कृति समीक्षा फक्रँदो कोपिला (किशोर उपन्यास)

अरुणबहादुर खत्री “नदी” २०७८ कार्तिक १ गते २१:४२ मा प्रकाशित

वि.सं. १९९७ असार २७ गतेका दिन जन्मेकी आख्यान विधामा निरन्तर कलम चलाउदै आएकी नारी साहित्यकार गीता केशरी द्वारा लेखिएको फक्रँदो कोपिला नामक किशोर उपन्यास २०६८ सालमा पहिलोपटक निस्किएको छ। यस भन्दा अगाडि उनका कसिंगर,सौगात,आवाज,मुक्ति,खोज,अन्तिम निम्तो,विश्वास,खुला आकाश,नोकरी,निष्कर्ष,बदलिंदो क्षितिज आदि उपन्यास र तरङ्ग,भुमरी,लहर आदि कथा सङ्ग्रह प्रकाशित भइसकेका छन्।कथा र उपन्यासका माध्यमबाट उनी धेरै सङ्ग्रह प्रकाशित गर्ने साहित्यकारहरु मध्येमा परेकी छिन्।

यस उपन्यासमा किशोर युवाहरुको जीवनलाई विषयवस्तु बनाइएको छ र सोह्रवटा भागमा विभाजन गरिएको छ।यस उपन्यासको भाग एकमा मपात्र भोला स्कुलबाट पढेर घर फर्कदा रातको सात बजी सकेको हुन्छ स्कुलबाट त्यसबेला घर फर्केकोमा चिन्तित हुनु भएको आमालाई छोराले नुहाउने पानी खोजेको सुन्दा खपी नसक्नु हुन्छ र भान्छाबाटै कराएर आमाले पढ्ने छोरालाई दिनको दुईपटक नुहाउनु पर्छ भनेर पानी ठिक्क पारेर राखीदिएको छु।अरु के टक्रयाऊँ ? भन्नुहुन्छ ।तँ अबेर घर फर्कनुको कारण के हो भनि आमाले सोध्दा छोराले हामी साथी साथी मिलेर प्रवीणको घरमा बसेर पढ्छौं।उसको घरमा इन्भर्टर छ।बत्ती नभए पनि हामी पढ्न पाउँछौ।यहाँ आठ कहिले बज्ला र बत्ती आउला भनेर कुर्दै समय खेर फाल्नुपर्छ।जाँच नजिकै आएकोले अब के गर्ने भनेर हामीले यो उपाय गरेका हौ ।तपाईलाई अझैं पत्यार लागेको छैन भने सोध्नोस् सुरजलाई भन्दछ।यति सुनेपछि आमा शान्त हुनु भएको बारेमा यस उपन्यासमा लेखिएको छ।यस उपन्यासका प्रायःसबै किशोर पात्रहरु बाल्यकालीन चपल चञ्चल स्वभाव छोडेर भावुक र कल्पनाशील हुँदै गएका देखिन्छन्।उनीहरु हाम्रा समस्या अभिभावकहरु बुझ्दैनन् भन्ने भावनाले चिन्तित हुन्छन्।स्कूलमा पढ्नु बाहेक अन्य सिर्जनात्मक काम गर्दा अभिभावकहरु रिसाउलान् भनेर त्यस्ता काम लुकीलुकी गर्दछन्।उनीहरुमा जिद्दी स्वभाव देखिन थाल्छ।उनीहरु यौन प्रति जिज्ञासु हुन थाल्छन्।एक्लोपन र असुरक्षित भावनाले कुलतमा लाग्दछन्।केटीहरु श्रृंगारमा रुचि देखाउन थाल्छन्।उनीहरुमा केही गरौं भन्ने जोस र जाँगर पनि आउन थाल्छ।यस उपन्यासका पात्रहरु प्राकृतिक नियम–भोक प्यास,माया–प्रेम,डर–त्रास,खेल,मनोरञ्जन आदिद्वारा शासित देखिन्छन्।उनीहरु यिनै इच्छा पूरा गर्न लागि परेका छन् र पछि क्रमशः युवावस्थामा प्रवेश गर्न थालेपछि उनीहरु सामाजिक वातावरणप्रति सचेत हुन थालेका छन्।

यस उपन्यासको भाग तीनमा गुरुले थाहा छ तिमीहरुलाई नपढेकाहरुले जीवनमा कुनै पनि क्षेत्रमा उन्नति गर्न सक्दैनन्।त्यसैले क्लासमा पढाउँदा मनलाई यता उति डुलाउने होइन मेरो अनुहार मात्र हेर्ने होइन बुद्धि लगाएर पढाएका कुराहरु बुझ्ने कोसिस गर्नुपर्छ र नबुझेको सोध्नुपर्छ अहिलेको तिमीहरुको जिम्मेवारी भन्नु पढ्नु, लेख्नु मात्र हो गुरुले यो कुरा भन्नु हुंदा म पात्रलाई उसको मन बतासिएको थाहा पाएर भन्नु भएको त होइन भन्ने लाग्यो र ऊ अलि सतर्क भई समालिन थाले।

