अनेसासद्वारा रचना वाचन र दसैँ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७८ असोज २६ गते १३:४२ मा प्रकाशित

समाचारदाता । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) नेपालीहरुको महान पर्व दसैँको अवसरमा पनि सक्रिय रहेको छ । विश्वभरि छरिएर रहेका नेपालीहरुलाई दसैँको नियास्रो नलागोस् र सिर्जनात्मक कार्यक्रम निरन्तर चलिरहोस् भन्ने अपेक्षाका साथ चाडबाडका बेला पनि उक्त संस्था सक्रिय रहेको जनाइएको छ ।

यही सक्रियताको पछिल्लो उदाहरण बनेको छ, दसैँको शुभकामना आदान प्रदान र रचना वाचन कार्यक्रम । कार्यक्रमममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आबद्ध विभिन्न च्याप्टरहरुका दर्जनौँ स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दसैँको शुभकामना आदान प्रदान र साहित्यिक चिन्तनमाथि बहस भएको थियो । रचना वाचन र संस्थाले गर्नुपर्ने कार्यक्रमहरुको चर्चा भएको थियो । केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ट्रस्टी अध्यक्ष गीता खत्री, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, ट्रष्टी सल्लाहकार खगेन्द्रप्रसाद लुईटेल र रोहीणी शर्मा, पूर्व अध्यक्ष मोहन सिटौला, समीक्षक महेश पौडेल, ट्रस्टी उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदीले कार्यक्रममा मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई संस्थाका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र महासचिव सर्वज्ञ वाग्लेले संयुक्तरुपमा सञ्चालन गरेका थिए ।

संसारभरि छरिएर रहेका नेपाली भाषा र साहित्य प्रेमीहरुको यो संस्थाका २ हजारभन्दा बढी आजीवन सदस्यहरु र करिव ५ दर्जन शाखा रहेको छ । काठमाडौँमा सम्पर्क कार्यालय रहेको यो संस्थाले अमेरिकामा आफ्नै भवन बनाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया