मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०७:५६
वासिङटन डिसी 22:11

‘स्यानी’ उपन्यासको नालीबेली नियल्दा

नरहरि बराल,क्यालिफोर्निया -संयुक्त राज्य अमेरिका २०७८ असोज ९ गते ११:५९ मा प्रकाशित


शैक्षिक र प्रशासनिक क्षेत्रमा सुपरिचित खगराज बराल एक सिद्धहस्त लेखकका रूपमा उदीयमान व्यक्तित्व हो।लेखक बरालले शिक्षाको सिद्धान्त,नीति,योजना, कार्यान्वयन जस्ता विविध पक्षमा झण्डै एक दर्जन पुस्तक लेख्नुका साथै बाल साहित्य र गीतका क्रमशः दुई र चारओटा कृति प्रकाशन गरिसकेका छन्।

वि.सं.२०४४ सालदेखि नै लेखन यात्रा सुरु गरेका बरालले साहित्यमा श्रमिक बरालका नामबाट कविता,कथा,समालोचनालयायत दर्जनौं रचना सिर्जना गरेका छन्।शिक्षा क्षेत्रका महत्त्वपूर्ण विषयमा गहिरो अध्ययन र अनुभव भएका बरालले हरेक विषयको रौंचिरा अध्ययन तथा विश्लेषणसहित शैक्षिक गुणस्तर, मापदण्ड र समाजोपयोगी मार्गदर्शन गर्न सफल सर्जकका रूपमा आफूलाई स्थापित गरिसकेका छन्।

साहित्यमा श्रमिक बरालको नामबाट स्थापित खगराज बरालले यस पटक आफ्नै जन्मदिने आमा ‘स्यानी’ को नामबाट उपन्यास लिएर पाठक सामु आएका छन्। ‘स्यानी’ लेखककी आमाको बाल्यकालमा माइती मावलीतिरबाट राखिदिएको नाम थियो।लेखककी आमालाई माइती मावलीमा अत्यन्त प्यार र स्नेहका साथ राखिदिएको नाम थियो ‘स्यानी’।साहित्यिक रचनामा प्रायः श्रमिक बरालको नामबाट लेख्ने बरालले आमाको माइती र मावलीतिरको नाम ‘स्यानी’ लाई नै उपन्यासको शीर्षक राखी आफ्नै वास्तविक नाम खगराज बरालबाटे यो उपन्यास सिर्जना गरेका छन्।‘स्यानी’ उपन्यास पारिवारिक, सामाजिक र आञ्चालिक उपन्यास हो।यो उपन्यास पोखरा महानगरपालिकाको वडा नं.२२ को ठूलिविणी र सो वरिपरिको भूभाग तथा स्याङ्ग्जा जिल्लाको फेदीखोला गाउँपालिकाको चनौटे र बाँहेटारीको पेरिफेरिमा घुमेको छ।यस उपन्यासमा खेतीपाती र दैनिक जनजीवनलाई आधा मानी सीमित भूगोल, सीमित पात्रहरूलाई समेटेर लेखिएको छ।

यो उपन्यास पढ्दा हरेक पाठकलाई आफ्नो आमाको उपस्थितिको झल्को दिन्छ । हरेक पाठकलाई आमाले सन्तानलाई गर्ने व्यवहार धेरै हदसम्म मिलेको अनुभूति हुने गर्छ । यस उपन्यास पढ्दा मलाई पनि त्यस्तै अनुभूति भयो।म र यस उपन्यासका लेखक एकै स्थानका भएर पनि होला, लेखकसँग मेरो उमेरको अन्तर दश बाह्र वर्ष अन्तराल हुँदा पनि मैले गाउँमा अनुभव गरेका र भोगका भोगाइहरू मिल्दाजुल्दा छन्।लेखक र मेरो उमेर र बाल्यकालको जीवनको समय फरक भए पनि ग्राणीण जनजीवन,खेतीपातीको पद्धति, चाडपर्व मनाउने तरिका, गाउँले जीवनको दुःख जस्ता विषयका पनि खासै परिर्वतन भएको पाइनँ।हुनतः हरेक व्यक्तिको आमासँगको अनुभूति सार्वकालीन नै हुन्छन् होला । समयको अन्तरालले आमा र सन्तानको माया ममता र स्नेहमा ह्रास आउँदैन होला।