किशोर युवा साहित्यका विधा मध्ये आख्यान नै विशेष लोकप्रिय रहेको पाइन्छ।यही विधामा धेरै कृति लेखिने र प्रकाशित हुने गर्छन्।किशोर युवा साहित्य लेखन गर्दा किशोर पात्रलाई नै कथक बनाउनुपर्छ र उसैका दृष्टि विन्दुबाट कथावस्तु प्रस्तुत गर्नुपर्छ।किशोर युवा आख्यानका आधारभूत तत्वमा कथानक,पात्र,परिवेश र शैली पर्दछन्।यिनै तत्वको समुचित प्रयोग गरेर उत्कृष्ट आख्यान सिर्जना गर्न सकिन्छ। किशोर युवा आख्यानले मूलतः किशोर युवाहरुको भावनालाई विशेष महत्व दिई त्यसलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्नु पर्दछ।यसैको सेरोफेरोमा आख्यानकार गीताकेशरीले कलम चलाउन थालेकी छिन्।आख्यानकार गीताकेशरीको पहिलो रचना अरुणोदय पत्रिकामा अपराधी को ? शीर्षकको कथा २०२१ सालमा प्रकाशित भएको थियो।नेपाली महिला आख्यानकार परम्परामा पारिजातपछि गीताकेशरीको नाम अगाडि आउँछ।यिनले यस उपन्यासमा नेपाली समाजको यथार्थ चित्रण गरेकी छिन्।नेपाली समाजमा व्याप्त अशिक्षा,अन्धविश्वास,गरीबी,वर्गीय विभेद आदिलाई महत्वका साथ प्रस्तुत गरेकी छिन्।सामाजिक आदर्श,नैतिकता, मर्यादा र मानवतालाई आख्यानको मूल सन्देश बनाएकी छिन्।यिनी नारी भएकीले प्रधानपुरुष समाजमा व्याप्त लैंगिक विषमता र तज्जन्य समस्यालाई केन्द्रीय कथ्य बनाएर आख्यान रचना गरेकी छिन्।

भाग पाँचमा मपात्र सेन्ट अप भएको रात उसकी आमाले खुसी भएर उसलाई मनपर्ने पेडा मगाउनु हुन्छ र मासु पोलेर खाई रमाइलो गर्ने कार्यक्रम बन्यो। आमा यति खुसी हुनु भएको रहेछ–उहाँले मामा,माइजू,फुपू,फुपाजु सबैलाई बालाई सक्नु भएछ मपात्र त्यसबेला सबैको आँखाको नानी भएर एक्लै रहेनछु म भनेर उसले अनुभव गरीरहेको बारेमा व्याख्या गरिएको छ।

यस उपन्यासको भाग सातमा म पात्र भोलाले परीक्षाको रुटिङ निस्किएको थाहा पाउँदा मपात्र भोलाको मोबाइल बजेको हुन्छ प्रेरणाको फोनकललाई स्वीकारेर उसले हेलो अँ भन भन्दा प्रेरणाले तिमीले थाहा पायौं हाम्रो जाँचको रुटिङ निस्कियो नि ? भन्दछिन्।थाहा त पाएँ हेर्न पाएको छैन मपात्रले भन्दछ।प्रेरणाले भोलि आऊ न शङ्ख पार्कमा एकछिन त्यही बसेर पढाइको बारेमा कुरा गरौंला तिमीलाई रुटिङको एउटा कपी त्यसैबेला ल्याइदिउला हुन्न भन्दछिन्।मपात्र भोलालाई बिहान उठ्न कतै जान इच्छा नै लाग्दैनथ्यो र पनि प्रेरणाको आग्रहलाई टार्न नसकेर हुन्छ कति बजे आइपुगु भन्दछ।यस्तै साढे आठ र नौ बजेको बिचमा आउन मिल्दैन ? भनी मपात्र भोलालाई उनले समय दिन्छिन् त्यो समय मपात्रलाई उपयुक्त नै लागेकोले स्विकार्यो।

भाग दसमा पोखरा जाँदा खेरी पहिलो पटक देखिएका ती पहाड,जङ्गल,नदीहरु जसले त्यसबेला मपात्रहरुलाई नयाँ अनुभूति दिएका थिए नदीको वहाव र सङ्लो पानीलाई हेरेर उनीहरुले त्यसको गहिराइको कल्पना गर्न थालेको बारेमा उल्लेख गरिएको छ।भाग एघारमा प्रेरणाले मपात्रलाई तिम्रो र रञ्जनाको नाम तिम्रा बाआमाले जानेर नै राखी दिएका रहेछन्–“भोला” “रञ्जन” यति भनेर प्रेरणा हाँस्न थाली भन्दै उल्लेख गरिएको छ।

