एटलान्टिक समुद्रमा छाल उठदा,मन झस्क्यो,
मेरा हात सलवलाए,कौतुहल बढेर गयो,
एउटा चित्र कोरें,बालुवामा,
हठात्आँखामा तिमी आयौ,
फेरि छाल उठे,
लाग्यो,तिमीले आंड्ग तन्कायौ,
सोधूं त कस्लाई,भनू त के,
निशव्द भएर नज़र दौंडाएँ,
फगत् एउटा चाहानाको भरमा,
फ्रेममा तिमीलाई राखें,
निहारेर वसें
घन्टौं !
चीसो हावा चल्यो,
दिन पूर्ण यौवनको गयो,
समुद्र सुसाएको वेला,
खुसुक्क केही शव्द कानमा पोखियो,
मैले प्रेम भनेर व्याख्या गरें,
हुने गर्छ यस्तै,जव चाहना र रोमान्चले
कसैलाई खोज्छ,
मन झल्यास् हुन्छ,
नजरमा तिमी आयौ,
एउटा भद्र आमन्त्रण वोकेर,
त्यो वालुवाको आकृतिवाट तिमी विउँझिन्छ्यौ,
हठात् म उठें,
तिमीलाई खोजे
पानी बग़ेर आयो,
वगाएर लाग्यो तिम्रो आकृति,
तर,तिमी, मेरो आँखामा आएर टाँसियौ,
त्यो मनको फ्रेममा तिमी,
बगेको पानीमा म,
निथ्रुक्क रूझेर बसेको प्रेमी जस्तै,
पर्खेर बसें,
घन्टौं,
आफूसंगै भएकी तिमीलाई कता कता
खोजी हिंडें
एटलान्टिक समुन्द्को
बगरै बगर।
–सुशील नेपाल
लेखक /साहित्यकार
प्रतिक्रिया