विराटनगर,१० साउन।पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने छापा, विद्युतीय तथा अनलाईलन सञ्चार माध्यमको आवश्यक अनुगमन एवं कारवाही फितलो भएको सहभागीहरुले गुनासो व्यक्त गरेका छन्।
तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरद्वारा आज यहाँ आयोजित एक दिने क्रियाशील पत्रकारहरुलाई लागि आचारसंहिता तालीम कार्यक्रममा सहभागीहरुले पत्रकारहरुहरुले समाचार सङकलन र सम्पेषण मा आचारसंहितलाई ध्यानमा राखि कार्य गर्नुपर्नेमा जोड दिएका छन्।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पत्रकारिता समाजको दर्पणको रुपमा रहेकाले स्वतन्त्र, सत्य र तथ्यमा आधारित भएर खोजमूलक र व्यवसायिक पत्रकारिता गर्नु पर्नेमा जोड दिनु भयो।
उहाँले महानगरले पत्रकारिता क्षेत्रलाई सहयोग गर्दै आएको छ भन्दै यस क्षेत्रमा युवापुस्तालाई आकर्षण गर्न सङ्घीय सरकारले आवश्यक नीति निर्माण गर्नुपर्ने आवश्यक्ता औँल्याउनु भयो।
प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले वर्तमान अवस्थामा पत्रकारिता चुनौतिपूर्ण रहेको चर्चा गर्दै आचारसंहितालाई सञ्चारकर्मीहरुले गम्भीररुपमा लिनुपर्ने सुझाव दिनु भयो।
विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले पत्रकारहरुले ज्ञानको आफ्नो भण्डारलाई समाज परिवर्तनमा प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो।
फाउण्डेशनकी अध्यक्ष सुरु सुवेदी,नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ अधिकारी,मोरङ अध्यक्ष संजिव खनालले आचार संहिताको कार्यान्वयनबाट पत्रकारहरु दक्ष र सुरक्षित हुने विचार व्यक्त गर्नु भयो।
कार्यक्रम संयोजक डिल्लीरमण सुवेदी,प्रेस काउन्सिलका वरिष्ठ अधिकृत दिपक खनाल र विज्ञापन वोर्डका अध्यक्ष हुमागाईले पत्रकार आचारसंहिता विषयक कार्यपत्र पत्र प्रस्तुत गर्नु भएको थियो।
तालीममा छापा,विद्युतीय र अनलाईन सञ्चार माध्यमका २५ जना पत्रकारहरुको सहभागीता रहेको थियो।
प्रतिक्रिया