आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:३२
वासिङटन डिसी 09:47

अफ्रिकाको पाँचवटा देशमा रक्तदान गरेँ ।

अर्जुन मैनाली २०७८ कार्तिक ६ गते १:१५ मा प्रकाशित

 

धेरै जनाले मलाई सोध्ने गर्छन्,’के कारणले तपाईं टाढाटाढा रक्तदान गर्न जानु हुन्छ’? मुख्य कुरा त आबश्यक पर्दा संसार भरिका हरेक स्वस्थ ब्यक्ती रक्तदान गर्न सकुन भन्ने सन्देश दिनु नै हो।अर्को कुरा मेरो रगतले बाच्ने ति सबै मेरै सन्तान जस्तै भए नि त!

अफ्रिका महादेशका धेरै जसो बिरामीहरुले चाहिएको बेलामा रगत पाउदा रहेनछन।वार्षिक करीब ६ लाख सुत्केरी महिलाहरुले अत्यधिक रक्तश्राव हुँदा जीवन नै गुमाउँदा रहेछन।धेरै जसो बच्चाहरुमा कुपोषण र रक्त अल्पता रहेछ।

यसले मलाई त्यतातिर पाइला चाल्न ध्यानाकर्षण गर्यो।रगत नै नपाएर संसारका कुनै पनि कुनाका बिरामीले जीवन गुमाउनु नपरोस भन्ने मेरो कामना हो।त्यसैले त्यहाँका युवाहरुमा कम्तिमा बर्षको एक पटक रक्तदान संस्कृति बसाउन प्रयास गर्न मन लाग्यो।

सन २०१४ मा मैले ६ वटा देशमा ६ पटक होल ब्लड र १३ पटक प्लेटलेट्स दान गरेको अनुभब थियो।सन १९९० मा नेपालमा मैले रक्तदान गरेको १ घण्टा पछी नेपालभर लगातार ३१ दिन सम्म बाइसाइकल यात्रा गरेको अनुभव थियो।रक्तदान गर्दैमा कमजोरी भईदैन भन्ने मसँग प्रत्यक्ष अनुभब थियो।सयौँ रक्तदान कार्यक्रम,रक्तदान उत्प्रेरणा कार्यक्रम गरेको मसँग अनुभव थियो।

न्यूयोर्कबाट अफ्रिकाका देशहरुमा जान हवाइजहाजबाट नै पन्ध्र बिस घण्टा लाग्दो रहेछ।मेरो लागि टिकट पनि धेरै महँगो थियो । बित्तिय संस्थासँग पैसा रिण लिएरै भएपनि अफ्रिकाको पाँच वटा देशमा गएर रक्तदान गरेँ।

सर्बप्रथम अगष्ट २०, २०१६ मा मलावी मा उपस्थित ३ दर्जन स्वयमसेवी, रक्तदाताका सामुन्ने रक्तदान गरेँ।रक्तदानका आफ्ना अनुभव सुनाएँ।रक्तदान कार्यक्रम गर्न १ हजार डलर सहयोग गरेँ।त्यसपछी,फेब्रुअरी ११,२०१८ मा युगाण्डामा सयौँ ब्यक्तिहरुको उपस्थितिमा रक्तदान गरेँ।त्यसदिनको रक्तदान कार्यक्रम आयोजना गर्न ५०० डलर सहयोग गरेको थिएँ।फेब्रुअरी १९,२०१९ मा इथियोपियामा स्वास्थ्य राज्य मन्त्री, रक्त संचार सेवाकी निर्देशक लगाएत स्थानिय २० संस्थाका ७० जना प्रतिनिधिका उपस्थितिमा रक्तदान गरेँ।रक्तदान र उत्प्रेरणा कार्यक्रम गर्न १५०० डलर सहयोग गरेको थिएँ।जुन १२, २०१९का दिन,मैले न्यूयोर्कबाट रुवान्डाको किगाली अन्तरराष्ट्रिय बिमानस्थलमा उत्रिएर सिधै रक्तसन्चार सेवा केन्द्रमा गएर रक्तदान गरेँ।जुन १३ र १४ मा त्यहा विश्व स्वास्थ्य संगठनको विश्व रक्तदाता दिवस २०१९ लाई सम्बोधन गरेँ।त्यहा रक्तदान उत्प्रेरणा कार्यपत्र पनि प्रस्तुत गरेँ।रुवान्डाको स्वास्थ्य मन्त्री लगाएत १५ देशका २५० जना बिशिष्ट महानुभावहरुको उपस्थित थियो।

