लघुकथाः लेखान्त

मित्र उराठी गौतम २०७८ साउन १५ गते २२:३३ मा प्रकाशित

 

कोरोनाको महामारी देशमा ह्वात्तै बढेको थियो।कैयौँले अकालमै मृत्युवरण गरेका थिए।विवाह भएको वर्ष दिनमै शर्मिलाले पनि पति वियोगको दर्दनाक पीडा खेप्नु पर्यो।पति गुमाएकी उनी माइतीमै दिन काटिरहेकी थिइन्।मन बहलाउन वल्तिर,पल्तिर, तल्तिर,मास्थिर गइरहन्थिन्।सबैले सहानुभूती प्रकट गर्थे र पीडामा मलम लगाउँथे।

यसै क्रममा आज उनी निम बहादुरको घर पुगिन्।निम बहादुरका बुढाबुढी पनि घरमै थिए।निकैबेर भलाकुसारी भयो।दिउसोको चिया खाजा खाएर शर्मिला आफ्नो माइतीतिर लागिन्।

शर्मिला गइसके पछि निम बहादुरकी बुढीले भनिन्- “नानी त कति मिजासिली ? कति लक्षीनकी ? बिचरा यो लाउँलाउँ,खाउँखाउँको उमेरमा दैव पनि कति निष्ठुरी बनेको ? भावीले पनि कस्तो कस्तो लेख्दो रहेछ ?”
“हाम्रो छोराले पनि वाउन्न घुस्सा,त्रिपन्न ठक्कर खायो।खै जता पाइलो हाल्यो उतै भत्कन्छ के भा को हो ? कि यीनै नानी सँग जोडी मिलाइदिने हो ?” –निम बहादुरले पनि आफ्नो खस खस पोख्यो बुढी सँग।
“मेरो मनकै कुरो बोल्यौ बुढा।बरु छोराको पनि मन वुझेर कुरा चलाउनु पर्यो।गाईले चिनेको वन,वनले चिनेको गाई भन्छन्।अब के को अन्त अन्त केटी खोज्ने टन्टा वेसाउनु ? भावीको लेखान्त यही रहेछ भने कुरा मिल्ला पनि।”
निम बहादुरले छोरा सँग सल्लाह गर्यो।छोराले पनि पहिले देखि नै जानेवुझेको शर्मिलालाई अस्वीकार गर्ने कुरै भएन।
निम बहादुरले जिम्माल बाजेलाई कुरो वुझ्न पठायो।जिम्माल बाजे चार गाउँ कहलिएका लमी थिए।साइँसिक्कल पारी कुरा गर्ने उनको कलाले जो कोही मन्त्रमुग्ध हुन्थ्यो।शर्मिलाका बाआमाको मन पनि पगालेरै छाडे।
विवाहको दिन तय भयो।
निम बहादुरको छोरा र शर्मिलाको विधि पूर्वक नै विवाह भयो।गाउँका इष्टमित्र सबै जुटे।नव दम्पतीलाई सबैले आशिर्वाद र शुभकामना दिए।नव दम्पती पनि प्रशन्न देखिन्थे।
निम्तालु मध्येकी बुढीआमै भन्दै थिइन् – “यो विधिको विधान ! लेख न भावी,मेट न कोही भन्थे हो रहेछ।”

-मित्र ‘उराठी’ गौतम इस्मा-६, अमरपुर- गुल्मी, हालःबुटवल

मित्र उराठी गौतम

मित्र उराठी गौतम-साहित्यकार /लेखक

प्रतिक्रिया