वाणिज्य कार्यालयद्वारा ५२ व्यवसायिक फर्ममाथि कारवाही – रु १९ लाख जरिवाना

इनेप्लिज २०७८ साउन ५ गते २२:२२ मा प्रकाशित

विराटनगर,५ साउन।नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, वढी मुल्य लिने, उपभोग्य मिति समाप्त भई विक्रीवितरण गर्ने ५२ वटा व्यवसायिक फर्ममा माथि वाणिज्य,आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गएको एक वर्षको अवधिमा कारवाही गरेको छ।

कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७ः०७८को कार्य सम्पादन विवरण सार्वजनिक गर्दै उक्त्त अवधिमा २०२ वटा फर्महरू अनुगमन गरेकोमा ५२ वटा कारवाही गरि जरिबाना गरेको जनाएको छ।

यसरी कारवाहीमा परेका उद्योग र व्यवसायिक पसलहरूबाट रु १९ लाख पाँच हजार जरिवाना गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिनु भयो।

यसरी कारवाही पर्नेमा मुख्य फर्महरुमा जैसानी ट्रेड कन्सर्न, विराटनगर रु तीन लाख,विके मसला उद्योग विराटनगर दुई लाख,सेन्ट्रल बजार प्रालि विराटनगर रु दुई लाख,अंश लघु घरेलु उद्योग कटहरी रु दुई लाख,विज्ञान फर्मेसी वुढीगंगा रु दुई लाख र विनिता सर्जिकल हाउस इटहरीलाई रु दुई लाख जरिवाना गरेको जनाएको छ।

कार्यालयले आर्थिक वर्ष २०७६ः७७ मा २२ वटा फर्म कारवाही गरि रु नौ लाख २५ हजार जरिवाना गरेको थियो।यसैगरी गत आर्थिक वर्षमा १ हजार ८ सय ३९ वटा नयाँ फर्म दर्ता भएका छन् भने नविकरण÷ संशोधन तीन हजार ३०६ र खारेजी दुई सय भएको कार्यालयले जनाएको छ।प्रदेश १ को १४ जिल्ला कार्यक्षेत्र भएपनि बिगतका वर्षहरूमा मोरङमा मात्र अनुगमन गर्दै आएको थियो थियो भने गत आर्थिक वर्षदेखि अन्य छ जिल्लाहरूमा अनुगमन गरेको छ। जसमध्ये सुनसरी,झापा,धनकुटा,इलाम,पाँचथर र उदयपुर रहेका छन्।

प्रतिक्रिया