लघुकथा: धम्की

✍️ ताराप्रसाद चापागाईं २०७८ कार्तिक ३ गते १:५० मा प्रकाशित
पण्डित  रामशरणको घरमा विशेष पूजा थियाे। छर छिमेकी पाहुनाहरू खासगरि आफ्ना बैनीहरू आउने भएकोले कतै नबिग्रियोस्,सबै खुशी रहून् भन्ने आशा र कामना थियो उनको।तर कसैको कुरा नसुन्ने,घरमा झगडाको बीउ मात्र रोप्ने बानी भएकी श्रीमतीसँग त्राही त्राही थिए पण्डित।

उनले श्रीमतीलाई हारगुहार गरी पूजासर्जम तयार गर्न लगाए।हरेक दिन बाहिर डुल्ने,बाहिरै खाने,घरमा खानाको त्यति चाह नगर्ने बानी भएकी श्रीमती पूजाको तयारीमा मन लागी,नलागी जुटेकी थिइन्।

पूजाको सबै तयारी पूरा भयो।पण्डितको मन चाहिँ ढुक्क थिएन कतिबेला श्रीमती बहाना बनाएर पूजा अलपत्र पारेर हिँड्ने हो भन्ने  चिन्तामा डुब्दै पूजामा व्यस्त हुन थाले।

केही बेरपछि माइत बसेकी फूपुसासूलाई समेत लिएर “आयुर्वेदिक औषधि लिन जान्छु” भन्दै उनकी श्रीमती बाहिर  निस्किइन्।

पत्नीबिना पूजा सम्पन्न गर्नुपर्दा पण्डितको मनमा आँधिबेहरी चल्यो र उल्टो मति बोकेकी आफ्नै श्रीमतीको कारणले उनी  दु: खी भए ।

घरका अन्य सदस्य,माइत आएका दिदी बहिनी र छिमेकी  मिलेर पूजाकाे कार्यक्रम सम्पन्न गरे।पूजा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो।

उता उनकी  श्रीमती ठूलाघरे बा का घर गएर नाचगानमा व्यस्त भइन्।खासगरि कौसिक कान्छो भनेपछि भुतुक्कै हुने उनकी  श्रीमती ठूलाघरे बाका घर ऊ आउने कुरा थाहा पाएर उतै हानिएकी थिइन्।

त्यसकाे भाेलिपल्ट सबैले उनकी श्रीमतीका कर्तुत थाहा पाए।घरमा सबै मिलेर व्यङ्ग्य प्रहार गर्दै रिसाउन थाले।बिस्तारै छर छिमेकीले समेत थाहा पाए र कानेखुसी गर्न थाले ।

उनले राताराता आँखा पारेर श्रीमतीलाई क्वारक्वार्ती हेरे।

” के आँखा जुधाएर हेरेको ? यो घर जग्गा सबै मेरा नाममा छन् भन्ने कुरा बिर्सियौ कि क्या हो ? मेरो घरमा मैले जेसुकै गरुँ,तिमीलाई केको टाउको दुखाइ ?”
श्रीमतीका धम्कीपूर्ण बोलीले पण्डित रामशरण पुर्पुरोमा हात लाउँदै थचक्क भुइँमा बसे ।

२०७८असाेज ४ गते ।
धुनिबेसी, धादिङ

प्रतिक्रिया