नर्थक्यारोलाइनाका गीतकार डा ऋषि बस्ताकोटीको बुवाको सम्मान र सम्झना ‘बा मेरा बा’ नामक गीत सार्वजनिक

इनेप्लिज २०७८ भदौ २१ गते १२:१२ मा प्रकाशित

२१ भदौ, काठमाडौं । बुवाको मुख हेर्ने दिनको अवसर पारेर बुवाको सम्मान र सम्झना झल्कने गरी “बा मेरा बा” गीत भएको छ । भ्वाइस अफ नेपाल प्रथम संस्करणका विजेता सिडी विजय अधिकारीको स्वर रहेको गीतको रचना डा. ऋषि बस्ताकोटीले गरेका हुन् ।

खेम विश्वकर्माको संगीत र पुस्कर सुनुवारको संगीत संयोजनमा तयार पारिएको उक्त गीतलाई ‘द टच क्रियसन’ ले युट्युब मार्फत् सार्वजनिक गरेको हो । गीतको लिरिकल भिडियोमा गायक सिडी विजय अधिकारीको लिप्सिंग देख्न सकिन्छ भने भिडियोको सम्पादन मोहन सुनुवार (नवीन)ले गरेका हुन् ।

गीतमा आफ्ना सन्तानलाई असल नागरिक बनाउनको लागि बुवाहरूले गरेको दुःख कष्टलाई सरल तरिकाले प्रस्तुत गरिएको छ । सन्तानका सुन्दर भविष्यका लागि आफूले धेरै कुराहरू गुमाएर पनि आफ्ना सुबिधाभन्दा सन्तानका प्रगतिमा खुसी हुने, सन्तानलाई सदा सदा असल र सरल बन्न प्रेरित गरिरहने संसारभरका बाहरूलाई यो गीत समर्पण गरिएको गीतका रचनाकार बस्ताकोटीले बताए ।

आफूले थ्रुप्रै सदावहार गीतहरू गाएको तर बाप्रति समर्पित गीत भने पहिलो पटक गाउने सौभाग्य मिलेको गायक सिडी विजय अधिकारीले बताए । यो गीत गाउँदा आफु निकै भावुक बनेको र यो गीत गाइरहँदा आफूलाई बुवासँग बिताएका क्षणहरू याद आएको उनले अनुभूति सुनाए ।

‘यो गीत सुनेपछि पक्कै पनि मेरो बाका आँखा पनि हर्षका आँसुले भरिने छन्,’ गायक अधिकारीले भने । गीतकार डा बस्ताकोटीले आफ्ना यसअघिका धेरैजसो गीतहरू देखेसुनेका कथाको आधारमा या कल्पनामा लेखिएका भए पनि ‘बा मेरा बा’ गीत भने आफ्ना दिवंगत पिताजीको सरल जीवन, संघर्ष र सन्तानप्रतिको समर्पणलाई अन्तरहृदयबाट अनुभूत गरी रचना गरिएको बताए ।

संसारका सम्पूर्ण जिम्मेबार पिताजीहरूको सम्मान र समर्पणमा गीत तयार पारेको उनी बताउँछन् । ‘बाहरू साँच्चै नै मैनबत्ती जस्ता हुन्,’ उनी अगाडि भन्छन्, ‘यो गीत सम्पूर्ण सन्ततिहरूका तर्फबाट आफ्नो जीवन जलाउँदै आफ्ना सन्तानलाई अन्तिम क्षणसम्म उज्यालो दिइरहने सबै पिताका लागि सम्मान हो ।’
नेपाली परम्पराअनुसार बुवाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको यो गीतले सम्पूर्ण सन्तानलाई आफ्ना पिताप्रति थप अनुग्रहित बनाउने उनको विश्वास छ ।

संगीतकार खेम विश्वकर्मा आमाका नाममा थुप्रै गीतहरू लेखिएका र गाइएका भए पनि बाका नाममा भने खासै धेरै गीत नबनेको सन्दर्भ उल्लेख गरे । ‘गीतका शब्दहरू सुन्दै जाँदा यो गीत गीतकारले हुबहु मेरो आफ्नै बाको कथा थाहा पाएर लेखिदिए जस्तो लाग्यो, सायद यो गीत जसले सुन्छ यसमा उसले उसैको बाको
कथा भेट्टाउँछ ।’

युट्युब लिंक-

प्रतिक्रिया