भाग बाह्रमा जुन शारीरिक अक्षमताको कारणले र लागु पदार्थ सेवन गर्न बाध्य भएको हुन्छ ती अक्षमताहरु उपचारको माध्यमबाट ठिक गर्ने र जुन अक्षमताले उसलाई नैतिकवान् हुन,शान्त हुन उत्पादक हुन दिई रहेका छैनन् तिनलाई पुनः स्थापनाको माध्यमबाट हटाउन प्रयास गर्ने कार्य नै उपचार तथा पुनःस्थापना हो। डिटक्स मात्र गरेर मानिसहरु पुनः स्थापना नगरीकन दुव्र्यसनबाट पर हुन सक्दैनन् भनिएको छ।भाग तेह्रमा मपात्रले आफ्नो शरीरमा हुन थालेको परिवर्तन थाहा पाउदथ्यो भनिएको छ।प्रेरणा मेरो प्रेरणा भई रही र अझै पनि हो उसैले गर्दा मैले केटी साथीहरुसंग मित्रता बनाउन सकेको मपात्रले भन्दछ।उनीहरुसंग कुरा गर्न र आफ्नो बिचार मपात्रले व्यक्त गर्न सक्ने भएको छ।नत्र उनीहरुसंग कुरा गर्न मपात्र गएँ कि अरु केटाहरुले मपात्रलाई उल्लाउथे भनेर उपन्यासकार गीताकेशरी लेख्दछिन्।

भाग चौधमा मपात्र भोलाले आफू पढेको स्कुलबाट बोर्डमा सेकेण्ड पोजिसन ल्याउने म नै थिए । स्कुलले निकालेको नतिजा देखेर गुरुहरु सबै खुसी थिए । त्यसैले सबैको ध्यानाकर्षण मपात्र तर्फ नै थियो । सबैले मपात्रलाई बधाई दिएका थिए र गुरुहरुको आसिर्वाद ग्रहण गर्दा मपात्रको आँखा प्रेरणामा परेको भनेर लेखिएको छ।

भाग पन्ध्रमा मनलाई दह्रो बनाउँदै हरेक परिस्थितिको सामना गर्दै मपात्र अब एक निश्चित विन्दुमा आइपुग्दछ जब उसले स्नातकोत्तरको परीक्षामा राम्रो डिभिजन ल्याएर पास गर्यो र नतिजा निस्केकै दिन आफ्नो बाआमाबाट आसिर्वाद लिन गएको हुन्छ त्यसबेला बाआमा अत्यन्त खुसी हुनु भएर बुबाले भन्नु भयो अब तैंले नोकरी खोज्दै कुलको मर्यादा राखेर विवाह गरी घर गृहस्थी बसाउनु पर्छ बुझिस् ?एक से एक केटीहरुका कुराहरु हामी सुहाउँदो घरबाट आएका छन् बुबाले यति मात्र के भन्न भ्याउनु भएको थियो उसको आमाले बुबाको कुरा टिपेर भन्नु भयो – मेरो छोराले अरु केटीसंग विवाह गरेर जिन्दगीभर कल्पी रहदैन विवाह गर्छ तर त्यही प्रेरणासंग गर्छ भनिएको छ।

यस उपन्यासको अन्तिम भाग सोह्रमा त्यो बादलले सूर्योदयको त्यो रङ्गीन तातोपनलाई सहन सक्दैन र फर्कनै गर्छ भनेर प्रेरणा हाँस्दछिन् आफ्नो विजयको प्रतिबिम्ब झल्के जस्तो मानेर मपात्रले प्रेरणाको यो भनाई स्वीकार्दछन् जसरी चारपाँच वर्षसम्मको आन्तरिक र सामाजिक द्वन्द्व सहेर मपात्रले प्रेरणालाई प्राप्त गरेको थियो भनेर लेखिएको छ।एक दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी साहित्य साधक गीताकेशरीले लेखेको यो उपन्यास किशोर किशोरीका लागि सुहाउँदो पढ्न योग्य नै छ।वर्तमान किशोर–किशोरीहरुले यो उपन्यास पढेर अवश्यक नै लाभ उठाउनेछन्।अन्त्यमा उनका अन्य राम्रा राम्रा सङ्ग्रह थपिदै जाओस् भन्न चाहन्छु।

संस्करणः पहिलो,२०६८ पुस
मूल्यः रु.१३५।–(एकसय पैतीस मात्र)
पृष्ठः १३९ मोबाइल नम्बर ९८४१७९७६६४
प्रकाशकः अक्सफोर्ड इन्टरनेशनल पब्लिकेसन प्रा.लि.,अनामनगर सामाखुसी साहित्य समाज
कृतिःफक्रँदो कोपिला (किशोर उपन्यास) ईमेल– – [email protected]

 

 

 

 

 

 

 

प्रतिक्रिया