सोमबार, असोज ४ २०७८
काठमाडौं १४:३२
वासिङटन डिसी 04:47

पहिलो संक्रमणको दर्दनाकपीडा पछि लगाएको दुबै खोपले पनि रोक्न सकेन दोस्रो पटक कोरोना सक्रमण

टंक पन्त २०७८ साउन २० गते १२:०२ मा प्रकाशित

दोस्रोपटक पुन : सक्रमण देखापर्दा उठेका अनेक प्रश्नहरु अनुत्तरित नै रहेका छन्।तर पनि मैले कुनै पनि हालतमा जित्छु भन्ने आँट भने पहिलेको तुलनामा यसपटक बढी नै रहेको थियो।यो आंट हुनुको पहिलो कारण गत बर्ष भएको सक्रमण ,दोस्रो दुबै खोप पनि लगाइसकेको र तस्रो कोरोना सक्रमण देखिएपछि कति पीडा हुन्छ र त्यसलाई कम गर्न के के उपाय अबलम्वन गर्नुपर्छ भन्ने अनुभब सहितको जानकारी।

कोरोना महामारीको दोस्रो लहर पछि तेस्रो लहर झन खतरा हुँदैछ,सतर्क रहनु भनी स्वास्थ्य मन्त्रालयले तारन्तार ध्यानाकर्षण गराएको समाचार बनाएर घर फर्केको दिन रातिदेखि मलाई नै रुघाखोकी र ज्वरोले सताउन थाल्यो।स्वास्थ्यमा असहज महसुस हुन थालेको त दुई दिन अगाडि देखिनै थियो।तैपनि म जेनतेन अफिस गएकै थिएँ।तर निकै गाह्रो हुँदै गएपछि अफिस जान सकिनँ।

अघिल्लो दिन लेखनकुञ्जमा अध्यक्ष कमल ढकाल सहितका साथीहरुसँग निकै गाह्रो भएको कुरा गर्देै गर्दा होइन फेरि दुख दिने त होइन भन्ने बारेमा सामान्य छलफल पनि भएको थियो । तर मैले दुई डोज खोप लगाइसकेको र त्यसमा पनि अघिल्लो महामारीका समयमा संक्रमणले नराम्ररी थला परेर नयाँ जीवन पाइसकेको हुनाले त्यो सम्भावना नभएको कुरा कन्फिडेन्सका साथ भनेको थिएँ।मेरो कन्फिडेन्सको आधार दुवै डोज खोप नै थियो तर मेरो कन्फिडेन्समा नराम्रो बज्रपात हुने संकेत देखिदै त छैन भन्ने आशंका पनि मनमा कता कता थियो ।

अफिसबाट घर पुगेकै दिन साँझदेखि निकै गाह्रो बनायो।रुघा,ज्वरो,सामान्यखोकी मात्र नभएर शरीरका पुरै अंगहरु दुख्न थाल्यो।अर्को दिन अफिस जान नसक्ने स्थिति भएपछि खबर गरें।झनपछि झन गाह्रो हुदै गयो ग्रीनसिटी अस्पतालका अध्यक्ष मेरा मित्र लोकबहादुर टण्डनसँग पनि कुरा भयो।उहाँले तुरुन्तै जाँच गराउनै पर्छ नत्र परिवारमा समेत फैलिन्छ मित्र भन्नुभो।नभन्दै अर्को दिन घरमै उहाँले पिसीआर जाँच गर्ने व्यवस्था पनि गरिदिनुभयो।स्वास्थ्यकर्मी घरमा आएर तपाई आइसोलेशनमा हो भनी सोधेका थिए, मैले भन्दा पनि हुन्छ भनी उत्तर दिएँ।ती स्वास्थ्यकर्मीले रिपोर्ट लिएर जाँदा पनि मलाई पोजेटिभ आउँछ भन्ने कल्पना पनि गरेको थिइनँ तर साँझ मोवाइलमा म्यासेज आयो–कोभिड रिपोर्ट पोजेटिभ।

