शनिबार, कार्तिक ६ २०७८
काठमाडौं ०२:५१
वासिङटन डिसी 17:06

१० औ गोर्खाज दशैँ कप भकुण्डो प्रतियोगिताको दर्ता बन्द ,कूल ३५ खेल टोली सहभागी हुने

अमेरिकाको नेपाली समुदायमा कूल १९ हजार डलरको सर्वाधिक ठूलो राशीको भकुण्डो प्रतियोगिता

विजय थापा २०७८ असोज १६ गते १:४२ मा प्रकाशित

डिसी । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने १० औ गोर्खाज दशैं कप भकुण्डो (सकर)प्रतियोगिताको लागि दर्ता प्रक्रिया बन्द गरिएको छ ।

अमेरिकाका विभिन्न राज्यहरुबाट थुप्रै खेल टोलीहरु सहभागी हुने भएका छन् भने नियमित खेल तर्फ २४ खेल टोलीले नाम दर्ता गराई सकेकोले बन्द मिति भन्दा २ दिन अगाडी नै दर्ता बन्द गर्नु परेको संयोजक बिनोद बिष्टले ईनेप्लिजलाई बताए ।

बिष्टका अनुसार दर्ता मिति अगावै नियमित तर्फ २४ खेल टोली,३५ बर्ष माथिको खेलमा ११ खेल टोली सहित कूल ३५ खेल टोलीले सहभागी जनाउने भएका छन् । यसको साथै बच्चाहरुको खेलमा ५ वटा टोलीहरुले सहभागिता जनाउने भएका छन् ।

भकुण्डो प्रतियोगिता आगामी अक्टोबर ९ -१० दुई दिन हुने भएको छ । ड्यालस गोर्खाज फुटबल (भकुण्डो )टोलीका संयोजक तथा खेलाडी बिनोद बिष्टले हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्ने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत बिनोद खरेललाई यस बर्ष पनि सम्मान गरिने बताए ।

बिगतमा नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त थापा ,उमेश प्रधान ,प्रशान्त गिरी ,देव नारायण चौधरी ,सुनिल तुलाधरलाई सम्मान गरि सकिएको छ । १० औ गोर्खाज दशैं कप भकुण्डो प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम(भकुण्डो टोली) रहेको छ । हरेक बर्ष नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडी आयोजना गरिन्छ ।

बिजयी हुने भकुण्डो टोली समूहलाई नगद तथा पुरस्कार समेत गरेर कुल १० हजार डलर तथा उपविजेतालाई ३ हजार डलरको व्यवस्था गरिएको छ ।

३५ बर्ष भन्दा माथि उमेरको टोलि बिजेताले ५ हजार डलर र उप बिजेताले १ हजार डलर प्राप्त गर्ने छन् ।

अमेरिकामा नेपाली समुदायले आयोजना गराउने भकुण्डो प्रतियोगितामा कूल १९ हजार डलरको नगद पुरस्कार भएको यो सबै भन्दा ठूलो राशीको प्रतियोगिता हो ।

प्रतिक्रिया