रौतहटमा अन्तर्राष्ट्रिय उर्दू कवि सम्मेलन हुँदै

सञ्जय मित्र,रौतहट २०७८ भदौ २६ गते १५:१४ मा प्रकाशित


सञ्जय मित्र,रौतहट-देशको सबैभन्दा बढी मुस्लिम आबादी रहेको रौतहटमा अन्तर्राष्ट्रिय उर्दू कवि सम्मेलन हुन लागेको छ।रौतहटको कटहरियामा अन्तर्राष्ट्रिय उर्दू कवि सम्मेलन हुन लागेको हो।कटहरिया नगरापालिकाका नगर प्रमुख सियाराम कुशवाहाले शनिवार पत्रकार सम्मेलन गरी असोज ९ गते रौतहटको कटहरियामा विभिन्न देशका उर्दू कविहरुको सम्मेलन हुने जानकारी गराएका छन् ।

नेपाल,भारत,पाकिस्तान र क्यानडाबाट उर्दू कविहरुको पहिलोचोटि अन्तर्राष्ट्रिय कवि सम्मेलन नगरपालिकाले आयोजना गर्न लागेको मेयर कुशवाहाको भनाइ छ ।सबै जाति तथा धर्मावलम्बीमा समानता र स्वाभिमानको भाव जगाउन यस प्रकारको कार्यक्रम गरिन थालिएको मेयर कुशवाहाको भनाइ छ।यस अघि कटहरिया नगरपालिकाले देशमा सम्भवतःपहिलोचोटि स्थानीय सरकारको तर्फबाट औपचारिक रुपमा सीता जयन्तीको आयोजन गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय मुशायरा आयोजक समितिका लालबाबु मन्सुरीले पूर्वमन्त्री प्रभु साहको चाहना बमोजिम मुस्लिम समुदायको पहिचान स्थापित गर्ने उद्देश्यले कार्यक्रमको आयोजन गर्न थालिएको बताएका छन्।देशको सबैभन्दा बढी मुस्लिम समुदाय रहेको रौतहटमा मुस्लिमहरु दबिएर रहनु परेको दुखेसो गर्दै मन्सुरीले मुशायरा सम्मेलनले मुस्लिमको भावना र पहिचानको सम्मान हुने बताएका छन्।

उर्दू शायर (कवि) फैयास फैजीले पाकिस्तान,क्यानडा,भारत र नेपाल गरी चार देशबाट मुशायरामा सहभागी हुने निश्चित भइसकेको जानकारी दिँदै सहयोग गर्न सबैमा अपील गरेका छन्।

तराई मधेस जनयुद्ध सहिद स्मृति प्रतिष्ठानको भवन कटहरियामा भएको पत्रकार सम्मेलनमा नगरपालिकाका जनप्रतिनिधि,मुस्लिम समुदायका प्रतिनिधि तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो।सम्मेलनमा स्रोता तथा दर्शक समेत गरी कम्तीमा दश हजार मानिसको सहभागिता हुने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया