गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्,अमेरिकाको प्रेस विज्ञप्ति

इनेप्लिज २०७८ असार ३० गते १०:०६ मा प्रकाशित


एनआरएनए अमेरिकाको २०२१–२०२३ का लागि निर्वाचित कार्यसमितिले विधिवत र औपचारिक हिसाबले आफ्नो जिम्मेवारी र पदभार ग्रहण गरेपछि ०७/०४/२०२१ गते आइतबार संस्थाका अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षतामा कार्यसमितिको पहिलो बैठक बस्यो।बैठकले केही महत्त्वपूर्ण विषयहरूमा निर्णय गरेको छ।

केही समय अगाडि महासचिव अन्जन कुमार चौलागाईका पूज्य बुवा बालकृष्ण चौलागाईको निधन भएको थियो।वियोगको खबरले मर्माहत महासचिव चौलागाई र परिवारजनमा समवेदना जनाउँदै शोक प्रस्ताव पारित गरिएको छ।

२०१९–२१ को दुई वर्षीय कार्यकाल पुरा गरी बिदा भएको निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरिएको छ।नयाँ कार्यसमिति चयन गर्न आयोजित निर्वाचनमा सहभागी हुनु भएका सम्पूर्ण मतदाता र सहभागी सबै पक्षलाई धन्यवाद दिइएको छ ।

पत्रकार तथा एनआरएनए अमेरिकाका आजीवन सदस्य तोया दाहाललाई संस्थाको विधान अनुसार अध्यक्ष बुद्धि सागर सुवेदीले एनआरएनए अमेरिकाको प्रवक्तामा मनोनीत गरिएको कार्यसमितिलाई जानकारी गराउनु भयो।दाहालले आफ्नो पदभार ग्रहण गरिसक्नु भएको छ।

२०२१–२३ का लागि निर्वाचित कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरूको उपस्थितिमा भएको बैठकमा संस्थाको दुई वर्षीय कार्य योजना माथि छलफल प्रारम्भ गरिएको छ।अगामी बैठकमा यसमा थप छलफल गर्ने सहमति भएको जानकारी गराउँदछौँ।राष्ट्रिय आविष्कार केन्द्र एनआइसीले रचनात्मक र बहु उपयोगी हिसाबले गरिरहेका कामहरूमध्ये उपयुक्त केही कार्यक्रममा आर्थिक र बौद्धिक सहकार्य गर्ने बैठकले निर्णय गरेको छ।यसमा संस्थागत संलग्नताका लागि केही प्रयुक्त कार्यविधि र पद्धतिको विकास गरिने छ।

अन्तर्राष्ट्रिय भारोत्तोलनको क्षेत्रमा चर्चित खेलाडी रूप कार्की नेपाल जानु भएको समयमा असामयिक निधन भएकोमा दुख व्यक्त गर्दै एनआरएनए अमेरिकाले खेलकुद क्षेत्रमा नेपालीहरूलाई सहयोग पुगोस् भन्दै उहाँको स्मृतिमा खडा गरिएको फाउन्डेसनमा ५ हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ।रूप कार्कीको स्मृतिमा एनआरएनए अमेरिकाले रनिङ सिल्डको आयोजना समेत गर्ने छ।

कार्यसमितिमा रहनु भएका पाँचै जना उपाध्यक्षहरूको विभागीय कार्य विभाजन गर्नका लागि छलफल सुरु गरिएको छ।आगामी बैठकमा यस विषयमा थप छलफल गर्ने सहमति भएको छ।

एनआरएनए अमेरिकाबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीको आगामी अधिवेशनमा अमेरिकाबाट भाग लिने उम्मेदवारहरूलाई नि सर्त सघाउने र एउटा पदमा धेरै जनालाई प्रतिस्पर्धा नगर्न संस्थाको तर्फबाट आग्रह गर्ने सहमति भएको छ।

संस्थाको प्राविधिक पक्षलाई चुस्त दुरुस्त बनाइ राख्न महासचिव अन्जन कुमार चौलागाईको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरिएको छ।

विविध कारणले गत शनिवार न्यु योर्कमा आयोजित पद तथा गोपनीयताको शपथ कार्यक्रममा सहभागी हुन नसक्नु भएका पदाधिकारी, सदस्य र च्याप्टर सभापति साथै नवनियुक्त प्रवक्ताको बिहीबार शपथ कार्यक्रम गरिएको छ।प्रवक्ता तोया दाहाल,सह कोषाध्यक्ष अग्नि ढकाल,बोर्ड सदस्य राज ढुङ्गाना,इन्डियाना च्याप्टर सभापति खिम खतिवडालाई एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले पद तथा गोपनीयताको शपथ गराउनु भयो।अध्यक्ष सुवेदीले प्रवक्ता दाहाल लगायत शपथ लिनुहुने सबैलाई जिम्मेवारी पूर्वक काम गर्दै संस्थालाई गतिशील बनाएर केही ठोस उपलब्धि हासिल गर्ने सक्ने बाटोमा हिँडाउनु पर्ने बताउनु भयो ।

शपथ कार्यक्रममा सहभागी हुन भएका विशेष अतिथि एनआरएनए उत्तर अमेरिका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठी,उपसंयोजक (डीआरसी) राम सी पोखरेलले बधाई तथा शुभकामना दिनु भयो।प्रवक्ता दाहालको सञ्चार क्षेत्रको अनुभव र विज्ञताले एनआरएनए अमेरिकालाई थप उचाइमा लैजान सहयोग पुग्ने त्रिपाठीले विश्वास व्यक्त गर्नु भयो।कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त,उपाध्यक्ष द्वय गोपेन्द्र भट्टराई र सुमन थापा,महासचिव अन्जन कुमार चौलागाई, सचिव द्वय अनुप खनाल र सुनिता सापकोटा कँडेल,कोषाध्यक्ष राजीव श्रेष्ठ,बोर्ड सदस्य बाला घिमिरे,प्रभात सापकोटा लगायतले आफ्ना भनाई राख्दै पद तथा गोपनीयताको शपथ लिनु हुने पदाधिकारी, बोर्ड सदस्य तथा च्याप्टर अध्यक्षलाई बधाई तथा शुभकामना दिनु भयो।

पद तथा गोपनीयताको कार्यक्रम संस्थाको अनलाइन प्रविधि जुम मार्फत गरिएको थियो ।

धन्यवाद।

अनुप खनाल
सचिव
गैर-आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका

©2021 NRNUSA | 3045 Winn

प्रतिक्रिया