यो उपन्यास आत्मकथामा आधारित जस्तो लाग्छ तर यो सामाजिक तथा सांस्कृतिक परिवेशमा लेखकले म पात्रको सिर्जना गरी तयार गरेका हुन्।वास्तवमा भन्नु पर्दा यो शोक उपन्यास नै हो।शोक महाकाव्य, खण्डकाव्य, कथा जस्तै यो शोक उपन्यास जस्तो देखिन्छ।उपन्या कारुणिकताले भरिएको छ।संस्कार, आचरण,गाउँले परिवेश र व्यवहारलाई समेट्दै उपन्यासले निर्दिष्ट जीवनोपयोगी शिक्षा प्रदान गरेको छ।त्यति मात्र होइन, उपन्यासले परम्परागत रूपमा चलेका संस्कृतिहरू दशैं, तिहार,सङक्रान्ति, लुतो फाल्ने, नाग पञ्चमी, तीज लगायत सबै पर्वहरू कसरी मनाइन्थ्यो, तिनको ऐतिहासिक महत्त्व र गाउँले जीवनको परिवेशलाई राम्रोसँग अथ्र्याएर भावी पुस्तालाई पठनीय सङ्ग्रह बनाई समाजलाई ठूलो गुन लगाएको छ।गाउँले परिवेशबाट बसाइँसराई र संस्कृतिमा आएका विकृतिका कारण हाम्रो धर्म संस्कृति नै भुल्न लागेको वर्तमान पिढीलाई यस उपन्यासले पुनर्ताजगी गराएको छ । भावी पुस्तालाई पूवर्ज र अग्रजहरूले मनाउने संस्कृति, चाडपर्व र रीतिरिवाज तथा पुर्खाको ग्रामीण जीवन पद्धतिको जानकारी दिने ऐतिहासिक दस्तावेजका रूपमा ‘स्यानी’ उपन्यास दर्ज भएको छ।

यो उपन्यास तीस र चालिसको दशकको समयलाई आधार मानेर तयार गरेको जस्तो लाग्छ । त्यस समयका हाम्रा बाल्यकालदेखिका भोगाइ र अनुभव समान जस्तै थिए र हामी सबैले समान रूपले त्यो समय व्यतित गरेकै हो।लेखकीय क्षमताका कारण कथानक प्रस्तुतिमा सूक्ष्म विषयवस्तु, दैनिकका भोगाइलाई बडो मिहेनतपूर्वक पट्यार नलाग्ने गरी संयोजन गरिएको पाइन्छ।लेखकले आमाको स्वर्गवास भएको लामो अन्तरालपछि आमाको विगोगपश्चातको दुःखान्त र वियोगान्त सन्दर्भलाई जोड्दै अतीतको स्मरणलाई वर्तमानको भोगाइ जस्तै ऐना हेरे झै कथानकलाई सरल र मिठास ढङ्गले पस्केका छन्।पठनमा चाख नहुनेले पनि पहिलो अङ्क पढेपछि छोड्नै सक्दैन, छोड्नै चाहदैन।पहिलो अङ्क पढेपछि पढौं पढौं हुने र अनि त्यसपछि के भयो होला, पछि के हुने होला भन्ने कौतुहलताको आतुरतामा उपन्यास पढ्ने चाख र जाँगर बढ्दै जान्छ र उपन्यास सकिन्छ । यो जाँगर उपन्यासको शैलीले दिलाएको हो।उपन्यासका कथानक घटना त तपाईँ हामी अधिकांशले देखे,भोगे र अनुभव गरेकै विषयवस्तु हुन्।उपन्यासको कथा बिचबाट सुरु हुन्छ र बिचबाटै टुङ्गिन्छ।यो उपन्यासको कथा कुनै एकदेशको कथा होइन, कुनै यौवनले उन्मत्त बैशालुको कथा पनि होइन, घरखर्च चलाउन मुग्लान पसेको लाहुरेको कथा पनि होइन।यो त हरेक आमा र उसको सन्ततिबिचको कथा हो,आमा र सन्तानको माया ममताको कथा हो, आमा गुमाउँदाको पीडाको कथा हो।तपाईँ हाम्रै घर परिवारको कथा हो हाम्रै समुदायको कथा हो, हाम्रै वरिपरिको कथा हो । उपन्यास पढ्दा भने दह्रो मन लिएर पढ्न बस्नु पर्छ, उपन्यास पढ्दै जाँदा कसैको बिचबिचमा आँखा रसाउन सक्छ, कसै कसैलाई सुक्क सुक्क बनाउन पनि सक्छ, कसै कसैलाई त घुक्क घुक्क पनि बनाउन सक्छ । यसरी उपन्यासभित्र पाठकलाई कथा सँगसँगै हिँडाउने र पाठकलाई लेखकको जस्तै समानुभूति गर्न सक्ने बनाउने लेखकीय क्षमता हो भन्ने लाग्छ,सबै उपन्यासकार र कथाकारमा यस्तो क्षमता पनि हुँदैन, यस्तो प्रवृत्ति पनि भेटिँदैन । यसकारण पनि यो उपन्यास अद्वितीय छ, पठनीय छ, सङ्ग्रहणीय छ।

उपन्यास लेखकले स्वर्गीय आमाको स्मृति ग्रन्थ प्रकाशन गरे लगत्तै उपन्यासको माध्यमबाट सबैलाई आमाप्रति सद्भाव र स्नेहमा चुर्लुम्म डुबाएका छन् । लेखकीय क्षमता नहुनेहरूलाई पनि यो उपन्यासले आमाप्रति समयमै गरिनुपर्ने कर्तव्यको बोध गराउँछ । जीउँदामा बेवास्ता गर्ने र मृत्युपछिको पछुतोको कुनै अर्थ रहदैन, बेलैमाा होस पु¥याउनुपर्नेमा यो उपन्यासले मार्गदर्शन गरे जस्ता आभाष मिल्छ । ‘पोले पनि घामै जाती, पिटे पनि आमै जाती’ भन्ने उखानलाई चरितार्थ गर्दै लेखकले आमासँग भएका विगतका घटनालाई एक एक गरी स्मरण गराएका छन् । आमा कहिल्यै सन्तानका विरुद्धमा हुँदैनन्, सदासर्वदा सन्तानको हितका लागि चिन्तन र चिन्ता गरिरहन्छन् भन्ने भाव उपन्यास पढ्दा आउने गर्छ । आमासँगका सन्तानका घटना परिघटना सार्वकालीक र सार्वभौम हुने रहेछन् भन्ने कुरा यो उपन्यास पढेपछि ज्ञात हुन्छ । उपन्यास पढ्दै जाँदा ‘यो कुरा त मेरो पनि भएको थियो’, ‘मलाई पनि भएको थियो’, ‘मेरो आमाले मलाई पनि यस्तै गुर्नभएको थियो’ भन्ने जस्ता अनुभूति मनमा बारम्बार आउने गर्छ।

उपन्यासको पहिलो अङ्कमा सिद्धार्थ राजमार्गको पहुँच भएर पनि विरामी आमालाई समयमा अस्पताल पुर्यउन नसकिएको, अस्पताल लैजानका लागि गाडीको खोजी र अलमलमा भुलिएको प्रसङ्ग छ, यही अलमल र गाडीका अभावका कारण आमाको बाटैमा मृत्यु भएको कारुणिक कथा छ । आमाको मृत शरीरलाई कुरी बस्दा लेखकले आमासँगको विगतलाई सम्झदै जान्छन् । तत्कालीन समयको निर्धारण उज्यालो हुने बेलाका तीन तारा बाल जिज्ञासा, कानमा लगाइएको सुनको मुन्द्रो, जोगिनीको धmोलमा हालेको, दमिनीको सुजेरामा राखेको हाम्रम प्रचलन, ग्रह शान्त पार्न दमैको, जोगिनीको र सुनारको छोरा समेत बनाई विविधि क्रियाकलाप गरिएको प्रसङ्ग, स्कुलमा साथीले “ए जोगी ! ए मुन्द्रे!” भन्दा बाल सुलभ जिज्ञासाका रूपमा किन मलाई मात्र यसो भनेका होलान् भनी आमासँगको सोधेका संवाद ज्यादै रोचक र प्रासाङ्गिक छन्।

सनातन हिन्दु संस्कारका सोह्र संस्कार मध्ये मृत्यु संस्कार प्रमुख हो । यो चाहेर वा नचाहेर पनि हिन्दु धर्मालम्बीले अबलम्बन गरेकै छन् । यो संस्कार अनिवार्य संस्कारका रूपमा रहेको पनि छ । यस उपन्यासलाई तेह्र अङ्क बनाएर मृत्यु संस्कारका तेह्र दिने काजकिरिया र शुद्धि कार्यलाई प्रमुख आधार बनाई त्यसैको सेरोफेरोममा यो उपन्यास घुमेको छ । उपन्यासको कथा टेलिभिजनको धाराबाहिक शृङ्खला जस्तै अगि बढ्छ । हरेक अङ्कको सुरुआत हरेक दिनको मृत्यु संस्कारबाट सुरु हुन्छ । प्रत्येक दिनलाई आमासँगको प्रसङ्ग जोड्दै उपन्यासलाई कथानक बनाइएको छ । त्यसपछि लेखकलाई आमासँगको विगतका घटना पूर्वदीप्ति (फ्ल्यास ब्याक पद्धति) हुने गर्छ । प्रत्येक अङ्कको अन्त्यमा प्रत्येक दिनको प्रसङ्ग फेरि जोडिन्छ । लेखकले आमाको अभावलाई प्रत्येक अङ्कको अन्त्यमा उठाएका छन्।

धागाले बाँधेको चिठीको प्रसङ्ग उपन्यासमा पनि पाइन्छ । तत्कालीन समयमा लाहुर जाने,विदेशी सेनामा भर्ती भएका युद्धमा लड्न जाने र कुनै दुर्घटनावश मृत्यु भएमा त्यसको जानकारीका लागि आउने गथ्र्यो।हुलाकबाट आउने चिठीमा धागाले बाँधिएको रहेछ भने मृत भएको जानकारी हो भन्ने आम धारणा थियो । खास गरी विदेशमा भर्ती हुने लाहुरेहरू लडाईँमा मृत्यु भएमा धाँगाले बाँधेको चिठी आउने प्रसङ्गका साथै झलकमान गन्धर्वको आम जनसमुदायमा स्थापित “हे वरै” गीतलाई उपन्यासमा प्रसङ्ग मिलाएर स्थान दिइएको छ।गन्धर्वहरू घर घरमा आउने र यो गीत गाउँथे।आमाहरू जसका छोराहरू विदेश गएका हुन्थे, उनीहरू यो गीत सुनेर भक्कानो छोडेर रुन्थे, घर घरमा एक किसिमको रुवावासी नै हुन्थ्यो।मेरै प्रसङ्गमा पनि गन्धर्व झलकमानको “हे वरै” गीत गाएर गएको केही समयमा भारतीय सेनामा कार्यरत हाम्रै दाइ पर्ने पूर्णभद्र बरालको मृत्यु भएको जानकारी आएको र गाउँ भरि नै रुवावासी भएको थियो । उपन्यासको यो प्रसङ्गले मलाई तत्कालीन घटनाको जीवन्त स्मरण गरायो।यस्ता जीवन्त घटनाका फेहरिस्त उपन्यासभर जताततै पाइन्छ।उपन्यासका कथानक घटनामा लेखक होइन, आफैँ छु जस्तो पो लाग्छ।धागाले बाँधेको चिठी आउँदा यस्ता चिठीले पारेको प्रभाव, चिठी नै खोल्नुभन्दा अगाडिको त्रसित वातावरण, चिठीमा आउने अप्रत्यासित खबर सुन्न शोकमग्न बनिसकेको परिस्थिति, चिठी खोल्दा असमबाट चिठी आएको र लालपूर्जा भएका कारण चिठी धागोले बाँधिएको प्रसङ्ग यस उपन्यासमा पाइन्छ । चिठी खोल्नुपूर्वको दुःखान्त माहोल चिठी खोलेपछि सुखान्तमा परिणत भएको अवस्थाको चित्रण उपन्यासमा ज्यादै रोचक, मार्मिक र जीवन्त किसिमले गरिएको छ।

उपन्यासमा मृत्युपछि अन्तिम संस्कार गर्न गण्डकी लैजादाको पनि प्रसङ्ग उल्लेख छ।अहिले जस्तो लास बसमा चढाउने चलन पहिला पहिला थिएन।स्याङ्ग्जाका केही क्षेत्रबाट लासहरू कुभिण्डे भञ्ज्याङ्, खाल्से हुँदै सेती गण्डकीमा ल्याउने प्रचलन थियो।शङ्ख फुक्ने र लामो सेतो कात्रो (बाटो) राखेर लास ल्याएको हामीले पनि प्रायः देख्थ्यौं।लामो बाटो रहेछ भने यो धनी मान्छे मरेछ भन्थे । तत्कालीन परिवेशलाई ‘स्यानी’ उपन्यासमा समेटेर लेखकले अन्तिम संस्कारका बारेमा जानकारी दिने चेष्टा गरेका छन्।

उपन्यासमा परम्परागत विश्वासलाई बडो रोचक किसिमले ल्याइएको छ।पहाडी क्षेत्रमा बसोबास गर्ने ब्राह्मण क्षत्री समुदायमा नाग पञ्चमीमा नागको पूजा गर्ने चलनलाई नाग चराउने भनिने, नाग चराउन शुद्ध हुनुपर्ने जस्ता कुरा प्रसङ्गसहित उल्लेख भएको पाइन्छ । नाग चराउन आँगनको ठूलो ढुङ्गामा लोहोराले चामल पिसी रोटी हालिएको, त्यो रोटी कागले लगेको प्रसङ्ग उल्लेख गर्दै नाग देवताप्रति सद्भाव प्रचलनलाई पनि स्मरण गराएको छ।नयाँ कटेरो निर्माण गर्दा घर नजिकको ठूलो ढुङ्गा फोरी कटेरो निर्माणपश्चात घर भित्र र बाहिर सर्पहरूको बिगबिगी मात्र भएन, घर कटेरामाथि साँझ करिब एक घण्टा जति ढुङ्गा बर्सिएको, यता उता केही नदेखिएको अनौठो घटना घटेको उपन्यासमा उल्लेख छ।यो घटना त यो समीक्षकले पनि सुनेको थियो । यो घटना नियन्त्रण गर्न पुलिस प्रशासनलाई गुहार्दासमेत केही सिप नलागेपछि पूजापाठको साहरा लिनु परेको र नागको पूजापाठ गरेपछि यो घटना बन्द भएकाले नागलाई रिसाउन दिनु हुँदैन, नाग बस्ने बासस्थानलाई खल्बल्याउनु हुँदैन भन्ने पाठ सिकाएको छ । घटना अति यथार्थतिर गए पनि पर्यावरणीय चक्रमा सबै जीव जन्तु र वनस्पतिको यथास्थानलाई हानी गर्नु हुँदैन भन्ने सन्देश अप्रत्यक्ष रूपमा दिएको छ । उपन्यासका म पात्र स्वयम्ले साथीहरूसँग खेल्दा सङ्गतका कारण सर्प मारेको, तत्पश्चात् पिठ्युमा दुख्न र घोच्न थालेको, अस्पताल जाँदा पनि निको नभएको प्रसङ्ग उपन्यासमा पाइन्छ । पछि आमाले आखत हेराउन लगेपछि नागले दुःख दिएको कुरा बताएपछि नागको पूजा गरेको सन्दर्भ उल्लेख गर्दै नाग पूजापश्चात पिठ्युमा घोच्ने, सिल्का हान्ने जस्ता लक्षण रोकिएको उपन्यासमा पढ्न पाइन्छ । कतिपयले यसलाई संयोग ठाने पनि मलाई यो वास्तविक घटना भए जस्तो लाग्छ । प्रकृतिका कतिपय कुरा रहस्यमय नै छन् । कार्य कारण सम्बन्धको मेसो नपाउँदा यिनीहरू दैविक घटना जस्ता देखिन्छन्।

उपन्यासमा पशु धनको पनि निकै उल्लेख गरिएको छ । किसानले दुःख गरेर पालेका भैंसी भिरबाठ लडेर मर्दाको विवरण निकै कारुणिक छ।आफूले पालेको पशु खास गरी दुहुनो भैंसी बिक्रीको सन्दर्भमा मन नलाई नलाई दाम्लो फुकाउँदा आँखा भरी आँसु झारी बिदाइ गरिएको अवस्था प्रायः सबै किसानको परिवारसँग मिल्दोजुल्दो लाग्ने यस घटनालाई उपन्यासमा सटिक र भाव विभोर किसिमले व्याख्या गर्न लेखक सफल देखिन्छन्।

उपन्यासको कथामा ठाउँ ठाउँमा चिन्नेको रुखको प्रसङ्ग आएको छ।चिन्नेको रुख एक प्रतीकका रूपमा उभिएको छ । यो रुखले त्यस घरका कैयौ पुस्तालाई देखेको छ, बेहोरेको छ । घाँस दिएको छ दाउरा दिएको छ, एक तहरो पानीको ओत दिएको छ । लेखकले कतै कतै चिन्नेको रुख (उपन्यासमा बुटो भनिएको) आमाको प्रतीकका रूपमा उभ्याएको भान हुन्छ।उपन्यासभित्र बाले चिन्नेको रुखमा घाँस झार्न चढ्दाको प्रसङ्ग, कुभिण्डेबाट बस निस्कदाको प्रसङ्ग,बा पोखराबाट घर आउँदा चिन्नेको फेदमा आइपुग्ने प्रसङ्ग र उपन्यासको म पात्रले आमा गुमाउँदा चिन्नेको रुखलाई अँगालो हालेर रोएको प्रसङ्गले चिन्नेको रुखलाई मानवीकरण गरे जस्तो लाग्छ।

स्यानी उपन्यास तेह्र अङ्कमा लेखिएको छ।मृत्यु संस्कारका तेह्र दिनलाई उपन्यासको तेह्र अङ्क मानेर सनातनी हिन्दुहरूले श्रवण गर्ने गरुड पुराणको सुरुवात आमाको मृत्युको पाँचौं दिनदेखि भएको छ । मृत्युपछि यमलोकको यात्राका सम्बन्धमा बाहन गरुडले भगवान् विष्णुसँग जिज्ञासा राखी बताइदिन आग्रह गरेपछि आफ्नो बाहन गरुडलाई विस्तृत विवरणसहितको जानकारी गराएको गरुड पुराणको प्रसङ्ग उपन्यासमा रहेको छ।यसमा पाँचौ दिनदेखि नवौं दिनसम्म सोह्र अध्यायको गरुड पुराण पढी वाची सक्नुपर्ने हाम्रो प्रचलन पनि हो । गरुड पुराणको महत्त्व र त्यसमा आमासँगको सम्बन्धलाई जोड्दै कथालाई रोचक बनाउन उपन्यासकार सफल भएका छन् । गरुड पुराणले नैतिकवान्, दानी, धार्मिक र चरित्रवान् बन्न र बनाउन प्रेरित गरेको कुरा सकारात्मक पक्षमा उल्लेख गरेका छन् ।गरुड पुराणका सम्बन्धमा म पात्रमार्फत लेखकले कतिपय प्रसङ्ग असान्दर्भिक र अनुपयोगीसमेत भएकाले समसामयिक सुधारको आवश्यकता पनि औल्याएका छन्।

