प्रा.डा.विष्णुराज आत्रेय

अरुणबहादुर खत्री “नदी” २०७८ असोज २७ गते १०:५० मा प्रकाशित

 

 

प्रा.डा.विष्णुराज आत्रेय नेपाली साहित्यमा संस्कृत र अवधि भाषामा कलम चलाउने विद्वानका रुपमा चिनिनु हुन्छ।उहाँको साहित्यिक उपनाम लाटोसाथी हो। उहाँको जन्म वि.सं. १९९९ चैत्र ८ गतेका दिन नेपालको लुम्बिनी अञ्चल कपिलवस्तु जिल्ला रश्मिनिलय भन्ने ठाउँमा भएको हो।उहाँको बाबुको नाम देवराज उपाध्याय र आमाको नाम शारदादेवी उपाध्याय हो।उहाँको बुबा देवराज उपाध्याय र हजुरबुबा रश्मिराज अज्र्याल दुबै संंस्कृतका विद्वान हुनुहुन्थ्यो।नेपालका प्रसिद्ध विद्वान शक्तिवल्लभ अज्र्यालको कुलमा उहाँको जन्म भएको हो।लाटोसाथीले आफ्नो प्राथमिक शिक्षा आफ्नो बुबासंग तौलेश्वर संस्कृत पाठशाला कपिलवस्तुमा र हजुरबुबा रश्मिराज अज्र्यालको संरक्षणमा घरमै प्राप्त गर्नुभयो।पछि हरिहर संस्कृत विद्यापिठ खिदिम हाल नेपाल संस्कृत विश्वविद्यालयसँग आवद्धमा उहाँको औपचारिक शिक्षा प्रारम्भ भएको थियो।त्यसपछि उच्च अध्ययनका लागि वनारस जानुभयो।वनारस गएर वनारस हिन्दू विश्वविद्यालय वाराणसीबाट सांख्य पुराण इतिहासमा स्नातक गर्नुभयो।उहाँले वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट नव्य व्याकरणमा स्नातकोत्तरको अध्ययन पूरा गर्नुभयो।पछि उहाँले नेपालको त्रिभुवन विश्वविद्यालयबाट नेपाली र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभयो।उहाँले नव्य व्याकरणमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय,वाराणसी, भारतबाट विद्यावारिधि गर्नु भएको हो।

साहित्यकार आत्रेय नेपाल संस्कृत विश्वविद्यालयमा नव्य व्याकरण विभागको प्राध्यापकको रुपमा ४७ वर्षको सेवापछि सेवा निवृत्त हुनु भएको थियो।त्यसभन्दा पहिले उहाँ त्रिभुवन विश्वविद्यालयमा रिडर हुनुहुन्थ्यो।२०६४ सालदेखि उहाँ प्रज्ञा सभाका सदस्य पनि हुनुहुन्थ्यो।उहाँ २०४५ सालमा नेपाल टेलिभिजनबाट प्रसारित संस्कृत शिक्षा कार्यक्रम संस्कृतमका निर्माता र निर्देशक पनि हुनुहुन्थ्यो।संस्कृत भाषामा पाँच सात पाँच अक्षरको हाइकु लेख्न शुरु गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ।उहाँले आफूलाई २०२३ सालदेखि साहित्यिक क्षेत्रमा लाटोसाथी भनेर चिनाउनु भयो।उहाँ पुस्तक वा साहित्य लेखनी लेख्यपुस्तिका आफै मौन भए पनि तिनले व्यक्तिको रुपमा ज्ञान वा उर्जा थपेको विश्वास गर्नुहुन्थ्यो।यसैकारणले उहाँले लाटोसाथी उपनाम राखेर साहित्यिक रचनाहरु लेख्न थाल्नुभयो। डा.आत्रेय जीवनभर सामाजिक कार्यहरुमा पनि संलग्न हुनुहन्थ्यो।उहाँलाई बेला बेलामा मैले विभिन्न साहित्यिक कार्यक्रमहरुमा कहिले प्रज्ञा भवन कमलादीमा कहिले लेखनाथ साहित्य सदनमा कहिले रुसि सांस्कृतिक केन्द्र कमलपोखरीमा देख्ने गर्थे।कहिलेकाही पुतलीसडकमा हातमा छालाको ब्याग समाएर हिँडिरहनुभएको पनि देख्ने गर्दथे।

