दुःस्वप्नमा डुबुल्की मार्दा

अरुणबहादुर खत्री “नदी” २०७८ कार्तिक २ गते १०:३८ मा प्रकाशित

नेपाली साहित्यका विभिन्न विधाहरुमा कलम चलाउँदै आएकी नारी साहित्यकार हिरण्यकुमारी पाठकको पछिल्लो कथा सङ्ग्रह दुःस्वप्न २०६८ चैतमा प्रकाशित भएको छ।नेपाली समाजमा भेटिने विभिन्न प्रवृत्ति र चरित्रहरुलाई चित्रण गर्दै हिरण्यकुमारीले कथाहरु बुनेकी छिन्।सामाजिक जीवनमा देखे भोगेको कलात्मक एवं सिलसिलेवार प्रस्तुती नै कथा हो।यस सङ्ग्रहभित्र लिभिङ टु–गेदर,प्रश्नै–प्रश्न, नयाँ मोड,सहवास,आत्मबल,आफन्तका घाउ,बालुवामाथि दृष्टि लगायत विभिन्न शीर्षकको ३३ वटा कथाहरु सङ्कलित छन्।हिरण्यकुमारी तीन दशकदेखि नेपाली साहित्यमा विशेषत कथा र कवितामा अत्यन्त सक्रिय सजग र समर्पित स्रष्टा हुन्।

यसभन्दा अगाडि उनको २०५० मा मोहचक्र र २०५७ मा शून्यवत कथासङ्ग्रह निस्केको थियो।यस सङ्ग्रहभित्रका कथाहरुले नेपालका साथै विश्व–भूगोल,विविध चरित्र,असामान्य परिस्थिति र नयाँ संस्कृतिलाई प्रत्यक्ष रुपमा आत्मसाथ गरेको पाइन्छ।आजको नेपाली समाजले भोगिरहेको यथार्थ जस्तो कि गरिबी र पछौटेपन, महिला हिंसा,पारिवारिक बिखण्डन,जबर्जस्ती करणी,दाइजो प्रथा,अपाङ्गता साथै विविध क्षेत्रका विकृति र बिसङ्गती हिरण्यकुमारीले लेखेका कथाका विषयवस्तु हुन् ।यस्तै अरब र अन्य देशमा काम गर्न बाध्य विवश महिला,विश्व परिवेशका विविध सम्बन्धका आयामहरु पनि उनले लेखेका कथाका मूल धार हुन्।आफ्नो वरिपरिको परिवेश,घटना दुर्घटनाबाट संवेदनशील एवम् प्रेरित भई कथा लेख्दछिन् हिरण्यकुमारी।व्यङ्ग्य र बिडम्बना पनि यस सङ्ग्रहभित्रका कतिपय कथाका विषयवस्तु भएका छन्।सन्देशमूलक कथाहरुले आजका सन्ततीलाई बाटो विराएकालाई बाटो देखाउने जमर्को पनि गरेको छ।यस सङ्ग्रहभित्रको पहिलो कथा लिभिङ्ग टु–गेदरमा बाल्यकाल विभिन्न घटनाबीच वितेकाले कथाको मूल पात्र गीताको मनमा बिहे गरेर घरजम गर्ने सामाजिक संस्कारप्रति ठूलो वितृष्णा जन्म्यो ।उनलाई सानैदेखि जीवन स्वतन्त्र भएर बाँच्नुपर्छ भन्ने भावना जागरण भयो भनिएको छ।आत्मबल शीर्षकको कथामा जबसम्म मनुष्यले एकअर्काको दुःख साटासाट गर्न सक्तैन तबसम्म छलकपट धोखादारीका कार्य थामिन्नन् भनिएको छ ।दृष्टि शीर्षकको कथामा लुगा र सीमित पारिवारिक स्वतन्त्रतामा पनि उमेरको जोश र होशले चारैतिरको वातावरणलाई मधुमय बनाएकै हुन्थ्यो भनिएको छ।हनिमुनको नवीकरण शीर्षकको कथामा जीवनका गोरेटोमा अनेक रंगीन ताराहरु झिलमिलाए जसलाई आत्मसात् गर्दै नीलिमा अनिल भित्रभित्रै हराइन् भनिएको छ।विभिन्न समयमा देखा परेका,घटेका घटनाहरु,देश विदेशको भ्रमणको बेलामा आत्मसात गरेका दृष्यहरुलाई कथाका माध्यमबाट हिरण्यकुमारीले पाठकछेउ पस्कने जमर्को गरेर यो कथासङ्ग्रह पाठकमाझ ल्याएकी छन्।यस सङ्ग्रहभित्रका कथाहरु हाम्रा विसंगतिका आधारमा सत्यसँग गाँसिएका छन्।उनका कथा पढ्ने पाठकले धेरै कुरा जान्न र सिक्न पाउँने छन्।छोटा,स–साना,सन्देशमूलक यी कथाहरुले आउँने पिढीका लागि पनि सन्देश दिएका छन्।उनका कथाहरु हामी वरिपरि यत्रतत्र छरिइरहेका विषयवस्तुहरुमा नै केन्द्रित छन् जस्ले हामी पाठकलाई कथाकारले हाम्रै बारेमा लेखिदिएका हुन् जस्तो लाग्छ।अघोषित मृत्यु शीर्षकको कथामा हरपल, हरक्षण नयाँ–नयाँ घटनामा आफूलाई समर्पित गर्नुपर्ने रहेछ।समयले.निम्त्याएका परिस्थितिको सामना गर्दै बाँच्नु नै जिन्दगी रहेछ क्यारे भनिएको छ।सानीलाई सम्बोधन शीर्षकको कथामा स्वतन्त्र जीवनको नाममा धेरै विकृतिहरु छन् विदेशी समाजमा।तर हामी त आफ्नै संस्कार भित्र हुर्केर आफ्नै परिवेशमा रमाइरहेको बेला यो अचानक कसरी परिवर्तन आयो सानी तिमीमा ? भनेर सोधिएको छ। अर्को जीवन शीर्षकको कथामा कथाको मूल पात्र रजनी आज नीलिमाको मित्रताको गर्व गर्दै सुखमय जीवन बिताइरहेकी छन्।यो पनि अर्को संसार हो–अर्को जीवन हो।जसलाई हाम्रो समाजले स्वीकृति दिनुपर्छ भनिएको छ।सन्ध्याको गोरेटो शीर्षकको कथामा महंगीले गर्दा कथाको मूल पात्र सन्ध्यासँग खासै बचत पनि थिएन।बचत भनेको सीमित रकम पनि घरव्यवहार काजक्रियामा नै सकिइहाल्यो। श्रीमान् नै नभएपछि आफन्तहरुले समेत ऋण र सरसापटमा पत्याउन छाडे अब कसो गरेर जीवन धान्ने भन्ने समस्याको विकराल पहाड उनको सामु तेर्सिएको छ तर उनले समाधान पहिल्याउनै सकिरहेकी छैनन् भनिएको छ।

हिरण्यकुमारीका कथा अधिकांश नरनारी सम्बन्धका छन्।नारी स्थितिका दृष्टिकोणले समाजको अध्ययन गरिएका चित्र छन्।जिन्दगीका मोडहरु शीर्षकको कथामा कथाको पात्र मायाको मनमा अनेक तरंग आउँदै जादै थिए।साथै एउटा पुरुषको हात आफ्नो हातमा हुम्दा उसको स्पर्शले मात्र पनि उनलाई रोमाञ्च गराइरहेको थियो।शरीरमा अचम्मको कम्पन भइरहेको थियो भनिएको छ।जीवनको सत्य शीर्षकको कथाभित्र उमेरको जवानी चढ्दै जाँदा लोग्ने स्वास्नीसंग हुने व्यवहारको आकाङ्क्षा हृदयमा पलाउँदै जानु स्वाभाविक नै थियो मैयाको हृदयमा।तर घरमा उनको श्रीमान्को चिठी आएपनि आमाबाबुलाई नै सबै लेखिएको हुन्थ्यो मैयाका बारेमा खास सोधनी कहिल्यै हुँदैनथ्यो भनिएको छ।अपराधीका आँखा शीर्षकको कथामा क्याम्पसका सातजना छात्राहरुले एकैपटक बलात्कारको घटना दर्ता गराएका छन् प्रो.शैलेशबिरुद्ध।पछि रहस्य खुल्यो ती न्यायाधीश त प्रोफेसर शैलेशका जेठान पो रहेछन् भनिएको छ।कथाकार हिरण्यकुमारीमा घटना टिपेर अनुकूल परिवेश सिगार्ने खुबी छ।त्यही प्रवृत्तिले गर्दा हिरण्यकुमारी नेपाली साहित्यमा कथाकारका रुपमा चर्चामा आएकी छन्।कथाकार हिरण्यकुमारीको कलम तिखो छ र समाजका विकृति विसङ्गतिप्रति प्रहार गर्न सक्षम पनि छ। उनका अधिकांश कथाहरुमा चरित्र चित्रणलाई विशेष जोड दिइएको छ।उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ।उनले कथामा कौतुहलताको प्रयोग निकै सचेततापूर्वक गरेकी छन्।समाजका विभिन्न वर्ग,क्षेत्र,घटना,चरित्र आदिलाई पात्रहरुको उपयुक्त संयोजनबाट राम्रा कथाहरु सिर्जना गर्न उनी सफल छन् । अन्त्यमा सामाजिक जीवनका ब्यथालाई कथामा ढालेर नयाँ शिल्प र शैली अनि प्रस्तुतिमा मौलिकता प्रदान गर्दै प्रयोगवादी स्वरुपका कथाहरु लेखेर आफ्नो छुट्टै पहिचान दिन सफल यी कथाकार हिरण्यकुमारीको यो कथासङ्ग्रह सबै पाठकले पढेर राम्रै प्रतिक्रिया आउनेछ र भविष्यमा उनको कलमले निरन्तर कथाहरु लेखिरहन सकोस् भन्ने अपेक्षा गरेको छु।

यस पुस्तकको मूल्य रु.२००।–राखिएको छ।यस पुस्तकको प्रकाशक वी.एन. पुस्तक संसार प्रा.लि. हो।यस पुस्तक १७६ पृष्ठको छ।कृति पठनीय एवं सङ्ग्रहणिय छ।
सामाखुशी मार्ग,९३५÷५४,
वडा नं.२६,काठमाडौं
मोबाइल ९८४१७९७६६४
इमेलः [email protected]

 

 

 

 

 

 

 

 

प्रतिक्रिया