सर्वोच्च अदालतको आदेशविरुद्ध एमालेले देशभर भण्डाफोर अभियान चलाउने

इनेप्लिज २०७८ साउन १ गते १७:३६ मा प्रकाशित

काठमाडौं।नेकपा एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाको भण्डाफोर गर्दै अभियान चलाउने निर्णय गरेको छ।

संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतले दलीय व्यवस्था र लोकतन्त्रको उपहास गरेको ठहर गर्दै भण्डाफोर गर्ने निर्णय गरेको हो।

बैठकमा एमालेको नेपाल खनाल पक्षका सांसद भने सहभागी भएनन।मुलुकलाई निर्दलीय व्यवस्थातिर धकेल्ने गरी फैसला गरेको जिकिर गर्दै जनतामाझ गएर भण्डाफोर गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

खास गरी आफ्नो पार्टीको नेपाल खनाल पक्षका सांसदले प्रधानमन्त्री देउवालाई भोट दिन पाउने अदालतको फैसला प्रति एमालेको आक्रोश छ।त्यसलाई स्वीकार्न नसकिने भन्दै भट्टराईले फैसला विरुद्ध राजनीतिक अभियान लिएर जनतामा जाने बताए।

संसदीय दलको बैठकमा आज सहभागी नभएका सांसदहरुलाई पनि उपस्थित हुने वातावरण सिर्जना गर्ने निर्णय गरेको उनले बताए।तर अनुपस्थितिलाई पार्टीले गम्भीरतापूर्वक लिएको पनि उनले जानकारी दिए।

प्रतिक्रिया