मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०८:१५
वासिङटन डिसी 22:30

न्याक परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७८ असोज १० गते १:५७ मा प्रकाशित

वाशिंगटन डिसी। नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक) को प्रांगण भर्जिनिया मनाससमा आज न्याकका पदाधिकारीहरु, सदस्यहरु र अन्य स्वयंसेवकहरूको सहभागितामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

दुई वर्षअगाडि नेपालीहरूको संयुक्त प्रयासमा महापुराण लगाएर १७ लाख डलरको लगानीमा सामुदायिक भवन खरिद गरिएको थियो ।

न्याक भवनको अगाडि बल्सफोर्ड रोडको किनारमा शनिबारनै ६० वटा धुपीसल्लाका बृक्षहरु रोपिएको छ । यी विरुवा खरिदको लागि समुदायका सदस्यहरुले आफ्ना मातापिताको नाममा रकम दान गर्नु भएको थियो ।

पुनःनिर्माणको कार्य सम्पन्न नभइसकेको हुँदा उक्त सामुदायिक भवन सञ्चालनमा आउन सकिरहेको छैन । अवदेखि न्याकद्वारा आयोजना गरिने जुनसुकै कार्यक्रमहरु स्थानीय सामुदायिक भवन हातामै गरिने जानकारी न्याक अध्यक्ष डाक्टर मदन उप्रेतीले दिनुभएको छ ।

आजको सरसफाई कार्यक्रममा करिब सय जनाजति स्थानीय स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।

यस अवसरमा न्याकका अध्यक्ष, उपाध्यक्ष, बोर्ड अफ ट्रष्टीका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीहरुको पनि सहभागिता थियो । साथै एनआरएन केन्द्र, भर्जिनियाका र स्थानीय संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

भवनको हातामा ओरिपरि छरिएर रहेका पुराना कुंडाकर्कट, रुखपात, फोहोरमैला सबै भेला पारी ट्रिपर ट्रकमा हालेर नजिकै रहेको डम्पिङसाइट सम्म पुर्याउने काम गरिएको थियो ।

यसैबीच आइतबार ४ बजे न्याक हातामा नेपाली अमेरिकन सामुदायिक केन्द्र र तराईवासी नेपालीहरूको संस्था एन्टाको संयुक्त प्रयासमा नेपालको तराईमा मनाइने जितिया पर्व मनाइने भएको छ ।

डिसी मेट्रो क्षेत्रमा दुई हजारभन्दा बढी सदस्यहरु रहेको न्याकले हाल कस्ता गतिविधिहरु गरिरहेको छ र कस्ता भावि कार्यक्रमहरु ल्याइरहेको छ भनेर बुझ्न र आफ्नो सुझाव राख्न सेप्टेम्बर २६ तारिक आइतबार वेलुका ७.०० बजे इनेप्लिज, डिसी मेट्रो सप्ताह र नेपाली अमेरिकन सामुदायिक केन्द्र को फेसबुक पेजमा जोडिन न्याकका सदस्यहरु र समस्त समुदायलाई हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया