विराटनगर,१७ भदौ।प्रदेश नं १ को मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई संविधानको धारा १६८(१) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्ति गरी सपथग्रहण गराउने प्रदेश प्रमुखको निर्णय असंवैधानिक भएको बताइएको छ।
नेपाली कांग्रेस संसदीय दल प्रदेश नं १ का नेता राजीव कोइराला, नेकप(माओवादी केन्द्र)संसदीय दलका नेता इन्द्रबहादुर आङबो,नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवं नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले आज संयुक्त हस्ताक्षरितको विज्ञप्तिमा सो कुरा ठहर गर्दै प्रदेश सभामा बहुमत रहेको दल विभाजित भइसकेपछि नेकपा(एमाले) मा कति प्रदेश सभा सदस्य कायम छन् भत्रे परीक्षण नगरी हतारहतारमा नेकपा(एमाले)मै बहुमत रहेको भन्दै भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री नियुक्ति गर्ने कार्य गलत भएको भनिएको छ।
विज्ञप्तिमा नेकपा(एकीकृत समाजवादी)को पक्षमा प्रदेश सभाका १० जना सदस्यहरुले सनाखत गरेबाट पनि प्रदेश प्रमुखको कार्य गलत भएको भन्दै प्रदेश प्रमुखको सो असंवैधानिक निर्णय प्रति असहमति जनाउँदै तत्काल मुख्यमन्त्रीको नियुक्ति बदर गर्नु पर्ने माग गरेको छ।यो प्रदेश सभामा बहुमत गुमाईसकेर अल्पमतमा परेको र असंवैधानिक तवरले नियुक्ति भएको सरकारले कुनै दूरगामी असर पर्ने निर्णय नगर्न नगराउन सम्बन्धित सबैमा आग्रह गरिएको छ।
नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त संविधान र संसदको रक्षाको पक्षमा उभिने दलहरुको गठबन्धनलाई हामी प्रदेश सभामा समेत थप सशक्त र एकताबद्ध बनाएर आगाडि बढ्ने सहमति गर्दछौँ विज्ञप्तिमा उल्लेख गर्दै प्रदेश नं १ मा सरकारको नेतृत्व गरिरहेको दल नेकपा(एमाले) औपचारिक रुपमा विभाजित भई निर्वाचन आयोगबाट नेकपा(एकीकृत समाजवादी) छुट्टै दल दर्ता भइसकेको अवस्था सर्वविदितै छ भनिएको छ ।नयाँ दलमा प्रदेश नं १ बाट प्रदेश सभाका चार जना सदस्यहर केन्द्रीय समितिमा रहेको र आयोगले नेकपा(एमाले) का प्रदेश सभा सदस्यहरुलाई नयाँ दल रोज्ने समय प्रदान गरिसकेको अवस्थामा प्रदेश सरकारले बहुमत गुमाइसकेको छ विज्ञप्तिमा उल्लेख छ।
यी दलहरुको संयुक्त गठबन्धनको आजको बैठक पछि नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले अल्पमतमा परिसकेको दललाई सरकार बनाउने कार्य गलत हो भन्दै वर्तमान सरकारले दैनिक कार्य बाहेक अन्य ठूला निर्णय गर्न नहुने प्रतिक्रिया दिनुभयो।
नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले गठबन्धन प्रदेशमा मात्र नभएर केन्द्रीय तहमा पनि भइसकेकोले सोही अनुसार कार्य गर्ने बताउँदै वर्तमान सरकारको नेतृत्व गर्ने दलका नेताले अन्य सदस्यहरुलाई विभिन्न प्रलोभन दिन खोजि रहेको आरोप लगाउनुभयो।
नेकपा(माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सातै प्रदेशमा गठबन्धनका सरकार बत्रे र मन्त्रिपरिषद् विस्तार हुने भन्दै मुख्यमन्त्री सहमतिको आधारमा तय हुने प्रतिक्रिया दिनुभयो।
प्रतिक्रिया