उहाँको जन्म धार्मिक परिवारमा भएकोले उहाँलाई धार्मिक गतिविधिहरुमा धेरै सक्रिय बनायो।उहाँको प्रारम्भिक शिक्षा बाल्यकालदेखिनै गुरुकुल परम्पराको अनुसरण गर्दै शुरु भएको थियो।नेपालको कपिलवस्तुमा भवानी भिक्षुको मूर्ति स्थापनामा पनि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।उहाँ विभिन्न साहित्यिक संस्थाहरुमा अध्यक्ष,संयोजक,सल्लाहकार,सदस्य पनि हुनुहुन्थ्यो।उहाँ आफ्नो छात्र जीवनमै लेखन,निर्देशन र नाटक अभिनय गर्नमा रुचि राख्नुहुन्थ्यो।उहाँको पहिलो कृति ढाक्रे खण्डकाव्य २०२४ सालमा प्रकाशित भएको थियो।आँशुमा प्रकाश नामक शोककाव्य २०६२ सालमा,नयाँ मेघदूत लोकलयमा खण्डकाव्य २०६२,श्री स्वस्थानी पौराणिक काव्य २०६४,दक्षिणकाली स्तोत्रम् कर्पूरस्तवमा आधारित २०६६,एक देवकोटा अनेक आयाम जीवनीपरक निबन्ध २०६६,मातृमहिमा खण्डकाव्य २०६६,पाणिनी उपन्यास २०७२,श्री गणेश चालिशा २०७४, वररुचि कात्यायन ऐतिहासिक उपन्यास २०७७ मा निस्केको थियो।त्यसपछि कवितासङ्ग्रह, उपन्यास,जीवनीपरक निवन्ध,संस्कृत महाकाव्य,हास्यव्यङ्ग्य निवन्ध,शोककाव्य लगायत विभिन्न विधाका सङ्ग्रहहरु करित्र साढे तीन दर्जन जति निस्के।प्रा.डा. आत्रेयले श्री सत्यनारायणकथामृतम् (संस्कृत पौराणिक काव्य २०६२) प्रा.हरिश्चन्द्र न्यौपाने स्मृतिग्रन्थ २०६६ र मदन पुरस्कार बिजेता जगदिश घिमिरे २०७७ मा सम्पादन गर्नु भयो।उहाँले असल वन (स्वामी रामसुखदासको अच्छे बनोको नेपाली अनुवाद २०७४ सालमा गर्नु भएको थियो।

प्रा.डा.आत्रेयले महेन्द्र विद्याभूषण ख नारायणहिटी शाही दरबार काठमाडौं नेपालबाट महेन्द्र विद्याभूषण क नारायणहिटी शाही दरबार काठमाडौंबाट,सम्मान महाकवि देवकोटा जयन्ती ललितपुर नेपालबाट,गद्दी आरोहण रजत महोत्सव पदक नारायणहिटी शाही दरबार काठमाडौंबाट,भवानी भिक्षु पुरस्कार,महाकवि कालिदास पुरस्कार,भारती खरेल पुरस्कार,जगताचार्य चन्द्र स्वामी पुरस्कार लगायत विभिन्न संघसंस्थाहरुबाट पदक, मानसम्मान र पुरस्कार पनि पाउनु भएको थियो।

उहाँले दीर्घ सेवा पदक महेन्द्र संस्कृत विश्वविद्यालय दाङबाट पनि पाउनु भएको थियो।एकपटक उहाँलाई मैले लेखनाथ साहित्य सदन कार्यक्रममा भेट हुंदा एउटा लघुकथा र पासपोर्ट साइजको फोटो पनि उहाँले निकाल्नु भएको पत्रिकामा प्रकाशित गर्न भनेर दिएको थिएँ।उहाँलाई मैले जहाँ भेटे पनि हाफ स्टकोट र ढाकाटोपी लगाउनु भएको देख्थे।

२०३१ साल असार महिनामा लुम्बिनी अञ्चल अर्घाखाँची जिल्लाकी गुणेश्वरी आचार्यसँग विवाह बन्धनमा बाँधिएपछि उहाँका तीन छोरा र दुई छोरी जन्मिए। २०७६ को भाद्रमा उहाँलाई पित्ताशयको क्यान्सर भएको थाहा भयो।उहाँको राजीव गान्धी क्यान्सर संस्थान र अनुसन्धान केन्द्र दिल्ली भारतमा पाँच महिना उपचार गरिएको थियो।दिल्लीबाट फर्किएपछि नेपालको पाटन अस्पतालमा उपचार भइरहदा २०७७ साल श्रावण २ गतेका दिन राती आफ्नै निवासमा उहाँ परलोक हुनुभयो।

अरुणबहादुर खत्री “नदी”

सामाखुसी मार्ग, सरकारी धारा,काठमाडौं
फोन नं.४३५३५९४

Email address:[email protected]

 

 

 

 

 

 

प्रतिक्रिया