फ्ल्यासब्याकमा जिन्दगी (किशोर उपन्यास)

अरुणबहादुर खत्री “नदी” २०७८ असोज २५ गते १०:२० मा प्रकाशित

विभिन्न विधामा निरन्तर कलम चलाउदै आएकी नारी साहित्यकार लक्ष्मी उप्रेतीद्वारा लेखिएको फ्ल्यासब्याकमा जिन्दगी नामक किशोर उपन्यास २०६९ सालमा पहिलोपटक निस्किएको छ।यस कृतिभन्दा अगाडि उनको कथासङ्ग्रह एउटा, कविता सङ्ग्रह पाँचवटा,जीवनी सङ्ग्रह÷समालोचना÷खोज तीनवटा निस्केको थियो ।यस उपन्यासमा किशोर युवाहरुको जीवनलाई विषयवस्तु बनाइएको छ र एक्काइसवटा भागमा विभाजन गरिएको छ।लक्ष्मी उप्रेती नेपाली साहित्य क्षेत्रको चिरपरिचित नाम हो।नेपाली वाङ्मयका क्षेत्रमा बालसाहित्य,कथा,कविता,निबन्ध आदि विविध विधामा सचेततापूर्वक कलम चलाउदै आएकी लक्ष्मी उप्रेती नेपालमा किशोर साहित्यको अभावका कारण सचेत हुनुहुन्छ।आफू हिँडेको धारबाट आफूलाई एउटा फरक धारमा उभ्याउनु उनले सिर्जना यात्रामा व्यतीत गरेको त्याग,तपस्या,समर्पण र समयको प्रतिफल हो।घर मानिसको पहिलो पाठशाला हो बाबुआमा पहिला गुरु,गुरुआमा।आफ्नो सन्तानप्रतिको सचेत प्रत्येक अभिभावकको दायित्व हो।आफ्नो दायित्वप्रति सबै उत्तरदायी बनिनुपर्छ भन्ने सन्देश यस उपन्यासले बोकेको छ।एउटा अभिभावक सचेत भएन भने के हुन्छ ? त्यसको दुःखद परिणामका मर्माहत चित्रण उपन्यासमा गरिएको छ।बालकहरु मुछिएका काँचो र गिलो माटो हुनु उनीहरुलाई जे पनि बनाउन सकिन्छ भन्ने कुरा उपन्यासले दर्साएको छ।घरपरिवारबाट होस् वा शैक्षिक क्षेत्रबाट होस् अथवा साहित्यिक क्षेत्रबाट नै किन नहोस् किशोर–किशोरी र तिनका अभिभावकहरुको स्थितिलाई निक्र्यौल गर्दै सोही अनुसारको उपाय खोज्ने र सोच्ने पनि समय आएको छ।केही कुराको आवश्यकता महसुस गरी करिब दुई वर्ष पहिले इ.लाइब्रेरी भन्ने संस्थाले बीस–पच्चीसजना साहित्यकारहरुलाई भेला गरी दुई दिनको छलफल कार्यक्रमको आयोजना गर्यो।छलफलपछि सहभागी साहित्यकारहरुलाई एक एक वटा किशोर साहित्यका कृति तयार गर्ने भनेर जिम्मेवारी सुम्पियो।त्यसपछि पनि निकै समयसम्म बारम्बार सम्पर्क गरिरहयो फ्ल्यासब्याकमा जिन्दगी नामक किशोरका लागि भनेर लेखिएको औपन्यासिक कृति लक्ष्मी उप्रेतीको त्यसैको प्रतिफल हो।सधै साथी जस्तै बनेर मसँग घुलमिल गर्न रमाउने किशोरावस्थाकी मेरी नातिनी कोमल पोखरेल र नाती कुशल पोखरेलको साथले किशोरावस्थाको भावना, स्वभाव र क्रियाकलापलाई सहजै आत्मसात गर्न सकेकाले यो कृति तयार गर्न सक्षम भए लक्ष्मी उप्रेती भन्दछिन्।विविध अनुहार,विविध स्वभाव र विविध जातका इन्द्रेनी अनुहारको समायोजन भएको एउटा सुन्दर र रमणीय फूलबारीजस्तो लाग्छ यो छात्रावास भाग दुईमा भनिएको छ।

किशोर जीवनको प्रारम्भ विन्दु हो।यस समूहलाई लक्षित गरेर लेखिएको यो कृति पढ्न पट्यार लाग्दैन।एस.एल.सी.दिन ठिक्क परेका युवायुवतीको चरित्र चित्रण छ ।बढ्दो उमेरको प्रभावमा आउने उतार चढावको अध्ययन छ।पूर्वका केही स्कुल र छात्रछात्राभित्र पसी त्यहाँको सूक्ष्म चित्र पनि नछाड्नु लेखनिय खुबी हो।लेखिका कतै आमा बनेर छोरीको लागि त्याग गरेकी छन्,कतै बाबु बनेर लापर्वाह र व्यस्त बनेकी छन्,कतै आदर्श गुरु बनेर सतमार्गमा बढ्न उत्प्रेरणा दिएकी छन् तर कतै असल छात्रछात्राको अनुभूति पनि पानाभरि पोखिएकी छन्।यो उपन्यास तेह्र वर्षदेखि उन्नाइस वर्षसम्मलाई लक्षित गरिएको छ।सलिनी नामको पात्रले उनको फुपूको छोरा दुई वर्ष कान्छो भाइको सन्दर्भमा अतीततर्फ फर्केको पाइन्छ।

फ्ल्यासब्याकमा जिन्दगी त्यही यथार्थ भोगाई हो हिजो काँढाले घोचेर बनाएको घाउको चक्काइ हो।यो चक्काइले आजको सत्मार्गतर्फ उन्मुख हुन उत्प्रेरित गर्छ ।अतीतका भोगाइलाई फर्केर हेर्दा जुन जुन कथा र व्यथा लेखिए ती विषयमा समाज सचेत भई भविष्यतर्फ उन्मुख हुनुपर्ने भन्ने लेखिकाको ध्येय र उद्देश्य हो। यसमा कसैको पनि विमति नहोला।अतीतका ती सपनाहरु साँचेर एकै स्कुलमा पढ्ने साथीहरुको वर्तमान भत्किएकोमा धेरै पात्रपात्रा रोएका छन् । सम्वेदनाको चिसोले मुटु छुन्छ पाठकलाई र पात्रपात्रालाई यो उपन्यास पढ्दा हाम्रै कथा भन्न मिल्छ।

मोबाइल र इन्टरनेट सही कामका लागि भन्दा यिनीहरुका लागि आफ्नो गलत सूचना प्रवाह गर्ने माध्यमका रुपमा प्रयोग हुन थाल्यो यसले गर्दा पनि यिनीहरुको समूह भेट नभए पनि सङ्गठित हुने नै भए।जसले गर्दा बुबाआमाको कुरालाई मतलब नराख्ने,महत्व नदिने बानी उनीहरुको भयो भाग सातमा लेखिएको छ।भाग दशमा पैसा कमाउने नसामा छोरीको यस्तो गम्भीर र संवेदनशील कुरा गर्दा पनि सुषमाका बुबा सरसल्लाह गर्न समेत नआउनुमा एउटा अभिभावकको गैरजिम्मेवारीपन रहेको महसुस सरहरुले गर्नुभयो भनिएको छ।यस उपन्यासको एघार भागमा भोलिका देशका कर्णधार भनिने आजका किशोर किशोरीहरुको यस्तो अवस्था ल्याउने जिम्मेवार पक्षमा राजनीतिकर्मीका साथमा सरकारको पनि हात रहेकाले उनीहरु पनि उत्तिकै दोषी छन्।दुई वर्ष अगाडि मधेसमा भएको मधेसी आन्दोलनको प्रभाव एस.एल.सी.परीक्षा दिने विद्यार्थीहरुमाथि परेको थियो। देशको राजनीतिक अस्थिरताका कारण बन्द,हड्ताल,चक्काजाम कुनबेला हुन्छ कसैलाई थाहा हुँदैन त्यसबेला यस्तो स्थिति आएको भए एस.एल.सी.दिने विद्यार्थीहरु कति प्रभावित हुन्थे कुनै एक ठाउँमा एउटा कारणले गतिरोध भयो भने त्यसको प्रभाव सबै ठाउँमा परेर त्यही समस्याले सबैलाई पिरोल्थ्यो भनिएको छ।

