‘स्यानी’ उपन्यासको औपन्यासिकता

हरिप्रसाद बराल,विराटनगर २०७८ साउन १३ गते २२:५५ मा प्रकाशित

हरिप्रसाद बराल,विराटनगर-सामान्य अर्थमा ‘उपन्यास’ भन्नाले जीवनको लामो कथा भन्ने बुझिन्छ।जीवनलाई सम्पूर्णतामा अटाउने गरी लेख्ने साहित्यिक विधाहरू महाकाव्य र उपन्यास हुन् । महाकाव्य पद्यमा लेख्ने गरिन्छ भने उपन्यास गद्यमा लेखिन्छ।यो संस्कृतबाट आएको तत्सम शब्द हो।‘अस्’ धातुमा ‘उप’ र ‘नि’ उपसर्ग जोडेर तथा ‘घञ् (अ)’ प्रत्यय जोडेपछि उपन्यास शब्द बन्ने गर्छ।अर्थात् उप+नि+अस्+घञ (अ) = उपन्यास।कृष्णहरि बराल तथा नेत्र एटमकृत ‘उपन्यास सिद्धान्त र नेपाली उपन्यास’ पुस्तकमा उल्लेख भएअनुसार उपन्यासले जनजीवनलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेको हुन्छ।कृष्णचन्द्रसिंह प्रधानका अनुसार उपन्यास मानव जीवनकै सम्पूर्णताको अभिव्यक्ति हो।छोटकरीमा भन्ने हो भने मानव र मानवसमाजसँग सम्बन्ध राख्ने जुन घटना वा परिघटना जे होस्,त्यसलाई कलात्मक रूपमा प्रस्तुत गर्न,बीच बीचमा द्वन्द्व विधान भएको,जीवनको सत्यलाई अन्तभूति गर्ने गद्याख्यान नै उपन्यास हो भन्ने कुरा स्पष्ट हुन्छ।

आज भोलि लेखिने उपन्यामा जति जीवनलाई समेट्न सक्यो,उति उपन्यास रोचक हुन्छ,जुन कुराबाट जीवनमा भाग्न सकिँदैन,त्यस्ता कुरालाई जति कलात्मक पारेर हृदयनजिक ल्याउन सकिन्छ,उपन्यास उति पठनीय हुन्छ।पात्र माथी लेखक हावी भयो भने उपन्यास नारा बन्न पुग्छ।उपन्यासकार डा.खगराज बरालले भर्खरै साङ्ग्रिला पुस्तक प्रा.लि.बाट प्रकाशनमा ल्याएको पुस्तक ‘स्यानी’ उपन्यासले गण्डकी प्रदेशको क्षत्री ब्राह्मण समाजको मृत्यु संस्कारलाई विषयवस्तु बनाएर अगाडि ल्याएको छ।यस अर्थमा यसलाई आञ्चलिक उपन्यासका रूपमा लिनुपर्ने हुन्छ।उपन्यास यथार्थ धरातलमा रहेको हुँदा पढ्न थालेपछि नसकुञ्जेल छोड्न मन लाग्दैन।‘स्यानी’ प्रस्तुत उपन्यासकी मुख्य पात्र (लेखककी आमा) को अरूले प्रेमपूर्वक बोलाउने नाम हो।आºनी आमाको स्मृति बिम्बमा आधारित यस उपन्यासले एकातिर गरुड पुराणको कथा र अर्कातिर पृथ्वीबाट मरेर जाने सूक्ष्म शरीरलाई प्रतीक बनाएर हाम्रो समाज कसरी अगाडि बढिरह्को छ त्यसको चित्र देखाउनु नै यसको सांस्कृतिक पक्ष हो।

यसरी लेखिने उपन्यासमा वैकल्पिक चिन्तनका सम्भावनाहरु देखाउँदै हाम्रो सांस्कृतिक चिन्तनमा परिष्कार ल्याउँदै अबका दिनमा के गर्दा संस्कृति दह्रो हुन्छ, वैज्ञानिक हुन्छ, जीवनसापेक्ष बनाउन सकिन्त,त्यो नै यसको खोजी हुन सक्छ।यसरी सामाजिक कुरालाई सांस्कृतिक सन्दर्भमा देखाएको हुँदा उपन्यास पठनीय छ, यस अर्थमा लेखक धन्यवाद पात्र छन्।

पुस्तकः स्यानी
विधाः उपन्यास
लेखकः खगराज बराल
पृष्ठः २५७
प्रकाशन वर्षः २०७७
प्रकाशकः साङ्ग्रिला बुक्स प्रा लि
मूल्यः४७५

प्रतिक्रिया