सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:४७
वासिङटन डिसी 18:02

राजतन्त्रः नेपालले बेलायती वैभव किन नलिने ?

अनिल पाण्डे २०७८ साउन १० गते १०:१६ मा प्रकाशित

नेपाल र विदेशमा रहेका नेपालीहरुमा पछिल्लो समय मुलुकको राजनीतिक तथा शासकीय स्वरुपको स्थायित्वका लागि राजाको आवश्यकता महसूस भएको पाइएको छ । खासगरी दुईतिहाई निकटको केपी शर्मा ओलीको सरकारले सत्ता नछोड्नका लागि संविधान मिचेर जनताको प्रतिनिधि संस्था संसदकै हत्या गरे, अराष्ट्रिय भनिएका तत्वहरुलाई सरकारमा सामेल गराए र राष्ट्रपतिजस्तो मर्यादित संस्थालाई पनि विवादास्पद बनाए, त्यसपछि भैरहेका राजालाई फालेर नयाँ राजा बनाउने अभ्यास गलत भएको सबैले स्वीकार गरे ।

एकातिर, अढाइ सय वर्ष लामो इतिहास बोकेका राजा सन् २००८ को जुन ११ का दिन सामान्य विज्ञप्ति निकालेर नारायणहिटी छोड्ने अर्कातिर शासन सञ्चालनमा एक दशक पनि इतिहास नबनाएका ओली संविधान मिचेर पनि सत्तामै टाँसिन खोज्ने ! एमाले नेता केपीको तुलनामा पूर्व राजा ज्ञानेन्द्र निकै भलाद्मी, संयम र संस्कारी देखिए । नेपाली सेनाका परमशेनाधिपति रहेका राजाले त्यो बेला चाहेको भए गणतन्त्रको आवाज उठाउने समूहलाई दबाउन सक्थे, कम्तीमा केही वर्ष शासन लम्याउन सक्थे । तर त्यस्तो कुनै सोचाइ राखेनन्, सरक्क नारायणहिटी छोडेर नागार्जुनस्थित निजी निवासमा सरे ।

जबकि नेता ओलीलाई प्रतिनिधिसभाका बहुसंख्यक सांसदहरुले वैकल्पिक सरकार दिंदा पनि सत्ता छोड्न मन भएन । प्रतिनिधिसभाका बहुसंख्यक सांसद भनेका नेपालको बहुसंख्यक जनता हो भन्ने सत्य उनले बुझेनन् । जनप्रतिनिधिकै हिसाबमा नेपालको संविधान, २०७२ र नेपालको नयाँ नक्सालगायतका विषयमा आम नागरिकको समर्थन छ भन्ने दाबी गरिएको होइन र ? नयाँ राजाको स्वरुपमा प्रकट भएका नेता ओलीले संविधान मिचेर शासन गरे भने पूर्व राजा ज्ञानेन्द्रले संविधानमै नभएको प्रावधान जनताले माग गरे भनेर सरक्क राजगद्दी छोडिदिए ।

पछिल्लो समय जब नेकपा एमालेमा विवाद भयो, अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ध्रुवीकरण चुलियो, आखिरीमा ओलीले नेपाल पक्षलाई आदेश जारी गरे, ‘तिमीहरुलाई आम माफी भयो, मेरो मातहतमा बस्नेगरी पार्टीमा सहभागी हुन आओ !’ लोकतान्त्रिक अभ्यासमा मिलन र एकताका लागि प्रयास गरिने हो भने ‘पार्टी नेतृत्वले तपाईंहरुमाथि गरेका कारबाही र्फिर्ता लिन्छ, अब एकीकृत ढंगले अघिबढौं, घर फर्किनुहोस्’ भन्नुपर्ने हुन्थ्यो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको बोली सापट लिएर आममाफीको आदेश जारी गर्नुपर्ने थिएन ।

यी सबै सन्दर्भले पुष्टि गरेको सत्य के हो भने, नेपालको राजतन्त्रलाई जति आलोचना गरेपनि ऊ जति संस्कारी, अनुशासित र शान्तिप्रिय नयाँ राजाहरु देखिएनन् । एकातिर नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहका वंशजप्रतिको कृतघ्नता अर्कातिर संस्कारहीन खर्चिला नयाँ राजाहरुको पालनपोषण ! राष्ट्रपतिमाथि बढिरहेको आलोचना र सांसदहरुको सुविधालाई लिएर भइरहेको भत्र्सनाले गणतन्त्रलाई कमजोर पारेको भन्दै केही समययता निकै चिन्ता प्रकट गर्नेहरु पनि देखिएका छन् ।

गणतन्त्रको बहालीका लागि भूमिका खेल्ने नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, स्वयं केपी ओली, डा. बाबुराम भट्टराईलगायतले राजतन्त्र फर्किन्छ कि भनेर पूर्व राजाहरुप्रति नै आक्रोश पोख्नेगरेको देखियो । प्रचण्डले सार्वजनिक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र, राप्रपा नेता कमल थापा र हिन्दुराष्ट्रको माग गर्नेहरुविरुद्ध कडा प्रहार गरे । बिदा भइसकेको राजसंस्थाप्रति नेताहरु थुरुरु काँप्दैहिंड्ने अवस्था आउनुको एक मात्र कारण नेताहरुको कमजोर धरातल नै हो, आफूबाट भएका कमजोरीप्रतिको डर हो ।

कुनै दिन संघ र प्रदेशमा बहुमतको सरकार चलाइरहेका ओली र प्रचण्ड नै राजतन्त्रको भूतसँग डराउने र सरकारको आलोचना गर्नेजति सबैलाई गणतन्त्रविरोधी देख्ने दृष्टिदोषले उनीहरुको हैसियत प्रष्ट भएको छ । नेपालमा पूर्व राजा, राजावादी भनिएका राजनीतिक दल र मुलुकलाई बेलायतजस्तै समृद्ध बनाउन चाहने नागरिकहरुले एकीकृत ढंगले प्रयास गर्नेहो भने राजतन्त्रको पुनरागमन हुनसक्छ । विश्वमा राजतन्त्र भएका बेलायतलगायतका मुलुकहरु समृद्ध र संस्कारी छन् भन्ने सत्य कतैबाट छुपेको छैन । स्थायित्व र स्थिरताका लागि मुलुकमा राजतन्त्र आवश्यक रहेको अनुभूति सबैतिरबाट गरिएकै बेला राजतन्त्रवादीहरुले आ–आफ्नो इगो त्यागेर एकीकृत रुपमा अघिबढ्नुपर्ने बेला आएको छ ।

जनता राजतन्त्र चाहन्छन् भन्ने यथार्थ बुझ्न सामाजिक सञ्जाल हेरे पुग्छ । ‘सयवटा राजा हुनुभन्दा त एउटै राजा ठीक !’ भन्ने स्ट्याटस धेरैले लेखेको देखिन्छ । नेपाली जनताको डीएनएमा अझै पनि गणतन्त्रले घर बनाइसकेको छैन, राजतन्त्रप्रतिको आकर्षण कायम छ भन्ने तथ्य पुष्टि भएको छ । गणतन्त्रको विकल्प गणतन्त्र नै हो भन्ने भनाइ डा. भट्टराईको हुनसक्छ तर आम भट्टराईहरुका विचारमा गणतन्त्रको विकल्प राजतन्त्र हो । यस सत्यलाई बुझेर पूर्व राजा ज्ञानेन्द्र र अन्य राजतन्त्रवादी शक्तिहरुले अभियान चलाउनुपर्छ ।

‘विद्रोह गरेर वा नाराबाजी गरेर देशमा राजतन्त्र नफर्किने, दुईतिहाई जनताले भोट दिएर मात्रै राजतन्त्र फर्काउने अवस्थालाई हामी सबैले बुझ्नुपर्छ’, राप्रपा नेता थापाले कार्यकर्तालाई पढाउनेगरेको बुझिएको छ । तर, यसका लागि पूर्व राजा ज्ञानेन्द्रले कम्तीमा आफ्नो आवास मासिक छलफलका लागि खुला गर्नुपर्छ, इच्छुक नेपाली त्यहाँ जाने र शास्त्रास्त्र गर्ने वातावरण दिनुपर्छ । राजतन्त्र ठीक कि गणतन्त्र भन्ने विशयमा शान्तिपूर्ण तरिकाले चलाइएको बहसमा कसैले हिंसात्मक विरोध गर्छ भने नांगिने उही हो । अर्को कुरा, कसकहाँ को जाने र राजतन्त्रको पुनर्बहालीका लागि पहल गर्ने भन्ने इगो बीचमा उभिएको देखिन्छ । यस्ता इगोलाई हटाउन पूर्वराजाकै पहल आवश्यक छ । पूर्व राजा ज्ञानेन्द्रलाई लागेको हुनसक्छ, जसरी मैले सरक्क गद्दी छोडें त्यसरी नै मलाई बोलाएर सरक्क गद्दी सुम्पिननुपर्छ, अरु पनि मजस्तै सस्कारी हुनुपर्छ ! तर यो सम्भव देखिन्न ।

राजसंस्थाका केही यस्ता गुण छन्, जो नेपालजस्तो साना र ठूला छिमेकीले घेरिएको देशलाई काम लाग्छ। राजसंस्था राष्ट्रिय एकताको प्रतीक हुन्छ। नेपाललाई एक स्वतन्त्र मुलुकको रूपमा व्यवहार नगर्ने चेष्टा अक्सर देखिएको हो। त्यो चहलपहल खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पाइन्छ। राजतन्त्रले छिमेकी र विदेशीको निर्देशन र मनोमानी हुन दिएन भनेर राजा वीरेन्द्रको परिवारको हत्या गरिएको, मदन भण्डारीजस्तो नेताको पनि अन्त्य गरिएको आदि शंका र विश्वास गरिन्छ। यसबाट के थाहा लाग्छ भने नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व बचाउन एउटा राष्ट्रिय प्रतीकको आवश्यक पर्छ र त्यो नेपालको इतिहासले राजतन्त्रलाई अगाडि सार्छ। बेलायतलगायतका राजतन्त्रवादी मुलुकले यही सत्य पुष्टि गरेका छन् । को दल र नेता कति राष्ट्रवादी रहेछ, देखिइसक्यो । मुलुकका लागि नभएर सत्ताका लागि नेताले आन्दोलन गरेको प्रमाणित भइसक्यो । त्यसैले निरन्तर संवादमा राजासँग देश बनाउने भिजन र रोडम्याप हुनु आवश्यक छ ।

राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै राजधानी काठमाडौंसहित देशका विभिन्न भागहरूमा प्रदर्शन भएपनि त्यसले योजनावद्ध स्वरुप देखाउन सकेको छैन । केन्द्रमा पूर्व राजा ज्ञानेन्द्र नै नतातेको अवस्थामा, उनी जोखिम मोल्न तयार नभएसम्म राजतन्त्रको पुनरागमन सम्भव छैन । जसरी नेता अघि नसरी कार्यकर्ता अघिबढ्दैनन्, त्यसरी नै ज्ञानेन्द्रले मसक्क नआटेसम्म परिवर्तन सम्भव छैन । राजावादी शक्तिमा वृहत् एकीकृत मोर्चाबन्दी आवश्यक छ, तर त्यसको नेतृत्व पूर्व राजा ज्ञानेन्द्रले नै गर्नुपर्छ ।

प्रतिक्रिया