विशेषत किशोरहरुलाई समर्पित गरेर लेखिएको हुंदा र उपन्यासका घटनाहरु किशोरिक सेरोफेरोमा केन्द्रित रहेका छन्।किशोरहरु मात्र नभएर उपन्यास पढ्दा अन्य पाठकहरुलाई पनि उपन्यासका घटना,संवाद र दृष्यले आफ्नो अतीत सम्झाउँछ।एकाएक सबै आफ्नो जीवनको किशोर अवस्थाको फ्ल्यासब्याकमा पुग्छन् ।लामो समयदेखि साहित्यिक पत्रिका बनिताको सम्पादन कथाकारिता, कविता, समालोचना आदि विधाबाट यस उपन्यास निकाल्न सक्दा उनको साधना परिष्कृत र पारिमार्जित भएको मान्नुपर्छ।यो उपन्यास नेपालको पूर्वी भेग दमक,विराटनगर हुदै काठमाडौंमा आएर टुङ्गिएको छ।यस उपन्यासभित्र थुप्रै सामाजिक,आर्थिक र राजनीतिले पारेका प्रभावको प्रष्ट चित्र देखिन्छ।किशोर युवा साहित्यका विधामध्ये आख्यान नै विशेष लोकप्रिय रहेको पाइन्छ।यही विधामा धेरै कृति लेखिने र प्रकाशित हुने गर्छन्।किशोर युवा साहित्यलेखन गर्दा किशोर पात्रलाई नै कथक बनाउनुपर्छ र उसैका दृष्टिविन्दुबाट कथावस्तु प्रस्तुत गर्नुपर्छ।किशोर युवा आख्यानका आधारभूत तत्वमा कथानक, पात्र, परिवेश र शैली पर्दछन्।यिनै तत्वको समुचित प्रयोग गरेर उत्कृष्ट आख्यान सिर्जना गर्न सकिन्छ।किशोर युवा आख्यानले मूलतःकिशोर युवाहरुको भावनालाई विशेष महत्व दिई त्यसलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्नु पर्दछ।यसैको सेरोफेरोमा आख्यानकार लक्ष्मी उप्रेतीले कलम चलाउन थालेकी छिन्।

एक दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी साहित्य साधक लक्ष्मी उप्रेतीले लेखेको यो उपन्यास किशोर किशोरीका लागि सुहाउँदो पढ्न योग्य नै छ ।वर्तमान किशोर–किशोरीहरुले यो उपन्यास पढेर अवश्यक नै लाभ उठाउनेछन्। अन्त्यमा उनका अन्य राम्रा राम्रा सङ्ग्रह थपिदै जाओस् भन्न चाहन्छु।

संस्करणः पहिलो,२०६९
मूल्यः रु.१७०।– (एकसय सत्तरी मात्र)
पृष्ठः १६० मोबाइल नम्बर ९८४१७९७६६४
प्रकाशकः ऐरावती प्रकाशन प्रा.लि., काठमाडौं सामाखुसी साहित्य समाज
कृतिःफ्ल्यासब्याकमा जिन्दगी(किशोर उपन्यास) ईमेल– arunkhatri2024@gmailcom

 

 

प्रतिक्रिया