तिजे दरः लघुकथा

–मित्र उराठी गौतम अमरपुर- गुल्मी हालःबुटवल २०७८ भदौ २२ गते १०:५६ मा प्रकाशित

“एकैछिन आऊ न कान्छी।यत्ति भिजाएको चामल पिस्न सघाऊ।मिलमा पिसेको भन्दा यही जाँतोमा पिसेको पिठोको रोटी राम्रो बन्छ।” –फूलमतीले छिमेकी कान्छीको सहयोग मागिन् ।

“धेरै वर्ष पछि बल्ल यस पालि तिजमा आउँदै छे सुमित्रा।बिहे गरेर गएपछि त कहिले पनि फुर्सद पाइन उसले।ज्वाइँको सहरमै विगनेस।पहिले विगनेसमै वेस्त। छोरछोरी भएपछि तिनैको रेखदेख, तिनैका स्कूल ।के के गर्दा तिजमा त आउनै नपाउने।बल्ल यस पाला आउँछु भनि छ।” –जाँतो पिस्दै फूलमतीले कुराको विस्तार लगाइन् ।

“ज्वाँइ पनि आउँछन् कि नानी मात्रै ?”- जिज्ञासा राखिन् कान्छीले।

“ज्वाँइ त के आउनु , केटकेटी लेराउने हो।आज बिहानको पनि दुध राखी छु।मानादुई बाटुलीकाट ल्याइछु।बेल्का छिटै दुध दोएर छिटो छिटो दर पकाउने हो।यही पिठो पिसी सकेर सेलरोटी घुमाइहाल्छु।साँझ उनीहरु आइपुग्दा सेलरोटी, दर तैयार पारीसक्ने हो।भोकाएर आउँदा तात्तातै खान्छन्।सानी छँदा खीर भनेपछि हुरुक्कै हुन्थी।तिमी पनि साँझ यतै आऊ, यतै खाउली ।” –उनी फुरुङ्ग हुँदै कान्छीलाई पनि निम्ता गरिन् ।

नाङ्लो भरि सेलरोटी।ठूलो ढलोटको कसौंडीमा खीर पाकेर तयार भयो।घरमा भएका छोराछोरीहरु पनि दिदीको बाटो हेर्दै पर्खिरहे।

झमक्क साँझ भै सकेको थियो, बसको हर्न बज्यो।भाइबैनीहरु दिदी लिन छेँडातिर दौडिहाले।

छोराछोरी सँगै सुमित्रा आइपुगिन् ।ढोगभेट पछि केहिबेर सुस्ताउँदै भलाकुसारी भयो।

“लौ लौ हातमुख धोऊ।दर तैयार छ, अब तात्तातै खाने।नानातिना पनि थाके होलान् , भोकाए होलान् ?” – उत्साहित फूलमतीले आग्रह गरिन् ।

“ह्या मामु त्यस्तो भोक लाग्या छैन्।अहिले नै के खानु।अझ खीर पो बनाउनु भाछ ? आजकल त मलाई खीर मनै पर्दैन।छोराछोरीले पनि रुचाउन्नन्।तै पनि केही छैन् अलि अलि खाइ हालौंला।तर एकछिन् पर्खनुस्।मैले केक ल्याएकि छु।पहिले केक काटेर तिजको दर सेलिब्रेसन गर्ने हो नि।अब पनि तिजको दरमा खीर सेलरोटी के खानु ? ” –सुमित्राले नयाँ चलनको वर्णन सुनाइन् ।

“हैन, बरु भात बसाल्छु नि।नानातिनाले खीर, सेलरोटी नरुचाए त भोकै हुन्छन् ।” -चिन्ता व्यक्त गरिन् फूलमतीले।

“पर्दैन पर्दैन मामु उनीहरुले चाउचाउ, कुरकुरे, क्याड्बरी, दालमोठ के के बोकेर आ’ छन् ।अहिले चटपटे बनाएर खान्छन् । यिनीहरुको पीरै लिनु पर्दैन ।” – आमालाई ढुक्क गराउन खोजिन् सुमित्राले।

दिदीले केक ल्याएको देखेर भाइबैनीहरु पनि दङ्ग परे।हेप्पी तिज भन्दै केक काटियो।केटाकेटीहरुले तालि बजाउँदै बेलुन फुटाए।सबैले रमाइलो माने, सबै प्रशन्न देखिए।

छिमेकी कान्छीले फूलमतीको अनुहारमा एकटक हेरीरहिन्।

तर दिउसोको जस्तो उल्लास फूलमतीको मुहारमा भेट्न सकिनन् ।

 

–मित्र उराठी गौतम अमरपुर- गुल्मी हालःबुटवल

 

प्रतिक्रिया