उपन्यासभरि संस्कार मात्र होइन, हामीले अभ्यास गर्दै आएका विविध संस्कृतिको पनि उल्लेख गरिएको छ । यस्ता संस्कार र संस्कृतिलाई कथानक पारामा व्यक्त गरिएको छ । बैशाखे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, लुतो फाल्ने, नाँच पञ्चमी, दाइँ हाल्ने, खलो पुज्ने, झाक्रीको पूजा गर्ने, भैंसी व्याएपछि बिगौती भगवान्लाई चढाउने, नयाँ अन्न र नयाँ परिकार भगवान्लाई चढाउने, विवाह, रतौली, स्वस्थानी ब्रत र भजन जस्ता विविध प्रसङ्गहरू कथानक रूपमा उपन्यासभरि भेटिन्छन् । उपन्यासमा संस्कार मात्र होइन गलत अभ्यासको पनि दृष्टान्त दिँदै गलत काम गर्न नहुने सन्देश बाल विवाह र मोटरको ड्राइवरलाई पिटेको प्रसङ्ग उल्लेख गर्दै गाउँमा सबैको भागाभाग भएको उल्लेख छ । बाल क्रिडाका राम्रा राम्रा प्रसङ्गलाई कथानक बनाउँदै दाइँ हाल्दा गोरु खेदेको, सबै दधेराहरूले रमाइलो गर्दै काम गरेको, गोरु खेद्दा मिठा मिठा श्लोकसहितको हो हो दाइँमाडो हो हो जस्ता दाइँ गीतको उदाहरण पनि पाइन्छ । बिहेमा दुलही रुँदा खुट्टा काँद्दै रोएको, रत्यौलीमा महिलाहरूले गीत झिकेर नाँच्दै रमाइलो गरेको, स्वस्थानीको समापन (साङ्गत) मा भजन र चुट्टा गाएको प्रसङ्गसहित उदाहरण पनि पस्केका छन्।

हल्लार कहाँ धार्मिक ज्ञान गुनका कुराको कथा हाल्ने नियमित जस्तो हुँदा महाभारतको हरिश्चन्द्र राजाको कथामा एक सयओटा रानी हुँदा पनि सन्तान प्राप्त नभएको प्रसङ्ग पनि उपन्यासभित्र पाइन्छ । सन्तान प्राप्तिका लागि राजा हरिश्चन्द्रले वरुण देवताको आराधना गरेका र छोरा प्राप्तिको वर माग्दा प्राप्त हुने छोरालाई यज्ञ पशु बनाएर यज्ञ बली दिने शर्तमा वरुणले “तथास्तु” भनेका, पछि आफूलाई यज्ञ पशु बनाउने थाहा पाएपछि छोरा रोहित जङ्गलमा लुक्दै हिँड्दा एक गरिब अजिगर्तका छाप्रामा पुगेका, अजिगर्तका तीन छोरामध्ये जेठो बाबुले र कान्छो आमाले च्याँपेपछि माहिलो छोरा कसैको पनि नभएको, भोको पेटका लागि आमाबाबुले माहिलो छोरालाई सयओटा गाई लिएर बेचिदिएका, यज्ञ पशु बन्ने तयारीमा रहेको माहिलो छोराले विलाप गर्दै गर्दा महर्षि विश्वामित्रले सुटुक्क एउटा मन्त्र दिएका, मन्त्र प्राप्त भएपछि मन्त्र जम्दै जाँदा वरुण उपस्थित भएर आशीर्वाद पाएका, आशीर्वाद पाएपछि स्वर्गका राजा इन्द्रले सुनको रथ उपहार दिएका,महर्षि विश्वामित्रको शिष्य हुँदै चर्चित ऋषि शुनशेप भई वेदका मन्त्रद्रष्टा समेत भएको प्रसङ्ग माइलो छोरासँग सम्बन्धित गराएर लेखिएको कथाले उपन्यासलाई ज्यादै रोचक बनाएको छ । गाउँका हजुरबाले यो कथा सुनाउँदा उपन्यासका म पात्र आफू पनि माहिलो भएकामा नरमाइलो मानेको र राजा हरिश्चन्द्रको कथामा बेचिएको माहिलो छोरा पछि विद्वान् ऋषि भएको घटनाले भविष्यमा ठूलो विद्वान् हुनु पर्ने प्रेरणा उपन्यासको म पात्रलाई प्राप्त भएको आभाष मिल्छ।