रुघाखोकी ज्वरो भएको हुनाले आइसोलेशनमा त बसेकै थिएँ । मोबाइलमा म्यासेज आउनासाथ एकैछिन त परिवारमा भन्ने हिम्मत पनि गरिनँ । किन होला मलाई नै दोहोरयाई दोहोरयाइ कोभिड नै देखिनुपर्ने भन्ने प्रश्न मैले आफैले आफैलाई गरें ।तर परिवारको अगाडि मैले आफूलाई कमजोर देखाउन हुन्न, त्यसले उनीहरुलाई थप पिडा हुन्छ भन्ने ठानें।अनेक प्रश्न र मनमा अनेक द्धिविधा खेलिरहेको बेला अर्को रुममा अफिसकै काम गर्देै बसेकी श्रीमती र छोरीलाई बोलाएर म्यासेज देखाएँ।नमा निकै कुरा खेलिरहेको भएपनि उनीहरुलाई त्यसको छनक सम्म दिइनँ ।

गत मंसिरको अन्तिमतिर कोरोनाले छोएर निकै थला परेको थिएँ । त्यतिखेर पाएको पीडा सम्झिदा अहिले पनि शरीर जिरीङ्घ हुन्छ । त्यतिखेर कैयौ रात सुतिनँ । राति छटपटिएर बत्ति बाल्दा पनि अध्यारो देखिन्थ्यो।त्यस्तो अवस्थाबाट बाँचेको अर्थात एकपटक लागेर जितिसकेको र खोप पनि लगाएको हुनाले दोहोरिदैन भन्ने कुरा सहि हुँदो रहेनछ भन्ने परिवारमा छलफल भयो।

सिंहदरबार र अफिस बाहेक अन्यत्र भीडभाडमा जाने गरेको पनि थिइनँ भने कतिपय भेटघाटमा जाँदा पनि माक्स छोडने गरेकै थिइनँ । तर पनि किन यस्तो आइलाग्यो भन्ने प्रश्न त्यसदिन रातभरि नै उब्जिरहयो।साँच्चै भन्ने हो भने आफन्त, नजिकका नातेदार,दाजुभाइ ,साथीभाइ जो कसैलाई पनि अफ्ठ्यारो पर्दा जहिले पनि सम्भव भएसम्म अग्रभागमा रहेर सेवा पनि गर्ने गरेको छु।त्यो सेवा मलाई परेको बेला पनि गरुन् भन्ने उद्धेश्यले भन्दा पनि मैले गर्नुपर्छ भन्ने मान्यताका साथ गर्ने गरेको छु।तर पनि,,,,,,,,,,,,,,? अनेक प्रश्न फेरि पनि स्वभाविक रुपमा उठ्दो रहेछ।धर्म संस्कृति र परम्परालाई मैले शिरोधार्य गर्ने गरेकोले पनि मैले सकारात्मक लक्ष्यको अपेक्षा गर्ने गरेको छु।

कारोना महामारीले विश्वलाई नै तहसनहस पारेको छ।आर्थिक,सामाजिक,राजनीतिक, शैक्षिक, पर्यटन एवं हरेक क्षेत्रमा पारेको प्रभावले गर्दा समृद्धि र विकासमा ठूलो धक्का लागेको छ।हरेक क्षेत्रको उद्योग व्यवसाय चौपट भएको छ।त्यो चौपटका दिनहूँ समाचार बनाउनुपर्ने पत्रकारले दुई दुई पटक कोरोना भयो भनेर खबर सुनाउनु कति दुर्भाग्य होला ? त्यो पनि तेस्रो लहर झन खतरा छ भन्ने गरिएको हुनाले पनि मनमा निकै डर लागेको थियो।त्यसैले पनि मैले खबर गरेका र फोनबाट फेरि भएछ है भनी सोध्ने आफन्त र नजिकका नातेदारसँग कुरा गर्दा निकै असहज भएको थियो।म आफु निकै भावुक  थिए।कतिसम्म भने कतिपय आफन्तजनसंग फेसबुक म्यासेञ्जरमा भिडियो कुराकानी भैरहदा आंखामा आशु रसाएकोले अनुहार लुकाएर कुरा गर्न बाध्य भएको थिए।

