“ए समुद्र ! (कवितासङ्ग्रह)”

अरुणबहादुर खत्री “नदी” २०७८ कार्तिक ६ गते ११:३३ मा प्रकाशित

संवत् २०१४ फागुन ३ गतेका दिन जन्मेकी कवयित्री इन्दिरा प्रसाईको ““ए समुद्र” नामक कवितासङ्ग्रह २०६३ सालमा नइ प्रकाशनबाट निस्केको छ।यसभित्र उनीद्वारा लेखिएका पैतालीसवटा कविताहरु राखिएका छन्।उनले लेखेका प्रायः जसो कविताहरु विषयवस्तुका दृष्टिले राम्रा छन्।यस कृतिभित्रको शुरुको कविता समुद्रसित कवयित्रीको सुखद् मिलनबाट शुरु हुन्छ र बीचका अनेक घटना तितामीठा अनुभव र सुखःदुखका क्रमहरुपछि लेखिएका इन्दिराले भविष्यमा फेरि भेट हुने आशासहित बिदा लिएको प्रसङ्गमा टुङ्गिन्छ। ए समुद्र ! उनको भारतको मद्रास अर्थात् अहिलेको चेन्नाइको दुईपटकको भ्रमणपश्चात् जन्मिएको कवितासङ्ग्रह हो।समुद्रको आकर्षणले तानिएको कवयित्रीलाई पछि २०६१ सालको सामुद्रिक लहर सुनामीले त्यही चेन्नाइमा पुर्याएको धनजनको व्यापक क्षतिका कारण समुद्र हुनु बरदान मात्र नभएर अभिशाप पनि हो भन्ने चेत खुले पनि तयार भइसकेको यस कृतिलाई प्रकाशनमा ल्याउन त्यो घटनाले रोक्न सकेन।मूलरुपमा दुई पात्रमा केन्द्रित यी कविताहरुमा कवयित्री र समुद्रबीच मौनसम्वाद चलेको छ । वरिपरिको संसारसित पूर्णतःअनभिज्ञ रहेझैँ फैलिएको समुद्रलाई हेर्दै एक निर्जीव ऐनाले चुपचाप बदलिँदै जाने भावमुद्राहरुलाई प्रतिबिम्बित गरिदिएर परावर्तन गरिदिएझैँ कवयित्री इन्दिराको अन्तहृदयका आवाजहरु समुद्रको कठोर मौनतामा ठक्कर खाएर प्रतिध्वनित हुँदै कविताहरुमा छरिएका छन्।समुद्र र उनीबीच गहिरो आत्मिक सम्बन्ध बनेका पैतालीस टुक्राहरुले सिङ्गो कविता बनेको छ । यस सङ्ग्रहभित्रका कविताहरुमा उनले कुनै शीर्षक भने राखेकी छैन।कवितालाई एक, दुई,तीन,चार देखि पैतालीससम्म विभाजन गरेकी छिन्।आफ्नो देशबाट हजारौ कोश टाढा दक्षिणतिरको भारतको सुप्रसिद्ध समुद्र तटर्वी महानगर मद्रास (चेन्नाई) मा कार्यवश केही समय बस्नुपर्दा भेष,भाषा र रीतिथिति सबैमा एकदमै बिरानो त्यस समयमा आफ्ना सुखदुःखका कुरा सुनिदिने र फुर्सदमा सँगै बसेर केही समय बिताउने एक मात्र साथी त्यहाँको पवित्र समुद्र नै हुन्छ र लेखिका कवयित्रीको प्रिय पात्र समुद्र नै बन्न पुग्छ।

म तिम्रै गीत गुनगुनाउँछु
म तिम्रा सेता फिँजहरुमा
अनन्त यात्राको सपना देख्छु
परेवाका सेता प्वाँखहरुको आनन्द भोग्छु।

समुद्र नदेखेकी कवयित्रीलाई पहिलो पटक मद्रास पुगेकै बेला समुद्रको आकर्षणले भुतुक्कै पारेको थियो।आहा!यस्तो समुद्र आफ्नो देशमा पनि भएको भए उनले कल्पेकी थिइन्।आफ्ना खुशीहरु उसका पाऊमा र ऊ धेरै टाढा आफूबाट लाग्छ रे छाल भएर आउँदो रहेछ । छोएजस्तो पनि गर्छ।मनका एलबमका पानाहरु समुद्रका हावाले पल्टाउँदै जाँदा सरर्र पल्टन्छन्।दृष्यहरु कवयित्री इन्दिराले खुशी उमङ्ग उत्साहका साथ कविता कोरेकी रहेछिन्।समुद्र प्रकृतिको विराटता र शक्तिसम्पन्नताको मूर्त रुप हो तर आफू वरिपरीका यी दुःख र दुर्दशा देखेर त्यसको निर्मम उदासिनताप्रति कवयित्री कत्ति पनि मौन रहन सक्तिनन्।आफ्नो धैर्य र संयम त्यागेर कविताको मार्फत यसरी बोल्दछिन् –

