आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:०६
वासिङटन डिसी 09:21

नेपाली पाठशाला टेक्सासले अष्ट्रेलियामा समेत कक्षा संचालन गर्ने

इनेप्लिज २०७८ कार्तिक ४ गते २०:२५ मा प्रकाशित

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा स्थापित नेपाली समाजद्वारा संचालित पाठशालाले अष्ट्रेलियाको पर्थमा समेत नेपाली कक्षा सञ्चालन गर्ने भएको छ । पर्थमा रहेको नेपाली समुदायसंगको सहकार्यमा सो कक्षा सञ्चालन गर्न लागिएको नेपाली पाठशाला टेक्सासका प्रधानाचार्य विजयराज भट्टराइले बताउनुभयो।

प्रधानाचार्य भट्टराइले सम्पूर्ण भर्ना प्रक्रिया पूरा गरी कक्षा भोलि (अक्टोबर २२) बाट शुरु गरिन लागेको जानकारी दिनुभयो ।

अष्ट्रेलिया ग्रुपको निमित्त बिशेष पाठ्यक्रमको डिजाइन गरिएको छ। अष्ट्रेलियामा रहेका अभिभावाकरु पनि अमेरिकास्थित नेपाली पाठशालामा जोडिएर एउटा लामो इतिहास बनेको नेपाली पाठशालामा आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा, साहित्य र संस्कृति पढाउन पाउदा निकै खुशी रहेको प्रधानाचार्य भट्टराइले जानकारी दिनुभयो ।

यस कक्षाको निमित्त शिक्षकको रुपमा डा. होम आचार्य हुनुहुन्छ। नेपाली भाषामै स्नातकोत्तर गरेर अमेरिकाबाट शैक्षिक नेतृत्वमा बिद्याबारिधी गर्नु भएको डा. आचार्य अमेरिकाकै सर्बोत्कृष्टहरु मध्येको एक विश्वबिद्याल कोर्नेल युनिभर्सिटीमा प्राध्यापन गर्नुहुन्छ।

नेपाल बाहिर नेपालीले संचालन गरेको सवैभन्दा ठूलो यस नेपाली पाठशालामा सामुदायिक बिद्यालयमा चारसय भन्दा बढी बिद्यार्थीहरु एकै सेमेस्टरमा भर्ना समेत भएका छन। उच्च गुणस्तरका शिक्षकहरु र उत्कृष्ट ब्यबस्थापनका कारण टेक्सासमा नेपाली समुदायले सन् २००४ देखि नै संचालन गर्दै आइरहेको नेपाली पाठशालाले अहिले १७ बर्षको स्कूलको इतिहासमा ठुलै छलाङ्ग मारेको छ।

विजया दशैको अवसर पारेर दुइ हप्ताअघि अमेरिकाको टेक्सासमा आयोजित नेपाली समाज टेक्सासको एक भब्य कार्यक्रमबीच नेपाली पाठशालाका प्रिसिपल विजयराज भट्टराइ लगायत शिक्षकहरु भोज बलायर, शुशिल चौधरी, बटुक बिष्ट, डा.होम आचार्य, श्रद्धा अधिकारी र पशुपति तिम्सिनालाई उहांंहरुको सामाजिक सेवाको कदर गर्दै सम्मान गरेको थियो।

कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष दिनेश शर्मा, बरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले र महासचिव भानु खरेलले स्कूलको गतिविधिले नेपाली समाजमा पुर्याएको योगदानको प्रंशशा गर्नुभएको थियो। यस नेपाली पाठशालाले बिभिन्न सातवटा बिषयमा कक्षा संचालन गर्दै आइरहेको छ साथै धेरै अतिरिक्त क्रियाकलापहरु पनि गर्दै आइरहेको छ।

प्रतिक्रिया