बुधबार, भदौ १ २०७९
काठमाडौं ०३:५०
वासिङटन डिसी 18:05

नर्थ क्यारोलाइनामा २०८ औं भानु जयन्ती सम्पन्न

इनेप्लिज २०७८ साउन ३ गते १६:५३ मा प्रकाशित

मोरिस्भिल, नर्थ क्यारोलाइना (१७ जुलाई २०२१) – नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०८ औं भानु जयन्ती कार्यक्रम भानुको योगदान बारे चर्चा र बालबालिकाको वक्तृत्वकला कार्यक्रम गर्दै सम्पन्न भएको छ।

नर्थ क्यारोलिना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व नर्थ क्यारोलिना नेपाली साहित्य समाजकी अध्यक्ष नम्रता गुरागाईंले गर्नु भएको थियो। दुई चरणमा विभाजित सो कार्यक्रमको पहिलो चरणमा भानु सम्बन्धी अध्येता डा. हरिहर भट्टराईले भानुभक्तको प्रकाशित विभिन्न तस्वीरहरुको चर्चा गर्दै सही तस्वीर मात्र प्रयोग गर्न सहभागीहरुलाई सल्लाह दिनुभएको थियो।

त्यस्तै अर्का विद्वान शिवहरि मरहठ्ठाले रामायणको शास्त्रीय पक्षबारे प्रकाश पार्दै भानुभक्तले रामायणको नेपालीमा अनुवाद गरेर नेपाली भाषीहरूलाई ठूलो गुन लगाएको बताउनु भयो। डा. ऋषि बस्ताकोटीले सन्चालन गर्नु भएको पहिलो चरणको कार्यक्रमको अन्त्यमा कवयत्री प्रभा पोखरेल र डा.अच्युत शर्माले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो।

कार्यक्रमको दोस्रो चरणमा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाद्वारा सन्चालित नेपाली पाठशालाका २० जना विद्यार्थीहरुले आफुलाई मन परेको विभिन्न विषयमा आ-आफ्नो कुरा व्यक्त गरेका थिए। विद्यार्थीहरुले नेपाली चाडपर्व, सगरमाथा, गौतम बुद्ध, नेपाली मुद्रा, लोपोन्मुख राउटे जाति, आप्रवासी समस्या जस्ता विषयदेखि लिएर आफुलाई मनपर्ने खेल, खानेकुरा र आफुले घुमेका ठाउँबारे छोटकरीमा आफ्नो कुरा प्रस्तुत गरेका थिए।

नेपाली पाठशालाकी शिक्षिका ईशा खनालले सन्चालन गर्नु भएको दोस्रो चरणको अन्त्यमा साहित्यकार इश्वर देबकोटाले भानुभक्त को थिए, नेपाली भाषामा उनको योगदान के थियो र किन हामीले भानुभक्तलाई सम्झन्छौं भन्ने कुरा सरल भाषामा उपस्थित भाइबैनीहरुलाइ बताउनुभएको थियो भने पाठशालाका शिक्षक विक्रम गौतमले विद्यार्थीहरुको प्रस्तुति माथि टिप्पणी गर्दै सकेसम्म नेपाली भाषाको प्रयोग गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभएको थियो। कार्यक्रमको अन्त्यमा नेपाल सेन्टर अफ नर्थ क्यरोलिनाका अध्यक्ष रविन कार्कीले विद्यार्थीहरुलाई बधाई दिदै प्रोत्साहन स्वरुप सबैलाई गिफ्ट कार्ड प्रदान गरिने बताउनु भयो।

प्रतिक्रिया