ए समुद्र !
म तिम्रै बाटो हेरी चाहनामा
अझैं थपिदो छु।

समुद्रले आफू मौन बसेर नै कवयित्रीको कोमल हृदयमा एकपछि अर्को गरेर विभिन्न रफ्का तरङ्गहरु उत्पन्न गरिदिएको छ । उनी कहिले त्यसको सौम्यता र गम्भीरताबाट मोहित हुन्छिन् कहिले खुशी भई हाँस्दछिन् ।

ए समुद्र !
मेरो म कहा छ ?
म खोज्दैछु अनवरत
स्वाद र सन्तुष्टिको संगम
भन कता हराएको छ ?

“मोलम” को लागि फूल किनेर बसमै “मोलम” बनाउने आइमाईहरु तर उनीहरुकै रित्ता केशहरु बसको खचाखच भीडमा पनि फूल र तेलको सुगन्ध ए समुद्र!कविताभित्र छ।ए समुद्र!तिम्रो स्वागतद्वारमा सङ्गमर्मरसँग छालहरु गाँसेर उभिएको पिरतीस्तम्भ देखेर प्रेमगानको नमूनासामु अति विभोर भो यो मन कवयित्री इन्दिराको।फूल र तेलको सुगन्ध काला निस्पट्ट कालामाझ पनि पसिनाको गन्ध छैन कति सुन्दर यहाँको कालो रङ।कवयित्रीले कालो रङलाई मन पराउदै सुन्दर मान्दै लेखेकी छिन्।खुशीले नाचेको समुद्रको रुप अहङ्कारले गर्जेको समुद्रको आवाज कवयित्री आफुभित्र गाभ्न सक्तिनँन्।समुद्रको किनारालाई भीडमाझ कवयित्री एक्लो फगत एकाङ्की भएकी छिन्।यसरी हेर्दै जाँदा समुद्र कवयित्रीका लागि प्रकृतिको उपहार वा अभिशापको एक द्विविधापूर्ण प्रश्नहरुको पोको बनेको छ। आफूभित्रका गन्नै नसकिने खुसीको खोजी,आफ्नै “म” को अनिश्चितताबाट उब्जेको आत्मसंशय भीडमा पनि एक्लो अनुभव गर्ने आत्मनिर्वासित मनोदशाजस्ता छायाँवादी एवं रहस्यवादी भावहरु उनका ए समुद्र!कवितामा उत्सर्जित छन्। नेपाली साहित्यका कथा,कविता,उपन्यास,निवन्ध,लघुकथा लगायतका विविध विधामा सशक्तरुपमा कलम चलाउँदै आएकी कवयित्री इन्दिराका दुई दर्जनभन्दा बढी लेखन र सम्पादनका कृतिहरु प्रकाशित भइसकेका छन्।आफ्नो सामान्य जीवनका अनुभूतिहरु,आफ्ना कथाव्यथाहरु र उत्सुकताहरुलाई अथाह समुद्रको गहिराइमा डुबाइदिएर उनले आफू हलुका भएको अनुभव कवितामा बाँडेकी छिन्।उनलाई सामुद्रिक किनारमा बढ्दै गएको फोहोर र प्रदूषणले काठमाडौंका ढल मिसाइएका प्रदूषित नदीहरुको सम्झना पनि गराएको छ।समुद्रलाई केन्द्रविन्दु बनाएर कवयित्रीले सरल र सहज भावमा सबैले बुझ्ने गरी स्वच्छन्दतावाद र मानवतावादका अन्तर्भावहरुको संवेदनशीलतालाई मिठासपूर्ण संयोजनमा यस कवितासङ्ग्रहमा प्रस्तुत गरेकी छिन्।अन्त्यमा कवयित्री इन्दिराको कलम निरन्तर चल्दै गएर अन्य कृतिहरु जन्मेर हामीले पढ्न पाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

कृति : ए समुद्र!(कवितासङ्ग्रह)
कवयित्रीः इन्दिरा प्रसाई
प्रकाशकः नइ प्रकाशन सामाखुशी मार्ग, ९३५÷५४
प्रकाशनः २०६३ काठमाडौं ३ (नेपाल)
मूल्यः रु. ५०।– (पचाँस मात्र) मोबाइल ९८४१७९७६६४
पृष्ठः– ७५

 

 

 

 

 

प्रतिक्रिया