कारोना महामारीले विश्वलाई नै तहसनहस पारेको छ ।आर्थिक , सामाजिक , राजनीतिक, शैक्षिक,पर्यटन एवं हरेक क्षेत्रमा पारेको प्रभावले गर्दा समृद्धि र विकासमा ठूलो धक्का लागेको छ । हरेक क्षेत्रको उद्योग व्यवसाय चौपट भएको छ ।त्यो चौपटका दिनहूँ समाचार बनाउनुपर्ने पत्रकारले दुई दुई पटक कोरोना भयो भनेर खबर सुनाउनु कति दुर्भाग्य होला ?

एकातिर आफूलाई पीडा,भय र छट्पटी अर्कोतिर आफन्त र नातेदारलाई चिन्ता । किनकि यसभन्दा अघि मैले निकै सास्ती भोगेको थिएँ । त्यो सास्ती मैले कसैलाई शेयर मात्र होइन १३ दिनसम्म कोरोना भयो भनेर कसैलाई भन्दा पनि भनिनँ । थाहा पाएपछि धेरैले गाली गरे । हामी आफन्त र नजिकका भएको के अर्थ भयो भन्ने प्रश्नको ओइरो नै लागेको थियो । त्यसैले पनि यसपटक आफन्तजन , दाजुभाई र अफिसमा समयमा नै जानकारी गराएँ ।

महामारीको पीडा भोग्नेमा धेरै नागरिक थिए र छन् पनि । कतिले ज्यानै गुमाए भने कैयौले अहिले पनि कोरोनासँग कठोर संघर्ष गरिरहेका छन् । कैयौले कोरोनालाई जितेर पनि वीकनेश महसुश गरिरहेका छन् । यस्तो अवस्थामा मैले दोस्रो पटक कारोनालाई फेस गर्नुपर्दा अलिक बढी चिन्ता हुने नै भयो । किनकि तेस्रो लहर बढी खतरा छ भन्ने कुरा स्वास्थ्य मन्त्रालयले पनि गर्देै आएको छ । त्यसले पनि बढी चिन्तित बनायो ।

पहिलो पटक कारोना महामारीले अस्तव्यस्त बनाउँंदा १३ दिनसम्म मोबाइल नै अफ गरेको थिएँ । त्यतिबेला मेरी श्रीमती बाहिर गएकी थिइन् । सम्पूर्ण हेरचाह छोरी इशिकाले गरेकी थिइन् भने यसपटक श्रीमती मीनु घरमै भएको कारण र पहिले जस्तो अस्तब्यस्त हुने गरी गाह्रो नभएकोले मोबाइल अफ गर्नुपरेन केही दिन कुरा गर्न नपरेहुदो भन्ने भएकै थियो । चार दिन, तीन रात अलिक बढी असहज नै भयो । शरीरका प्रत्येक अंग र जोर्नी दुखेर चल्न चटपटाउन भएन । केहीदिन रुघा, ज्वरो र सामान्य खोकी पनि आयो । ज्वरो र खोकी धेरै नआएकोले कोरोनालाई जित्नसक्छु भन्ने आँट भने बढदै गएको थियो । जति आँट बढेको भएपनि तीन रात तीन दिन सुत्नै भएन । केही कुरा परिवारमा शेयर गरें, केही गर्न पनि सकिनँ । एक रात त बेचैन र छटपटीमै बित्यो । न निद्रा लाग्छ न त आरामसित बस्नै सकिन्छ । के गरौं कहां जाउँ कसो गरौं भन्ने भैरहयो । अनि अर्को दिन पुन चिकित्सकसँग सम्पर्क गरें । चिकित्सकले भाइरससँग तपाईका शरीरका अंग अंगले संघर्ष गर्दा त्यस्तो हुनु स्वभाविक हो । त्यसले तपाईलाई हित नै गर्छ नआत्तिनु भनेपछि थप केही राहत महसूस गरें ।

