कविता:समय माटो र माया

सुशील नेपाल २०७८ असोज २० गते २:०० मा प्रकाशित

आज धेरै निस्किए मेरो माटो प्रतिको
स्नेह माथि प्रश्न गर्ने ?
ति को हुन मलाइ सोध्ने,?
भन्ने कुरा धेरै छन्
गला अवरूद्ध हुन्छ,
म समय हुं !

जतन गरेर,सम्हालेर राखेको
मेरो देशको स्मिताको चीरहरण गर्नेहरू
आज राता पीरा भएर
सिंहदवारमा नग्न अवस्थामा
रंगेहात भेट्टिए,
सब का सब,
म यो उ भनेर कसैलाई चोख्याउन्न,
म समय हुं,
हिसाव माग्छु !

आजको म,हिजोको म होईन,
थुप्रै रहरहरू पोको पारेर,
एउटा कुनामा थन्कन बाध्य भएँ
घन्टा,मीनेट र सेकेण्ड बिच-
फ्रेममा फिट नभएको ख़ुइलिएको तस्वीरको
एउटा टुक्रा वनेको छु,
घमिलो भएको छु,
म समय हुं !

मलाई,इतिहांसले
फ्याँकेको पुस्तकका पानामा,
देश लुटने दैत्य हरूले कैद गरेर,
अकर्मणयता दुरूह आलमारी भित्र
भोटे ताल्चा कसेर राखेका छन्
कैदमा परेको निअपराध कैदी म
लाचारीको फलामे डणडीबाट –
हात वाहिर निकालेर गुहार माग्दै छु,
म समय हुं,!

अवसर र उत्साहका चरीले
पखेटा फरफराउन नपाउंदै,
लोभ र वासनाको गुलेलीले,
ताकी तानी हाने तिन्ले
सम्भावनाको चरीलाई,
पापी,पातकी र लुतेहरूले,
पर्ख ढीलो चाड़ो मेरो पालो आउंछ,
म समय हुँ !

सुन्दछु,हिमालमा कन्दराहरू
सुसाएर उत्साहों गीत गाउन छाडे रे,

कसैले आत्महत्या गर्छु भनेको,
कसैले हावादारी घुर्कि र दन्तकथाको,
उराठलाग्दो पाठहरू फलाकेको
कसैको वगेडीको वलमा
उफ्रेको यौवन देखेर,
खम्वामा नग्रा घसेर,
थुक्क थुक्क गर्दै छु ।
म समय हुँ,!

संकल्प र अठोटको पानाहरूमा
वुधनले चटपटे वेच्दै होला,
चाक्सीवारीमा-
रात परे पछि चन्द्रशेखर डाँको छाडेर रून्छन् रे,
चित्र त मान्छेको कोरेको थिए
कसरी यो सिंड्ग र पुच्छर र नग्रा तिखारेको भयलाग्दो
दानव बन्यो ?
खेलको सारा नियम मिच्ने को हो ?
कस्ले आत्मघाती गोल गरेर देश हाऱ्यो ?
को संग छ यस्को जवाब,?
म आजको नेपाल,
हिजोको नेपाल होईन !
म समय हु,
मलाइ विकल्प होईन,
संकल्प चाहियो,
टुटे फुटेको निचोरेको होइन,
जस्ता को त्यस्तै,
सबल देश चाहियो ।

१०/५/२१

राजमित्र प्रांगण,
माल्डेन,बोस्टन,अमेरीका

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया