“तेरा कुखुराले भर्खर लगाएको काउलीका बेर्ना सत्यनास पारे।सम्हालेर राख्न नसक्ने भए किन पाल्नु ? अर्काको राम्रो देखि नसहने डाहाडे आइमाई।” –देउरानी कोपीलालाई झपारीन सविताले।
“तिम्रा जेमराजले अस्ती मेरो बारीका सिमी भुतुक्कै पारेको बिर्सेऊ ? के मैले जानीजानी कुखुरा लगाइदिएको हो र तिम्रा काउलीमा ? आफ्नो आङको हात्ति नदेख्ने,अर्काको आङको जुम्रा पनि देख्ने।कति हैरान पारेको हो मलाई ?” –कोपीलाले पनि ठाड्ठाडै जवाफ फर्काइन्।
साँझ दुबै देउरानी जेठानीले आ-आफ्ना पति सँग के के कुरा लगाए,दाजु भाइको पनि झगडा पर्यो।छोराछोरीहरु पनि वल्लो घर,पल्लो घरबाट तथानाम गाली गर्दै झगडामा नारीए।
दुई दाजुभाइको परिवार झगडामा उत्रेको देखेर अर्को भाइ निलकण्ठ आएर झगडा साम्य पार्न खोज्यो।
“तैंले पनि सम्झाउन पर्दैन भो।कहिले यता साख्खे,कहिले उता साख्खे।तेरो व्यवहार पनि थाहा छ।” झगडा मिलाउन गएको निलकण्ठलाई पनि दुबै भाइले वचन लगाए।
“मर्दापर्दा, दुःख विमार हुँदा,विहेवारी आदि कार्यमा सघाउ हुन्छ।छुट्टिएर टाढा बस्ने हैन।एकै ठाउँ बस्ने,एकता कायम राख्ने।भाइ एकता भए कसैले हेप्दैन।भाइ फूटे,गवार लुटे भन्ने उखान त्यसै बनेको हैन ?” –बाआमाको यही भनाइमा सहमत भएर ठूलो पाटामा सबैले लस्करै घर बनाइ बसेका थिए।
तर आज बाआमाको मृत्यु पछि भाइभाइमा रडाको मच्चिएको छ।दुःख विमारमा सघाउपगाऊ त के ? बोलि बाराबार भएको छ।छोराछोरीहरु पनि स-सानो कुरामा हात हालाहालमै उत्रन्छन्।वेँशी खेतमा कुलोको निहुँले परार साल कोदालोले हानाहान गरेर दाजुभाइ झण्डै मरेका ! भाइ एकताको के कुरा गर्नु ? बाआमाको श्राद्ध समेत अलग अलग गर्न थाले।पराइसँगको व्यवहार बरु राम्रो तर आफ्नै दाजुभाइ बिच बेमेल।
“यो पारिवारिक कुसंस्कारको छाप आफ्ना सन्ततीमा नपरोस्।कमसेकम सन्ततीले त राम्रो सामाजिक संस्कार सिकुन्।” यही विचारले निलकण्ठ यी दाजुभाइसँग कहिले नभेट्ने गरि सुदुर क्षेत्र बसाइँ सर्ने निर्णय गरे र मुटुमा गाँठो पारी पितृभूमिबाट विदा भए।
-मित्र उराठी गौतम
अमरपुर- गुल्मी हालः बुटवल
प्रतिक्रिया