जब म जन्मेँ यो धर्तीमा फलानाकी भएँ नातिनी
हजुरबुवाको नामले चिनिँदा खुसी हुन्थेँ अति नै
अहो ! मेरो हजुरबुवा कत्रो नाम छ उहाँको
उहाँकै नाममा म अटाएँ मनै खुसी हुन गो ।।१।।
हजुरबुवाको नातिनीको साथै फलानाकी भएँ म “छोरी”
मेरो बुवालाई पनि सबैले चिन्थे हजुरबालाई जस्तै गरी
प्रतिष्ठा बुबाको पनि उस्तै थियो समाजका अगुवा
फलानाकी छोरी भनेपछि सबैले चिन्छन् क्या “नामी” मेरा बुवा ।।२।।
बिहे भयो जब अनि मेरो, म गएँ पराई गाउँमा
फलानाकी बुहारी भनेर चिन्दथे, मलाई त्यो ठाउँमा
ठुलै नाम रहेछ ससुराको पनि,सबैले उहाँलाई चिन्दछन्
म कति भाग्यमानी आहा ! मलाई फलानाकी बुहारी भन्दछन् ।।३।।
ससुराको नामले चिनिनुका साथै, फलानाकी भएँ म “श्रीमती”
श्रीमानको नामले चिनिन पाउँदा,हर्षित हुन्थेँ म अति
हाँको डाको ठुलै थियो समाजमा मेरा पतिको पनि
आफैँलाई चिनाउँथेँ अरूसामु,फलानाकी पत्नी हुँ भनी ।।४।।
छोरो जन्म्यो जब मेरो कोखबाट,फलानाकी भएँ म “आमा”
थाहा पाएँ बल्ल यो उमेरमा, मैले त हराइसकेछु नाम
जैले पनि फलानाकी भएँ म, भएनन् “मेरो” कोही
उमेरै बितिसक्यो तर मेरो, आफ्नो नाम खोइ ?
मेरो नाम खोइ ??५??
-दुर्गा लोहनी
प्रतिक्रिया