मन्त्री राई जन्मदिनमा मानवसेवा आश्रममा

इनेप्लिज २०७८ साउन ३० गते ११:३१ मा प्रकाशित

विराटनगर,३० साउन।प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो जन्मदिनको उपलक्ष्यमा विराटनगर–१० स्थित मानव सेवा आश्रममा रहेका असाहयलाई खाना खुवाई मनाउनु भएको छ।

उहाँले आश्रममा आश्रित ८५ जनासँग बसेर शुक्रबार साँझको खाना खुवाउनु भएको थियो।मानव सेवा आश्रममा प्रदेशका विभिन्न जिल्लाहरुबाट उद्धार गरिएका सहयोगापेक्षी तथा सडक आश्रितहरु रहेका छन्।

मन्त्री राईले प्रदेश १ सरकारले सडकआश्रित मानवमुक्त प्रदेश बनाउने अभियानमा रहेको बताउनु हुँदै सरकारले मानव सेवा आश्रमसँगको सहकार्यमा विराटनगरमा सहयोगापेक्षी तथा सडक आश्रितहरुका लागि भवन पनि निर्माण भईरहेको जानकारी दिनु भयो।सो अवसरमा पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ,नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल,नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल,उपाध्यक्ष पर्शुराम बस्नेतले मानव सेवा नै ठूलो सेवा भएको बताउनु भयो।

मानव सेवा आश्रमका अभिभावक पुनम दाहालले मानव सेवा आश्रमले अहिलेसम्म गरेका कामका बारेमा मन्त्री राईलाई जानकारी गराउनु भएको थियो।यसअघि मन्त्री राईको पहलमा मानव सेवा आश्रममा रहेकाहरुलाई कोभिड १९ विरुद्धको २०० जनालाई खोप लगाईएको थियो।

प्रतिक्रिया