खै के दसैँ ?

शशी खड्‍का बूढानिलकण्‍ठ काठमाडौँ । २०७८ असोज २३ गते १३:४२ मा प्रकाशित

चाँदनी रातमा वरिपरि झुम्‍मिएर चम्किने ताराहरूले पनि
खिन्‍नता प्रकट गरिरहेको जस्तो महसुस भएको छ मलाई
शारदीय गगन पनि घुरमैलो घुर्मैलो भएजस्तो लाग्छ मलाई
सिरसिर चिसो हावाले मुटुभित्र चस्सचस्स घोपेझैँ लाग्छ मलाई॥१॥

धानका सुनौला बाला खिस्रिक्‍क परी बाध्‍यतामा झुलेको देख्‍छु म
रोप्दा एउटाको थियो झुल्दा त पराईको अधिनमा झुलेको देख्छु म
बारीको कोदो र डिलको सिलाम झरिलो भरिलो रसिलो देख्दिनँ म
रातारात सीमा स्तम्भ सरेछ वर फेरि बारी पारी पुगेको देख्छु म॥२॥

खै के दसैँ आयो भनेर रमाऊँ म छातीमा बुट बजारिन्छन् छिमेकीका
एउटा आउँछ बन्दुक तेर्स्याउँछ लात मुक्‍का हान्‍नेको दोहोरी चल्दछ
तुइन काटिदिएर खसाली जनता मारिन्‍छ कर्णालीमा जाँचिन्छ हुम्लामा
सीमा मिचिन्छ जनता थिचिन्‍छ दक्षिणमा जाँच्ने टोली पठाइन्छ उत्तरमा॥३॥

यस्तै देखेर पो हो कि कुन्‍नि सयपत्रीले आफ्नो सुन्दरता छर्न मानेन
मखमलीले पनि ढकमक्‍क फुली शरद सिँगार्न पटक्‍कै जाँगर गरेन
कमेरो र रातो माटोको रङ्‍ग फिका फिका भएर फुङ्ग उडेको छ
पँधेर्नीले पँधेरोमा गर्ने कुराकानीमा आँसु र रोदन मिसिएको छ॥४॥

महङ्‍गीले दोब्रिन बाध्‍य भएका गरिबका पेट अझै मुजा परेका छन्
कसैका पित्ले भुँडी उप्सिएर झनै पित्तलझैँ टलटल टल्किएका छन्
कृषि क्रान्ति भएको छ देशमा आजभोलि कौसीले अनुदान पाउँछ
बबुरो गरिब त्यो बजारको अभावमा तरकारी खेतीमा हलो लाउँछ॥५॥

खै के दसैँ आयो भनूँ बृद्धबृद्धा आश्रममा कसैको सहयोगको प्रतिक्षामा छन्
बालअधिकार पानामा पाएका अनाथहरू पेटभरि खाना दिनेको खोजिमा छन्
कोरोनाले थलिएका गरिबले दसहज्जारका आश्‍वासन मात्र पाएर रमाएका छन्
गरिबका नामको त्यो राहत त महलमा बस्ने दरिद्र,गरिबले पाएका छन्॥६॥

खै के दसैँ आयो भनी फुरूङ्‍ग परूँ म पहिरोले घर र जहान नै बगायो
बाढीपीडितको जाँचबुझ गरी प्रतिवेदन दिन सरकारले ठुलै समिति बनायो
सबै आफ्नै छोरा,बुहारी,सम्धी,साली,जेठान थिए त्यसमा भत्ता सबै पचाए
गरिब ती पीडितलाई सधैँ हात्ती आयो हात्ती आयो फुस्सा भनेझैँ बनाए॥७॥

शशी खड्‍का
बूढानिलकण्‍ठ काठमाडौँ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया