सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइयो

वीरेन्द्र रावल २०७८ असोज २ गते १५:५९ मा प्रकाशित

वीरेन्द्र रावल,धनगढी,असोज २÷सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइएको छ। असोज १ गते संक्रान्तिका दिन सुदूरपश्चिममा ‘बूढी पोल्ने’पर्व धुमधामका साथ मनाइएको हो।हरेक वर्षको असोज १ गते प्रदेशका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाउने चलन छ।

राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज सङ्क्रान्तिका दिनमा मनाइने चलन अनुसार सुदूरपश्चिममा यो पर्व मनाइएको जोरायल गाउँपालिका वडा नम्बर ७ का गंगाराम जोशीले बताउनु भयो।उहाँले भन्नुभयो— मानवलाई दुःख दिने पुतनालाई भगवान् श्रीकृष्णले मारेको दिनको सम्झनामा असोज १ गते सुदूरपश्चिमलगायत भारतको उत्तराखण्ड कुमाउ, गढवालमा यो पर्व मानाइन्छ।

बूढी पोल्ने पर्व निकै रमाइलोसँग मनाइँदै आएको छ।सुदूरपश्चिममा भाद्र सङ्क्रान्ति अर्थात् भदौ १ गतेका दिन बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाङ्गाबिङ्गा काटेर पुतना बूढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइएको हुन्छ।

उक्त प्रतीकलाई शुक्रबार अर्थात् असोज १ गते गाउँका सबै मिलेर जलाउने अर्थात् बन्दुनी जलाउने भनिने गरेको चुरे गाउँपालिका वडा नम्बर १ का भोजराज भट्टले बताउनु भयो।उहाँका अनुसार बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ। यसैगरी उक्त बूढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ।

असोज १ गतेको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको बूढापाका बताउँछन्।परम्परागत किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षस प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शवदहन गरेको कथन रहेको पण्डित गोविन्दराज जोशीले बताउनु भयो।
द्वापरयुगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षस पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेको र भगवान् श्रीकृष्ण बाँचेको खुशीयालीमा यो पर्व मनाउने गरिएको हो।पुतना दहन गरेपछि रातभरि देउडा, भुवा नात जस्ता सांस्कृतिक कार्यक्रम गरिने चलन पनि छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया