चलचित्र ‘लव सर्कल’को फर्स्ट लुक पोस्टर सार्वजनिक

इनेप्लिज २०७८ साउन १७ गते १३:१८ मा प्रकाशित

काठमाडौँ।कोरोना महामारीका कारण बिगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र सुस्ताएको छ।२०७७ साल चैत्र ५ गतेबाट बन्द भएको सिनेमा घर बिचमा केहि महिना खुलेको थियो त्यस पश्चात फेरी दोस्रो चरणको लक डाउनका कारण सिनेमा क्षेत्र ठप्प जस्तै बनेको छ।गत वर्षको लक डाउन पछि विषम परिस्थितिका बाबजुद छायाँकन गरिएको चलचित्र ‘लव सर्कल’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

मि टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्।कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन्।लक डाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राबिधिकहरु लाई पनि केहि राहत होस् भन्ने उदेश्यका साथ डिजिटल प्लेट फर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्य सहित चलचित्र ‘लव सर्कल’को निर्माण गरिएको निर्देशक निरौलाले बताए।कुनै पनि समय खालि बस्न नरुचाउने निर्देशक निरौला कुनै न कुनै काममा व्यस्त बनि रहेका हुन्छन्।कहिले म्युजिक भिडियो त कहिले सिरिज कहिले ठुलो पर्दाका चलचित्रमा काम गरि रहने निर्देशक निरौलाले लक डाउनले शुन्य रहेको चलचित्र क्षेत्रलाई चलायमान गराउने सोचका साथ यो चलचित्रको कार्य गरेको बताए।

चलचित्रमा नाजिर हुसेन,मुकुन भुषाल,पवित्रा आचार्य,रबिन्द्र झा,रिस्ता बस्नेत र सुमन कोइरालाको अभिनय रहेको छ।कमेडी च्याम्पियनमा दले दाईको उपनामले चिनिएका सुमन कोइराला यसै चलचित्र मार्फत डेब्यु गर्दैछन्।चलचित्र ‘लव सर्कल’ मा अंकित बाबु अधिकारीको संगीत,श्रीधर पौडेलको पोस्टर फोटोग्राफी,मुख्य सहायक निर्देशक बिनय पौडेल,लेखन अभिमन्यु निरवी,कलर राजेन्द्र मोक्तान,छायाँकन दिब्य सुबेदी,कोरियोग्राफी पवित्रा आचार्य र सम्पादन शाहील खान र मिलन श्रेष्ठको रहेको छ। आगामी २९ गते बाट चलचित्र डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउने छ।यस संगै सम्पूर्ण डिजिटल प्लेट फर्ममा पनि चलचित्र प्रदर्शन गरिने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए। चलचित्रमा ओएसआर डिजीटलको सहकार्य रहेको छ।

प्रतिक्रिया