‘द भ्वाइस अफ नेपाल–३’ को बिजेतालाई गाली किन ?

अशोक अर्याल,अमेरिका २०७८ साउन २४ गते १८:०२ मा प्रकाशित


अशोक अर्याल,अमेरिका -सर्बप्रथम ‘द भ्वाइस अफ नेपाल–३’ को बिजेता किरण गजमेरलाई हार्दिक बधाई साथै फाइनलिस्ट आर्यन तामाङ,तारा श्रीस मगर र ज्वाला राईलाई बधाई साथै उज्ज्वल सांगीतिक भविष्यको कामना।फाइनल राउन्डमा टिम प्रमोदबाट किरण गजमेर,टिम दीपबाट आर्यन तामाङ,टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीस मगर प्रवेश गरेका थिए।फाइनल उपाधिका लागि एक साता सम्म एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले भोटिङ गरेका थिए।

हाल अमेरिका स्थाई रुपमा बस्दै आएका उपाधि विजेता गजमेर भ्वाइस अफ नेपालकै लागि अमेरिकाबाट नेपाल फर्केका थिए।उनी “नेपाली मूलका भूटानी शरणार्थीको रूपमा बसेका थिए।नेपाली सँस्कृति, भाषाका रक्षाका लागि आवाज उठाउँदा उनीहरू शरणार्थी भएका हुन्।”

किरण गजमेर बिजेता बनेपछि विभिन्न सामाजिक संजाल हरुमा उनको बिरुद्ध नकारात्मक कुराहरु आईरहेका छन् जुन एकदमै गलत छ।ब्लाईंड राउण्ड , ब्याटल राउण्ड,नक आउट राउण्ड हुँदै लाईभ राउण्डमा १२ जना प्रतिस्पर्धीहरु आएका थिए।लाईभ राउण्ड भन्दा अगाडीका राउण्डहरुमा प्रस्तुतिको आधारमा कसलाई अगाडी बढाउने भन्ने अधिकार जजहरुको थियो भने लाईभ राउण्डमा उक्त अधिकार भोटिंग मार्फत दर्शक स्रोतालाई दिईएको थियो।

अहिले किरण गजमेर बिजेता बनेपछि डलरले जित्यो,न्याय भएन,अरुले नै जित्नु पर्थ्यो भन्ने धेरै नै कमेन्टहरु आएका छन्।लाग्छ दर्शक स्रोताले ‘द भ्वाइस अफ नेपाल’ को भोटिंग फर्म्याट बुझ्न जरुरी छ।लाईभ राउण्डमा ‘द भ्वाइस अफ नेपाल’ को भोटिंग फर्म्याट नै फ्री भोटिंगको साथै भोट ‘किन्ने’ पनि छ।बिजयी हुनको लागि सबै भन्दा धेरै भोट ल्याउनु पर्ने हुन्छ।जसले जिते पनि भोट किनेर नै जित्नु पर्छ सत्य यहि हो किनकि भोटिंग फर्म्याट नै त्यस्तै छ।टप १२ मा पुगेका प्रतिपर्धिहरुलाई जिताउनको लागि देश तथा विदेशमा रहेका दर्शक स्रोताहरु,विभिन्न संघ संस्थाहरुले आफुलाई मन परेका प्रतिपर्धिहरुलाई धेरै भन्दा धेरै भोटको दिलाउनको लागि विभिन्न क्यापियनहरु संचालन गरेका थिए।यदि किरणले नजितेर अरु कसैले जितेको भए पनि भोट किनेर नै जितेको हुने थियो।’द भ्वाइस अफ नेपाल’ सिजन १ र २ का बिजेताहरुले पनि तेसरी नै जितेका थिए जुन भोटिंगको फर्म्याट अनुसार नै थियो।

नेपालमा चलिरहेको अर्को रियालिटी सो ‘कमेडी च्याम्पियन-२ ‘को भोटिंग फर्म्याट पनि उही नै छ।उक्त रियालिटि सो को बिजेताले पनि गाली नै खाने हो जसरी पहिलो सिजनको बिजेता हिमेश पन्तले खाएका थिए।बिजेतालाई गाली गर्नुको सट्टा प्रोग्राम शुरु नहुँदै भोटिंगको फर्म्याटनै परिवर्तन गर्नको लागि आयोजकलाई अनुरोध गर्दा हुने थियो कि? भोट ‘किन्ने’ प्रकियालाई हटाएर १ व्यक्ति १ भोट भोटको मात्रै व्यवस्था गर्दा सायद यस्तो दिन आउने थिएन कि ?यदि दर्शक स्रोता, प्रतिस्पर्धीहरुलाई भोटिंगको फर्म्याटनै गलत छ भन्ने लाग्छ भने उक्त कार्यक्रममा सहभागी नभएर बहिस्कार गर्न सक्नु पर्यो होइन भने सत्य लाई स्वीकार गर्नु पर्यो।

मलाई पनि व्यक्तिगत रुपमा असल गायक छनोट गर्ने यो भोटिंगको फर्म्याटले न्याय गरे जस्तो लाग्दैन।

प्रतिक्रिया