कविता:हेर मौषम वदलिंदै छ
हावा हुरीको आतंड्क छ,
जता ततै पानी पानी छ,
चराचरहरू
कुनै अज्ञात ठाऊँमा ओत लागेका छन,
ठुस्स परेकी साहूनी झै,
दिन निन्याउरो छ
उधारो खाएर भागेको भोले
अचानक बजारमा साहूले फेला पारेझै,
दिन विस्मृत चकित छ,
हेर मौषम बदलिंदै छ,
यो मौषम पनि तिमी जस्तै छ,
फूलहरू खित्का छोडेर हांस्दाको तिमी झैं
दंड्गदास थिए
हिजैं जस्तो लाग्छ,
ती लाजवन्ती झार झै,
लल्याक लुलुक भएका छन्
आज,
भरखर घर पसेकी वेहूली झैं,
ति मदमस्त दिन,
उज्यालो त्यो दिन,
त्यो घमाइलो दिन खै ?
जिन्दगी यस्तै रहेछ,
कहिले घाम कहिले छांया,
कहिले हर्ष, कहिले उदास उदास,
मनी प्लान्टका वोट ओत लागे,
मनमोहक फूलका पातहरू
अलपत्र परेर झरे,
यिन्को दिन छैन आज,
मौषमको मिजाजको राज छ,
हामी चूपचाप छौ,
लडेर जीतिन्न थाहा छ,
सम्झौता हो,गरेकै छौं,
ति सुकुमल तिम्रा औंला जस्ता सलक्क
परेका रूखका हांगाहरू
पराजित सैनिक झैं,
भूंईमा पछारिएक छन्,
न यिन्को केही लाग्छ,
न तिम्रो केही लाग्छ,
न मेरो केही लाग्छ,
हेर,मौषम वदलिंदै छ ।
१०/२६/२१
राजमित्र प्रांगण,
माल्डेन,बोस्टन
अमेरीका
प्रतिक्रिया