दिव्य संवाद र दिव्यता

रिता न्यौपाने २०७८ भदौ १४ गते २२:०३ मा प्रकाशित

परमात्माको सृष्टिमा मानिसमात्र यस्तो प्राणी हो जो आफ्नो प्रयासमा जीवनलाई दिव्यताले भरिपूर्ण बनाउन सक्छ I सबैबाट उन्मुक्त बन्दै अभयमा उपलब्ध हुन्छ र परमात्मामय बन्नसक्छ I पूर्ण होशका साथमा प्रेम, करुणा, दया, शान्ति, आनन्द आदिले भरिपूर्ण बन्न सक्छ I सबैलाई अफुभित्र समेट्न सक्ने र अरुलाई आफुमा देख्न सक्ने हुन्छ I के हो त दिव्यता अनि दिव्यसंवाद?

जीवनमा सद्गुरुदेवको पदार्पण पश्चात दिव्यताको प्रारम्भ हुन्छ I किनकि हाम्रा आदत, संस्कार, वातावारण, परिवार, मनमा चल्ने अनेकौ वृत्तिहरु आदिले हाम्रो होश ठेगानामा हुँदैन I जन्म सँगसँगै हाम्रा ५ ज्ञानेन्द्रीयहरु वाहिरतिर फर्किएका हुन्छन् I ति ज्ञानेन्द्रीयहरुलाई भित्रतिर फर्काएर अतिन्द्रिय सुख भोग गर्न सक्दछौं भन्ने ज्ञान हामीले सद्गुरुदेवबाट मात्र प्राप्त गर्न सक्तछौँ I परमात्माले त्यसको मात्र मदत गर्दछ जो आफुले आफुलाई नै मदत गर्दछ I यस्ता ब्रह्मवाक्यहरु निरन्तर सद्गुरुदेवबाट श्रवण मनन गर्दै गर्दै आफुलाई होश सजगताले भर्दै भर्दै जानुपर्दछ I निरन्तर आफ्ना इन्द्रियहरुलाई प्रत्याहार मार्फत आफुतिर फर्काउँदै अनुग्रहको भाव विकास गर्नुपर्दछ I आफूभित्र सजगता, अनुग्रह भाव स्विकार नजन्मि हामी आफुलाई प्रेम गर्न सक्तैनौं I दिव्यताको पहिलो सिंढी नै आफूप्रति प्रेम हो र दिव्यसंवाद अनुभूतिको संवाद हो I जति म आफ्नो शरीरका अंग प्रत्यंग प्रति प्रेमले भरिन्छु त्यति बराबर ती अंगहरु आनन्दित, शान्त र उन्मुत्त बन्न थाल्छन् I त्यहाँ सहज र सरल रुपमा उर्जाका तरङ्गहरु प्रवाहित हुन्छन् I यो संसार आकर्षणको नियममा चलेको छ I त्यो आकर्षण नै प्रेम हो I हामी भित्र सजगता वा होश बढाउन सुरुमा जे देखिन्छ त्यसबाट गर्नुपर्दछ I शरीर देखिन्छ त्यसैले त्यो शरीरलाई साथमा लिएर सुक्ष्ममा प्रवेश गर्न सक्दछौँ I मन विचार भाव प्रति पनि साधना गर्दै गएपछि हामी सजग बन्न सक्दछौँ I जव शरीरलाई प्रेम गर्न थालिन्छ के गर्दा शरीर खुशी हुन्छ, के गर्दा दु:खी हुन्छ त्यसको अन्वेषण गर्न थालिन्छ I योगव्यास प्राणायाम ध्यान आफ्नो जीवनशैलीमा परिवर्तन खानपानमा सावधानी राख्दै हामी अनुशासित र संयमित बन्छौँ I तव यो ब्रह्माण्डपनि अनुशासनमा छ नियममा छ भन्ने बोध हुन्छ I आफूभित्र जे छ त्यहि वाहिरी संसारमा देखिन्छ I सजगताले विचारको महाशत्तिको ज्ञात गराउँछ I त्यसपछि जीवनमा स्वसंवाद जन्मिन थाल्छ I

