिएका छने ती सबैबाट पाउने शिक्षा भनेको प्रतिकूल परिस्थितिबाट हिम्मत नहारी सफलता प्राप्त गर्नु हो।जीवन सङ्घर्षको यात्रा हो,सङ्घर्ष गर्नबाट कदापि डराउनुहुँदैन (पृ.६६)।धेरै रचनाहरूलाई हामीले भावप्राप्तिमा लागि नभएर शिल्पप्राप्तिका लागि पढ्नुपर्दो रहेछ।पठनको अन्तिम उद्देश्य भन्नु नै आत्मशान्तिका साथ सबैसँग मित्रता बढाउँदै लानु हो । सबैको माझमा आफूलाई स्वाभिमानले सिंगारेर राख्नु हो।जीवनमा आइपर्ने समस्याहरूका विरुद्ध विजय प्राप्त गर्ने क्षमताको विकास गर्नु हो । आफूले बुझेको कुरा बाँडेर रमाउनु हो,हाँसेर जीवनका पानालाई सुन्दर पार्नु हो (पृ.७७)।

लेखकले भन्छन् पुस्तक कतिले भावनाले पढ्छन्,कतिले तर्कले पढ्छन् र कतिले बुद्धिले पढ्छन्।पुस्तक पढ्न दिएर उत्प्रेरित गर्नेलाई धन्यवाद दिँदै लेखकले भन्छन्, “मेरो लागि ऊ महान् भएर देखियो,ऊ मेरो स्वर्गको आगो चोरेर पृथ्वीमा ल्याउने प्रमिथस थियो,अरूले लामो समयसम्म दिन नसकेको ज्ञान उसले मलाई एकैक्षणमा दियो (पृ.७९)।”

पुस्तकभित्र विश्वका चर्चित लेखकहरूका पुस्तकको उल्लेख छ।लेखक स्वयम्ले नै आफ्नो घरलाई पुस्तकालय बनाएको र आर्थिक अवस्थाले साथ दिँदासम्म देखेको,मन परेको पुस्तक किनेर अध्ययन गर्ने र सङ्ग्रह गर्ने बानीको विकास भएको कुरालाई पुस्तकका लेखकको नाम उल्लेख गरेका छन्ः भिक्टर आफानास्सेभ,लेनिन,माओ,कार्लमार्क्स ,राहुल सांकृत्यायन,मार्क्स एङ्गेल्स,से.तोकारेप,सव्यसाची,से.रकितोव,लियोटाल्टाय,नेहरू,जुलियट फ्युचिक,मोदनाथ प्रश्रित,भवानी घिमिरे,बालकृष्ण पोखरेल,भानुभक्त पोखरेल,स्टेफिन हकिङ,नोरमेन भिसेन्ट पील,खप्तड स्वामी,नोरमैन भिसिन्ट,जर्ज बर्नाड शा,ओशो रजनिश, तारानाथ शर्मा,कृष्ण धराबासी।एनी बेसेन्ट, महात्म गान्धी, शङ्कराचार्य, बालगङ्गाधर तिलक, हनुमानदास पोद्दार, भक्तिवेदान्त प्रभुपाद, योगानन्द,डा.विजय अग्रवाल,लक्ष्मीप्रसाद देवकोटा,माधवप्रसाद घिमिरे,रामदेव पाण्डे,डा.राइनर जिलेटमन,भानुभक्त आचार्य,मोतीराम भट्ट आदि।

लेखकले धेरै पुस्तक सङ्कलन र पठन गरेपछि स्वआत्माको उर्जा स्वरूप दिनको एउटा कविता (करिब पच्चीस हरफको,एउटा निबन्ध (करिब ३५० शब्दको), एउटा गीत (करिब आठ अनुच्छेदको),आत्मवृत्तान्त (करिब एक पृष्ठ) सिर्जना गरी दैनिक पठनका लागि तीन घण्टा,स्कुलका लागि पाँच घण्टाको समय व्यवस्थापन गरेको कुरा पुस्तकको पठनबाट ज्ञात हुन्छ।अन्य दैनिक काम त छदैछ।पठन संस्कारका कारण नै लेखक (हरिप्रसाद बराल) वर्तमान अवस्थामा लेखक,कवि,समीक्षक,विश्लेषक, पुस्तक सङ्कलक,पठन संस्कृतिको प्रचारक,शिक्षक जस्तो भूमिका सफलतापूर्वक निर्वाह गर्न सफल छन्।

स्वाभिमानीहरू आत्मकथा लेख्दैनन्,लेख्नेहरू स्वाभिमानी हुँदैनन् भन्ने कतिपयको भावनासँग लेखक सहमत देखिँदैनन्।लेखक साहित्यकारले कम्तीमा जहाँ गए पनि,जे गरे पनि स्वाभिमानको गजुर फुकाल्नुहुँदैन (पृ.५) भन्ने मान्यतामा रहने लेखक बराल आत्मवृत्तान्त लेख्नु भनेको कदापि आत्मप्रशंसा गर्नु होइन भन्ने मान्यता राख्छन्।लेखकले ‘आत्मकथामा लेखकले जे भन्छ,पढ्नुको विकल्प हुँदैन (पृ.६)’ भन्दै बजारमा आउने सबै आत्मकथामध्ये कतिपय आत्मकथा पढ्न कठिन भएको स्वीकार्छन्।लेखक आत्मकथा नभनी आत्मवृत्तान्त भन्न रुचाउँछन् र भन्छन्,“आत्मवृत्तान्त लेख्नु आफूले जीवनमा भोगेका कुरालाई सत्यको सूत्रमा ल्याएर अड्याउनु हो,जसलाई हेरेर पछिको पुस्ताले आफ्नो बाटो राम्ररी देख्नसक्छ (पृ.२९)।” यो ‘पुस्तक इतिवृत्तान्त’ लेखक बरालको एक किसिमको आत्मवृत्तान्त हो।आत्मकथाका सम्बन्धमा अरूको विचारलाई उल्लेख गर्दै लेख्छन्, “आत्मकथा अहम्को पुलिन्दा हो।आत्मकथामा जे भने पनि त्यसलाई पुष्टि गर्न प्रमाण दिनुपर्दैन (पृ.७८) ।” तर लेखकले आत्मवृत्तान्त लेख्नुको कारण यसरी व्यक्त गर्छन्, “मेरो अनुभव के छ भने मैले देखेका कुरा भनेँ भने, अनुभव भएका कुरालाई अगाडि सारेँ भने मेरो मन हलुका हुन्छ ।” लेखकले ‘पुस्तकहरूको माझैमाझ’ पुस्तक मन हलुका गर्नका लागि लेखेको स्वीकार्छन्।

लेखकको राजनीतिक आस्था पुस्तक पढ्दै जाँदा ढिक्काढिक्का भएर आएको छ।लेखकको राजनीतिक आस्था पत्ता लगाउने जिम्मेवारी पाठकलाई नै सुम्पिदिएका भए अति उत्तम हुने थियो।सकेसम्म लेखक वा स्रष्टाका राजनीतिक आस्था यस प्रबन्धमा नदेखिएका भए सबै पाठकलाई समानुभूति हुने थियो।पुस्तकका पाठक सबै क्षेत्रका, सबै वर्गका, सबै आस्थाका हुने गर्छन्।हुनतः कुनै पनि आस्था वा पूर्वाग्रह लिएर पुस्तक पठन गर्नु हुँदैन,यदि यस्तो आग्रह लिएर पुस्तक पढ्नमा बस्छ भने सो पाठक असल पाठक नै होइन।

पुस्तकमा प्रयुक्त शब्द र शब्दावलीले विषयवस्तुलाई रसिलो र तिख्खर बनाएको छ । पुस्तकमा प्रयुक्त केही शब्द र शब्दावली हुन्ः बुलिङ, हिर्काएको, ओह्रालेको, कच्याककुचुक, दुवालपाटे, छानो उडाउने, छिलिपित्तिली, पाँडेशैली, फिगर, धकेल्दो, धसारिन, ह्वाङ्गै, धुले अचार, लिलिपुट, हिर्काउने, उछिट्टिएर, लौरोले हिर्काएर, ढाड भाँच्चिने,गोरुमुते चिया,तीर हानेँ,तल खसाल्नु,फसिन,उखेलेर फाल्छन्,लिङ्गेपीङ,थला पारिदिएको,भित्ती खाने,एषणाहरू,गुन्ठिनिएर थला परेको,मर्नेगरी हिर्काउँछ।