कोरोना महामारीको निरन्तर समाचार अपडेट र अनुभवसँगै कोरोना महामारीले निम्त्याएको संकट र सबैलाई पिरोलेको अवस्थाप्रति संवेदनशील हुँदा हुदै पनि दोस्रो पटक आफैले भोग्नुपरेको कोरोना सक्रमणको पीडाले निकै आहत बनायो ।

कोरोनाले नै कस्ता कस्ता हस्ती र राष्ट्र र परिवारका लागि केही गरेर देखाउने क्षमतावान व्याक्तित्वहरु हामीले गुमाएका घटनाहरु आँखा अगाडि आउने र खोप लगाइसकेको भए पनि दोस्रोपटक पुनः सक्रमण देखापर्दा उठेका अनेक प्रश्नहरु अनुत्तरित नै रहेका छन् । तर पनि मैले कुनै पनि हालतमा जित्छु भन्ने आँट भने पहिलेको तुलनामा यसपटक बढी नै रहेको थियो । त्यही आँट र आत्मबलले मैलै कोरोनालाई यसपटक पनि जितेरै छाडें । तर पनि चिकित्सकका अनुसार वीकनेश त कम्तिमा तीन महिना रहनेछ । आउने तीन महिना मैले आफूलाई बलियो बनाउने गरी आवश्यक व्यवस्थापन गर्नुपर्नेछ ।

एक पटक कोराना लाग्दैमा फेरि लाग्दैन , खोप लगाउदैमा कोरोना लाग्दैन भन्ने हुदो रहेन्छ । तर पनि पहिलो पटक मैले कोरोना संक्रमण हुदा निकै धेरै पीडा सहनुपरेको थियो भने यस दोस्रो पटक सक्रमित हुदा पहिले जस्तो पीडा ४० प्रतिशत मात्र भएको मेरो अनुभब रहयो । त्यतिखेर कम्तिमा एक महिना सुतेको थिए भने यस पटक १५ दिन पनि सुत्नुपरेन । यधपि वीकनेश भने गराएकै छ । धेरै खटिएर काम गर्न सकेको छैन । पहिलो पटक कोरोनाले सताउंदा राज्यले वास्ता गरेको थिएन भने यस पटक टेकुबाट दुई दुई दिनमा फोन गरेर अफ्ट्यारो भयो भने यसो गर्नु , उसो गर्नु , झोल खानेकुरामा जोड दिनु , पुरै आइसोलेशनमा बस्नु , गाह्रो भयो भने नजिकको अस्पतालमा सम्पर्क गर्नु जस्ता जानकारी मुलक ध्यानाकर्षण गराउने काम भएको थियो । दुख परेको भएको सबादले पनि निकै राहत महसुश हंदो रहेछ ।

कोरोना महामारीको दोस्रो लहरको अन्तिमतिर आएर अवस्था फेरि शुरुका दिनमा जसरी नै उत्कर्षमा पुगेको छ । अस्पतालहरु भरिन थालेका छन् । बेड नपाउने र बेडका लागि पालो पर्खिेनुपर्ने अवस्था आएको छ । देशमा निषेधाज्ञा जारी भए पनि लकडाउन नै नभएको जस्तो देखिएको छ । मुलुकको राजनीति हाबी हुँदा महामारी जस्तो विषय पनि गौण बन्दै गएको हो कि भन्ने आशंका बढ्न थालेको छ । राजनीतिक दलका भेला,सभा समारोहदेखि खोप लगाउन अस्पताल र खोप केन्द्रहरुमा देखिने अनियन्त्रित भीडले कतै फेरि कोरोना महामारी थेग्नै नसक्ने गरी फैलिने त होइन ? भन्ने सर्वत्र चिन्ता बढेको छ । त्यसैले सतर्कता निकै जरुरी छ ।

[email protected]

प्रतिक्रिया