सोमबार, साउन ३० २०७९
काठमाडौं १४:५०
वासिङटन डिसी 05:05

स्वर्गीय विपिनको शव आज नेपाल पठाइँदै

इनेप्लिज २०७८ साउन २२ गते १:३२ मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा जुलाई २७ तारिख मंगलवार अचानक मृत्यु भएको नेपाली युवा विपिनको शव एनआरएनए अमेरिकाको पहलमा आज टर्किस एयरबाट नेपाल पठाइँदै छ।न्यु जर्सीमा रहेको रुवी मेमोरियल फ्युनेरल र क्रिमेशन सर्भिसले विपिनको शवलाई सुरक्षित ढङ्गले नेपाल पठाउन सहयोग गरेको छ।त्यसमा लागेको सबै खर्चको भर्पाई गैर आवासीय नेपाली सङ्घ अमेरिकाले गर्ने छ।शव वाहनको खर्च,जहाजको भाडा र अरू अतिरिक्त खर्चको पूर्ण विवरण लिएर फरफारक गर्न कोषाध्यक्ष राजीव श्रेष्ठले सम्बन्धित पक्षहरूसँग काम गरिरहनु भएको छ।

स्वर्गीय विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पठाइदिन एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरलाई अनुरोध गर्नु भएको थियो।परिवारको अनुरोध अनुसार विपिनको शव यथासम्भव छिटो नेपाल पठाउन अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित नेपाली एम्बेसी,मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी,महासचिव अन्जन कुमार चौलागाई,निवर्तमान उपाध्यक्ष वी आर लामा र न्यु योर्क च्याप्टरसँग समन्वय गर्दै सहयोग जुटाउने कामलाई तीव्रता दिनु भयो।

नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गर्‍यो।एनआरएनए न्यु योर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले दाताहरूबाट १८ हजार ३ सय ६८ डलर सङ्कलन भइसकेको जनाउनु भएको छ।नेपालमा पर्वत घर भएका स्वर्गीय विपिनको शव नेपाल पठाउन सहयोग गर्नुहुने सबै पक्ष र दाताहरूको सहयोगी भावनाको उच्च सम्मान गर्दै एनआरएनए अमेरिका र न्यु योर्क च्याप्टरको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौ ।

अमेरिकाको न्यु योर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आउनु भएका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलवार अचानक मृत्यु भएको हो।घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पतालमा पुर्‍याइएको थियो।केही समयमा नै अस्पतालले विपिन लम्साललाई मृत घोषणा गर्‍यो।पोस्टमार्टम लगायतका कामहरू पुरा भएपछि आज स्वर्गीय विपिनको शव नेपाल पठाउन लागिएको हो।

स्वर्गीय विपिन लम्साललाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।शोक सन्तप्त परिवारमा हार्दिक समवेदना।

तोया दाहाल
प्रवक्ता, गैर आवासीय नेपाली सङ्घ अमेरिका ।
मिति ०८–०५–२०२१

प्रतिक्रिया