मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:४२
वासिङटन डिसी 19:57

१० औ गोर्खाज दशैँ कप भकुण्डो प्रतियोगितामा नेपालका पूर्व राष्ट्रिय खेलाडी बिनोद खरेललाई सम्मान गरिने

बिजेता,उपविजेता खेल टोलीलाई कूल १९ हजार डलर नगद प्रदान

विजय थापा २०७८ असोज २ गते १९:३७ मा प्रकाशित

डिसी । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने १० औ गोर्खाज दशैं कप भकुण्डो (सकर)प्रतियोगितामा यस बर्ष नेपालका पूर्व राष्ट्रिय खेलाडी बिनोद खरेललाई सम्मान गरिने भएको छ । हाल खरेलको बसोबास डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यमा रहेको छ ।

खरेल नेपालको राष्ट्रिय टोलीका कप्तान समेत रहेका थिए । १० औ गोर्खाज दशैं कप भकुण्डो प्रतियोगिता अक्टोबर ९ -१० दुई दिन हुने भएको छ ।

ड्यालस गोर्खाज फुटबल (भकुण्डो )टोलीका संयोजक तथा खेलाडी बिनोद बिष्टले हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई अन्तर्गत बिनोद खरेललाई यस बर्ष पनि सम्मान गरिने बताए ।

बिगतमा नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त थापा ,उमेश प्रधान ,प्रशान्त गिरी ,देव नारायण चौधरी ,सुनिल तुलाधरलाई सम्मान गरि सकिएको छ ।

१० औ गोर्खाज दशैं कप भकुण्डो प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम(भकुण्डो टोली) रहेको छ । हरेक बर्ष नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडी आयोजना गरिन्छ ।

बिजयी हुने भकुण्डो टोली समूहलाई नगद तथा पुरस्कार समेत गरेर कुल १० हजार डलर तथा उपविजेतालाई ३ हजार डलरको व्यवस्था गरिएको छ । उक्त दशैँ भकुण्डो प्रतियोगितामा ३५ बर्ष माथिका खेलाडीहरुको पनि प्रतियोगिता रहने छ । साथै यस पटक १२ बर्ष मुनि उमेरका खेलाडीहरु बीच पनि प्रतियोगिता गराइने बिष्टले बताए ।

३५ बर्ष भन्दा माथि उमेरको टोलि बिजेताले ५ हजार डलर र उप बिजेताले १ हजार डलर प्राप्त गर्ने छन् । यो प्रतियोगिता ७ का बिरुद्ध ७ अर्थात् ७ भर्सेज ७ शैलीमा खेल खेलाइने छ ।

प्रतियोगिताको लागि दर्ता खुला गरिएको छ भने दर्ता शुल्क १ हजार डलर र ३५ बर्ष माथि उमेरकालाई दर्ता शुल्क ७०० सय राखिएको छ । आयोजकका अनुसार १२ बर्ष मुनिका खेल टोलीलाई दर्ता शुल्क २५० र ८ बर्ष भन्दा मुनिका खेल टोलीलाई पनि २५० दर्ता शुल्क राखिएको छ ।

स्मरण रहोस , अमेरिकामा नेपाली समुदायले आयोजना गराउने भकुण्डो प्रतियोगितामा कूल १९ हजार डलरको नगद पुरस्कार भएको यो सबै भन्दा ठूलो राशीको प्रतियोगिता हो ।

प्रतिक्रिया