सद्गुरुदेवद्वारा प्रदान गरिएका विधिहरूले हाम्रो चंचल मनलाई लगाम लगाउंदै सुक्ष्मता तिर लैजान्छ I निरन्तर स्थिरता बढ्दै जान थाल्छ I लक्ष्यमुखी विचारहरुको विजारोपण पश्चात निरन्तर तिनै प्रति कृत संकल्प जन्मिन्छ त्यहि अनुरुप भावहरु बढ्दै जान्छन् I  आफ्नो लक्ष्यप्रतिको प्रेमले निरन्तर विचारको महाशत्तिसंग जोड्दै लान्छ I भाव सदा वर्तमानमा हुन्छ I सक्छु, हुन्छ भन्ने साहस आफूमा पलाएसँग नेतृत्वक्षमताको वृद्धि हुन्छ I निरन्तर आफुलाई प्रेम गर्दै जाँदा प्रेम त परम मुक्ति पो रहेछ भन्ने अनुभूति आफूलाई हुन्छ किनकि मेरो शरीर, मन, विचार, भाव, आदिमा ठोक्किएको जीवन उर्जा मुक्त बन्छ I मुक्त व्यक्तिले मात्र अरुलाई मुक्तिको बाटो देखाउन सक्दछ I तव प्रेम आसक्ति नभएर मुक्ति रहेछ भन्ने अनुभूतिमा आउँछ I यसैले व्यक्तिलाई दिव्यता तिर निरन्तर अगाडी बढाउँदै लैजान्छ I गुणहरु जुन परमात्मामा छन् ति आफुभित्र पूर्णरुपमा अनुभूति गर्नु नै दिव्यता हो I ति गुणहरुलाई आफूभित्र आकर्षित गर्न गरिने संवाद दिव्यसंवाद हो I भावले व्यक्तिलाई वर्तमान क्षणमा राख्ने हुँदा बाहिरबाट आउने दु:ख सुखले छुन सक्तैन I प्रेमले आफुसँग मित्रताको भाव विकास गराउँछ र यो फैलिंदै जान्छ I मैले मलाई नजानेसम्म अरुलाई जान्न सक्दिन म भित्र जे छ मैले अरुलाई त्यहि दिने हो I जव शरीर भित्रका अंगहरुको सहकार्य सहअस्तित्वको ज्ञान मलाई हुन्छ तव यस समाज ब्रह्माण्डप्रति स्वतः मैत्रीभाव समत्वभाव आदि उत्पन्न हुन थाल्छ I आफै प्रति भक्ति गर्न मन लाग्छ, श्रद्धाका साथमा प्रार्थना जन्मिन्छ यो सबै कार्य सद्गुरुदेवको कृपा प्रसादबाट मात्र सम्भव हुन्छ I

दिव्य संवाद अनुभूतिको संवाद हो I निरन्तर आफु फैलदै गएर विश्वात्मा बन्ने कला हो I सद्गुरुदेवसँगको श्रद्धा भत्तिले मात्र हामी अगाडी बढ्न सक्तछौँ I मनको अवस्था अनुरुपका साधना पद्धतिद्वारा प्रेम, करुणा, क्षमा, आदि भावहरुले हामीलाई निरन्तर स्नान गराउँदै हाम्रा जन्म जन्मका वृत्तिहरुलाई सद्गुरुदेवसँगको सत्संगले पखालिदिन्छन् I चित्त शुद्ध, निर्मल, परिस्कृत बन्दै जान्छ I मौनको क्षेत्रबाट सिधै आउने सद्गुरुदेवका वाणीहरु सदा नयाँ हुन्छन् I हाम्रो मनले पनि त्यहि खोज्दछ र हृदयमा सिधै ति वाणीहरु प्रवेश गर्दछन् I निरन्तर नयाँ र सृजनात्मक वाणीहरुको श्रवण, मनन र निधिध्यासनले हामी निरन्तर दिव्यताको अनुभूति गर्दै जान्छौँ I मानवजीवनको परमचरम लक्ष्य पूर्णताको बोध गर्नु हो I त्यसैले सद्गुरुदेवको सानिध्यमा रहेर दिव्यसंवादको निमित्त आफ्नो मनको द्वार खुल्ला राख्नु पर्दछ I जसरी नदीको पानी फोहोर भएपनि निरन्तर प्रवाहमा हुदाँ सफा, निर्मल बन्दै महासागरमा विलय हुन्छ र पूर्णतामा उपलब्ध हुन्छ त्यसैगरी आफूभित्रको जीवन उर्जालाई निर्वाधरुपमा कहिँकतै ठोक्किन नदिएर त्यो दिव्यतामा लयवद्ध गराउनु छ I

त्यसैले उत्कृष्ट, उन्नत र सार्थक जीवन बनाउन जीवन विज्ञान प्रतिष्ठानबाट संचालित दिव्य संवादमा सहभागी बन्ने सुअवसर सबैलाई प्राप्त होस्, सबैले दिव्यताको अनुभूति गर्न पाउन् I आकर्षणको नियमलाई आत्मसाथ गर्न पाउन् I निरन्तर दिव्यसंवाद गर्न सकुन् I धन्यवाद!

प्रतिक्रिया