सञ्जय मित्र÷रौतहट-सर्लाहीको रामनगर गाउँपालिकामा एक समारोहबीच बज्जिका भाषाको इतिहास पुस्तकको लोकार्पण गरिएको छ।गापाकी कार्यवाहक अध्यक्ष नितुदेवी यादव समेतका बज्जिकासेवीहरूले रामनगर बहुअर्वामा रहेको माध्यमिक विद्यालयमा एक समारोहबीच कृतिको संयुक्त लोकार्पण गरेका हुन्।
भाषा आयोग र रामनगर गाउँपालिकाबीच २०७६ पुसमा भएको सम्झौताअनुरुप बज्जिका भाषाको इतिहासको अनुसन्धान गरिएको थियो।भाषाशास्त्री डा.डिल्लीराम रिमाल,अनुसन्धानविद् सञ्जय साह मित्र तथा संयोजक डा. कमलेश्वरकुमार सिन्हाको अध्ययन टोलीले सर्लाही,रौतहट र बारा जिल्लाको विभिन्न ठाउँमा गएर गरेको अनुसन्धानलाई लेख्ने काम मित्रले गरेका हुन्।
भाषा आयोगले अनुमति दिएपछि कृतिको प्रकाशन रामनगर गाउँपालिकाले गरेको हो।
नेपालमा औपचारिक रुपमा बज्जिका भाषाको पहिलो आधिकारिक इतिहासको गापाकी कावा अध्यक्ष यादव,काका सामुदायिक सिकाइ केन्द्र बलराका अध्यक्ष तथा संयोजक डा.कमलेश्वरकुमार सिन्हा,बज्जिका शिरोमणि तथा अनुसन्धानविद सञ्जय साह मित्र,गापाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार यादव, बज्जिका समृद्धि समाज सर्लाहीका उपाध्यक्ष साहित्यकार रामचन्द्र महतो कुशवाहा,नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी तथा रामनगर गापाका शिक्षा संयोजक विवेककुमार झाले संयुक्त लोकार्पण गरेका हुन्।
लोकार्पणकर्ताका साथै बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण,बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष तथा बज्जिकाञ्चल दैनिकका प्रमुख राजुकुमार श्रीवास्तव, रजनीकान्त झा, बज्जिका समृद्धि समाज नेपालका अध्यक्ष जियालाल रायसमेतका बज्जिकासेवी तथा अभियन्ताहरुले मन्तव्य व्यक्त गरेका छन्।
कावा अध्यक्ष यादवले बज्जिका भाषाको इतिहास लेखनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै बज्जिका भाषाको विकासको लागि थप काम गरिरहने प्रतिबद्धता व्यक्त गरेकी छन्।
लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै बज्जिकासेवी तथा अभियन्ताहरूले आउँदो महिना हुन गइरहेको जनगणनामा बज्जिका मातृभाषीजति सबैलाई सचेत गराई मातृभाषामा बज्जिका लेख्नुपर्नेमा जोड दिएका छन्।बज्जिका भाषा र साहित्यको विकासको बारेमा वक्ताहरुले विशेष चर्चा गरेका छन्।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थितलाई बज्जिका भाषा इतिहास लेखन टोलीका संयोजक डा.सिन्हाले स्वागत गरेका थिए।
प्रतिक्रिया