नेपाल सरकारका तीनओटा महत्त्वपूर्ण पुस्तकालय छन्ः नेपाल राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय र डा.डिल्लीरमण रेग्मी कल्याणी रेग्मी पुस्तकालय।यी पुस्तकालयहरू व्यक्तिले सङ्कलन गरेका पुस्तकहरू सरकारलाई हस्तान्तरण गरेपश्चात स्थापना भएका हुन्,सरकारले आफैँ पुस्तक सङ्कलन गरी स्थापना गरेको भने होइन।माहिला बडा गुरुज्यू हेमराज पाण्डेले आफ्नो घरमा व्यक्तिगत रूपमा सङ्कलन गरेका पुस्तक नेपाल सरकारलाई हस्तान्तरण गरेपछि सरकारले ‘नेपाल राष्ट्रिय पुस्तकालय’ स्थापना गरेको हो।केशर शम्शेर राणाले व्यक्तिगत रूपमा सङ्कलन गरेका पुस्तक तथा सङ्ग्रहालय र सिङ्गो केशर महल नेपाल सरकारलाई हस्तान्तरण गरेपश्चात नेपाल सरकारले केशर महलमा ‘केशर पुस्तकालय’ स्थापना गरी सञ्चालन गरेको हो।त्यस्तै, डा.डिल्लीरमण रेग्मीले व्यक्तिगत रूपमा सङ्कलन गरेका पुस्तकहरू र लाजिम्पाटस्थित आफ्नो घरमा पुस्तकालय सञ्चालनका लागि नेपाल सरकारलाई हस्तान्तरण गरेपछि सरकारले ‘डा.डिल्लीरमण रेग्मी कल्याणी रेग्मी पुस्तकालय’ स्थापना गरी सञ्चालन गरेको छ । नेपालमा व्यक्तिगत रूपमा पुस्तक सङ्कलन गर्ने परिपाटी पुरानो हो।आफूले सङ्कलन गरेका पुस्तक र घर तथा जग्गा जमिन नै सरकारलाई हस्तान्तरण गरी पुस्तकालय सञ्चालनमार्फत पठन संस्कृतिलाई बढावा दिने हाम्रा पूवर्ज महान् हुनुहुन्छ।

पठन संस्कृतिमा अभ्यस्त व्यक्तिका घरमा प्रशस्त पुस्तक हुन सक्छन्।नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूसँग पुरानो ग्रन्थहरू प्रशस्त हुन सक्छन्। उहाँहरूका जीवनको शेषपछि ती पुस्तकहरूको संरक्षण र उपयोग गर्ने व्यक्तिको अभाव हुन सक्छ।परिवारका सदस्यहरूले पुस्तकको महत्व बुझ्न नसकेमा कवाडीमा जान सक्ने संभावना हुन्छ।लेखक हरिप्रसाद बरालले पनि आफ्नै पहलमा हजारौं पुस्तक सङ्कलन गरेका छन्।विविध विषयका पुस्तकको सङ्कलन गरिएको उनको घर एउटा पुस्तकालय नै हो।यसप्रति स्थानीय तहको ध्यान पुग्नु पर्छ।यसरी सङ्कलित पुस्तकको संरक्षणको जरुरी छ।पुस्तकालय खोल्नु आफैँमा महत्वको कुरा हो,अझ यसको सञ्चालन र पुस्तकको संरक्षण अति महत्वको कुरा हो।

पठन संस्कृतिको प्रवर्द्धनका लागि यो पुस्तक ‘पुस्तकहरूको माझैमाझ’ एक किसिमको उत्प्रेरक सामग्री हो।सानो आकारको पुस्तक भए पनि यस पुस्तकलाई गागर मान्ने हो भने यो गागरभित्रै सागर अटेको छ।पुस्तक अध्ययन गर्ने परिपाटी गिर्दो अवस्थामा रहेको वर्तमान समयमा एक जना पठन संस्कृतिका अनुयायी हरिप्रसाद बरालको पुस्तकहरूको माझैमाझ पुस्तकबाट पठन संस्कृति प्रवर्द्धनका लागि जोडदार अभियान प्रारम्भ गरेका छन्।यो पुस्तक सबैले एकचोटि पढेर आफू र आफ्ना सन्ततिमा पठन संस्कृतिको विकास गर्न प्रारम्भ गर्न ढिला गर्नु हुँदैन।यो पुस्तक पठनीय छ, सङ्ग्रहीण छ,आफन्त तथा मित्रजनलाई उपहार दिन उपयुक्त छ।लेखकलाई यस्तै उर्जाशील पुस्तक लेखनका लागि हार्दिक शुभेच्छा व्यक्त गर्दछु।

पुस्तकः पुस्तकहरूको माझैमाझ
विधाः पुस्तक इतिवृत्तान्त
लेखकः हरिप्रसाद बराल
प्रकाशकः दुर्गादेवी खतिवडा (बराल)
संस्करणः पहिलो (२०७८)
पृष्ठः ८२
मूल्यः रु.१५०

 

प्रतिक्रिया