उपन्यासमा चलचित्रकर्मी तथा विख्यात गीतकार चेतन कार्कीलाई आमाले मामा भनी सम्बोधन गर्ने र चेतन कार्कीद्वारा रचित गीतको सन्दर्भ उल्लेख गर्दै “जान्न म त हजुर खुर्सानी बारीमा, हिलो लाग्छ हजुर नाइलनको सारीमा, भन्थी सानीले” भन्दै आमाले गीत गुन्गुनाउँदा कतै यो गीतमा भनिएको ‘सानी’ कतै आफ्नै आमा ‘स्यानी’लाई भनेर रचिएको त होइन भन्ने उत्सुकता उपन्यासको म पात्रलाई हुन गएको पाइन्छ।

सौतेनी आमाबाट हेला भएर वनमा गएर तपस्या गरी राजा भई धु्रवलोक प्राप्त भएको धु्रवताराको कथा र तीन तारा तथा ध्रुव तारालाई आधार मानी मट्टीखानको डाँडामाथि तीन तारा आउँदा बिहानको चार बज्ने र सधैं सोहि तीन तारालाई आधार मानी उपन्यासको म पात्र नियमित रूपमा उठी पढ्ने बानी गरेको कारण यस उपन्यासको म पात्र (लेखक) नेपाल सरकारको सचिव पदबाट निवृत्त भई विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, सेवा आयोगको अध्यक्ष पदमा कार्यरत रहेको र नियमित अध्ययन र मिहेनतका कारण शिक्षा विषयमा विद्यावारिधि गर्न समेत भ्याएकाले लेखकले पौराणिक ध्रुवलाई प्रेरणाको स्रोत मानेको प्रतीत हुन्छ।

अन्त्यमा लेखकले आमालाई श्रद्धा गरी आमालाई र आमासँगका आफ्नो भोगाइका क्षणलाई मूल आधार मानी गाउँको परिवेशको घटना तथा परिघटना र जीवनका दैनिक घटनालाई जस्ताको तस्तै किसिमले बहुत चाख लाग्दो पाराले पस्केका छन्।मृत्यु संस्कार,बाल सुलभ जिज्ञास,बाल क्रिया,विवाह संस्कार,रत्यौली, दाइँ हाल्ने, बैशाख सङ्क्रान्ति, साउने सङक्रान्ति, लुतो फाल्ने, नयाँ अन्न भगवान्लाई चढाउने,भैंसी व्याउँदा गरिने भाकल,नाग पूजा,मन्त्र,स्वस्थानी ब्रत जस्ता विविध प्रसङ्गले गर्दा यो उपन्यास साँस्कृतिक अभ्यास, ग्रामीण जनजीवन, ग्रामीण अर्थतन्त्र, पशुधन, कृषि धन, स्थानीय भौगोलिक परिवेश, आञ्चालिक भाषा र प्रचलनले भरिपूर्ण उपन्यास हुन पुगेको छ । हाम्रा गाउँघरका रीतिरिवाज, संस्कार, पुराण, महाभारतलगायतका रहस्यमय घटनाहरू समेतलाई सजीव ढङ्गले पस्केर समग्र पाठकहरूका लागि स्यानी उपन्यास बजारमा ल्याएका छन् । पहाडी अर्थशास्त्र, समाजशास्त्र र संस्कृति अध्ययनका लागि यो समाजशास्त्रीय र सांस्कृतिक उपयोगी कृति हुन पुग्नेछ । आफ्नी आमाप्रति सच्चा श्रद्धा गर्ने जो कोहीले पनि यो उपन्यास नपढ्ने हो भने पछुतो हुन पुग्छ।‘स्यानी’ उपन्यासले औपन्यासिक इतिहासमा नयाँ अध्यायको सुरुआत गरिदिएको लेखकप्रति मुरी मुरी धन्यवादसहित साधुवाद।

–नरहरि बराल,क्यालिफोर्निया -संयुक्त राज्य अमेरिका

कृतिः ‘स्यानी’
विधाः उपन्यास
लेखकः खगराज बराल
प्रकाशकः साङ्ग्रिला बुक्स प्रा.लि.
संस्करणः पहिलो (२०७७)
पृष्ठः २५७
मूल्यः ने.रु. ४७५

 

प्रतिक्रिया