डेमोक्र्याटिक रिपब्लिक कङ्गोमा २०१९ सेप्टेम्बर ११ मा रक्तदान गर्न हवाइजहाजको टिकट किनेँ।तर त्यहाँ जान भिषा नै पाइनँ।न्यूयोर्कबाट कङ्गो जान भनेर लिएको हवाइजहाजको टिकटमा केन्यामा हवाइजहाज रोकिने लेखेको थियो।कङ्गो जान नपाए के भो त? बरु केन्या नै जान्छु भन्ने लाग्यो।पासपोर्ट र टिकट बोकेर जे एफ के एअरपोर्टको केन्या एअरवेज काउन्टर गएँ।तर त्यो टिकटबाट केन्या जान पाइनँ।केन्याको रक्तसन्चार सेवा केन्द्रलाई म आउन नसक्ने भएँ, माफ गर्नु होला भनेको भए पनि हुन्थ्यो । तर त्यसो गरिनँ।अफ्रिकामा महिलाहरुले गर्भवती अवस्थामा रक्तश्राव हुँदा रगत नै नपाएर मृत्‍यु हुनु परेको नराम्रो चित्र मेरो आखाँ अगाडि आईरहन्थे।केन्याको रक्तदान उत्प्रेरणा कार्यक्रममा सघाउँला भनेर बोकेको पैसाले पुन अर्को टिकट किनेँ।केन्यामा सेप्टेम्बर ११मा बिशाल जनसहभागीता बिच रक्तदान गरेँ।रक्तदान कार्यक्रममा स्वास्थ्य मन्त्रीको उपस्थिती थियो । सम्बोधनको क्रममा मन्त्रिले रक्तदाता अर्जुन मैनालीको उपस्थिती र रक्तदानले हाम्रा जनतामा रक्तदान गर्न उत्प्रेरणा हुन्छ भन्दा धेरै आनन्द आयो । आफुले पाएको सबै दु:ख बिर्सेँ।

यसरी म जुन ठाउँमा रक्तदान गर्न भनेर जान्थेँ,पुग्नासाथ रक्तदान गर्थेँ,रक्तदान उत्प्रेरणा गर्थेँ,त्यसपछी तुरुन्तै घर फर्कन्थेँ।मैले दान गरेको रगतबाट बाच्ने ति सबै मेरै परिवारका सदस्यजस्तै भएको ठान्छु।विश्वका जुनसुकै ठाउँका बिरामी बचाउन म जहाँ पनि पुगेर आफ्नै रगत दिन सक्छु भन्ने लाग्छ।त्यस्तै गरेको छु।

कोरोना महामारिको बेलामा न्यूयोर्कमा सन २०२० मा आठ महिनामा २२ पटक (तीन पटक होल ब्लड र उन्नाइस पटक प्लेट्लेट्स) रक्तदान गरेँ।अगष्ट २०, १९८७ मा मैले पहिलो पटक काठमाण्डौ, नेपालमा रक्तदान गरेको हुँ।त्यसयता ६ वटै महादेशका १७ देशमा गएर २०० पटक रक्तदान गरेको छु।मैले दान गरेको रगतको परीमाण १,००,००० मिलिलिटर हुन आउछ।मैले दान गरेको रगतले मात्रै ६०० जनासम्मलाई बचाउन सहयोग हुन्छ।

रक्तदानले न कमजोर होइन्छ।न त रगत घट्छ।तसर्थ, तपाईं पनि एक पटकमात्र भए नि रक्तदान गर्नुहोस।तपाइको रगत दानले कसैलाइ बचाउन सहयोग हुन्छ।

-अर्जुन मैनाली

प्रतिक्रिया