अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट डा. गोविन्दराज भट्टराई र राष्ट्रियबाट डा.जीवन नामदुङ पुरस्कृत

इनेप्लिज २०७८ कार्तिक १२ गते ९:४८ मा प्रकाशित

सम्वाद संजाल,सिलगढी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरको सयुक्त आयोजनामा गत २४ अक्टोबर २०२१ मा भारतको सिलगढीस्थित वर्षाना होटलमा आयोजित विषेश साहित्यिक समारोहमा युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट प्रा. डा. गोविन्दराज भाट्टराई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कारबाट डा. जीवन नामदुङलाई प्रदान गरियो।

कार्यक्रमका प्रमुख अतिथि दार्जीलिङ्ग जिल्लापाल एस. पुनमबालम‌,अनेसास सिलगढी च्याप्टरकी अध्यक्ष लतिका जोशी,युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुढीका अध्यक्ष राधेश्याम लेकाली,साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ,गुठी सरक्षक ललिता जोशीले सो पुरस्कारहरु प्रदान गर्नु भएको थियो।

डा.भट्टराईलाई प्रदान गरिएको पुरस्कारमा नगद रु. २१००० सहित अङ्गबस्त्र, खादामाला,मायाको चिनो,मेडल र सम्मानपत्र रहेको थियो।यसैगरी डा.नामदुङलाई प्रदान गरिएको पुरस्कारमा नगद रु. ११००० सहित अङ्गबस्त्र, खादामाला, मायाको चिनो, मेडल र सम्मानपत्र रहेको थियो।

सोही समारोहमा कवि ललिता जोशी क्षेत्रीद्वारा लिखित कवितासंग्रह ”आँखीझ्यालबाट विश्व चिहाएर हेर्दा” कृतिको पनि लोकार्पण गरिएको थियो।कृति लोकार्पण भएको घोषणा गुठी अध्यक्ष लेकालीले गर्नु भएको थियो।लोकार्पित कृतिका सर्जक ललिता जोशी क्षेत्री “युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी”को संरक्षक पनि हुनुहुन्छ।

 

कार्यक्रममा सम्मानित स्रष्टा डा.गोविन्दराज भट्टराईकोबारे साहित्यकार मुक्तिप्रसाद उपाध्याय बराल र डा. जीवन नामदुङकोबारे डा.जीवन राणाले आआफ्नो मन्तव्य राख्नु भएको थियो।यसैगरी समानित सष्टा भट्टराई र नामदुङले आआफ्नो सारगर्भित मन्तव्य राख्दै पुरस्कार प्रदान गरेकोमा “युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी” परिवारलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

अनेसास सिलगढी च्याप्टरकी अध्यक्ष लतिका जोशीको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि पुनमवालम, सभापति लतिका जोशी र गुठी अध्यक्ष राधेश्याम लेकालीलगायतले विशेष मन्तव्य राख्नु भएको थियो।

गुठीका सहसचिव एवं च्याप्टरका उपाध्यक्ष शरद क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो।सो समारोहमा “युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी”को तर्फबाट बीन्नी शर्मा, गुठी संरक्षकहरु ललिता जोशी क्षेत्री र भीभीयन क्षेत्री, कोषाध्यक्ष भिषिका क्षेत्रीले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा अनेसास सिलगढी च्याप्टरले “युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी”का अध्यक्ष एवं अनेसासका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार साहित्यकार राधेश्याम लेकाली,साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ र प्राज्ञ सुभद्रा भट्टराईलाई विशेष सम्मान पनि गरेको थियो।

कार्यक्रममा काठमाडौं,झापा,दार्जीलिङ्ग, सिक्किम बिजनबारी,सोनादा ,कालेबुङ,खरसाङ्ग, आसमलगायतका ठाउँहरुबाट साहित्यकारहरुको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सहायक जिल्लापाल प्रेम बरदेवाले लक्ष्मीकान्त जोशीको र युगेन्द्र क्षेत्रीकोबारे शिवकुमार राई प्रतिष्ठानकी सचिव श्रीमति छीमी लामाले विस्तृत परिचय राख्नु भएको थियो।


.
सो कार्यक्रममा साहित्यकारहरु नरेन्द्रबहादुर श्रेष्ठले कविता वाचनसहित,सुभद्रा भट्टराईजोगेन दर्नाल, डा. कृष्णराज घतानी,सुकराज दियाली,डा.नरेशचन्द खातीलगायतले मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा सिर्जना शर्माले गणेश बन्दना गाउनु भएको थियो भने प्रकाश छेत्री,सानिद्धय थापा ,स्नेह थापा र वीरआदित्य शर्माले नृत्य र गीतहरु प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा नेपाली साहित्यको अनुवाद र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणकोबारे विशेष चर्चा गरिएको थियो।कार्यक्रमको संचालन देविका मंग्राती र प्रा. मेघनाथ छेत्रीले गर्नु भएको थियो।

प्रतिक्रिया