इन्जिनियर के.आर. दाहालको ‘अस्मिता’ पढेपछि

श्रमिक बराल २०७८ असार २९ गते २२:०६ मा प्रकाशित

डा.के.आर.दाहाल अर्थात खेटराज दाहाल पेसाले इन्जिनियर हुन्।सिभिल इन्जिनियरिङ,समाजशास्त्र र इकोलोजी एन्ड इन्भ्यारोमेन्टमा स्नातकोत्तर गरेका दाहालले वातावरण विज्ञानमा विद्यावारिधि पनि गरेका छन्।हाल कानुनको स्नातक तहको विद्यार्थी पनि हुन्।पेसाले इन्जिनियर भए पनि विशेष गरी उनी शिक्षक हुन्।उनी इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई पढाउँछन्।समय समयमा समीक्षात्मक लेख,पद्यात्मक कविता समेत लेख्ने दाहालले यस पटक उपन्यास विधामा हाल हालेका छन् ‘अस्मिता’ मार्फत्।

निकै भद्र देखिने दाहालको व्यक्तित्व सरल छ।आफूलाई लागेका कुरा सरल र सहज ढङ्गमा अभिव्यक्त गर्छन्।शिक्षक भएको नाताले होला उनका भनाइ विद्यार्थीलाई झै उपन्यास पढ्दा पाठकलाई बुझ्न कठिन हुँदैन।दाहालको व्यक्तित्व जस्तै सरल गतिमा बगेको छ ‘अस्मिता’।अझ भन्नुपर्दा कुशेश्वर महादेव नजिकै बगेको सुनकोशी झै सललल बगेको छ ‘अस्मिता’।पहाडबाट कुदेको खहरे खोजा जस्तो नभई समथरमा बगेको नदी जस्तै छ ‘अस्मिता’ उपन्यास।

कुल ३५२ पृष्ठमा समेटिएको ‘अस्मिता’ उपन्यासको मुख्य कथा पृष्ठ १३ बाट सुरु भएको छ।राजन कार्कीको भूमिका ६ पृष्ठ र उपन्यासकारको आफ्नै कुरा २ पृष्ठ गरी ८ पृष्ठ र भित्री पृष्ठ र समर्पण गरी ४ पृष्ठ रहेको छ।डिमाज आकारभन्दा अलि ठूलो रहेको यो उपन्यासमा प्रिलिम्सलाई पनि मुख्य पृष्ठमा राखिएको देखिन्छ। कुल ५१ अङ्कमा ‘अस्मिता’ उपन्यासको कथानक बुनिएको छ।

उपन्यासकी मुख्य पात्र अस्मिताकी सासू शकुन्तलाको दिनचर्याबाट उपन्यासको कथा सुरु हुन्छ।शकुन्तला संस्कारयुक्त परिवारमा हुर्केकी थिइन्।उनलाई शास्त्रका केही श्लोक पनि कण्ठ थिए।उनले आफ्नो छोरा अशोकको अस्मितासँग कक्षा आठमा पढ्दा नै बिहे गरिदिइन्।शकुन्तलाको घरमा बुहारी भएर भित्रिइन् अस्मित।सौताहरू बेहोरिकी शकुन्तलाले बुहारी अस्मितालाई छोरीको जस्तो व्यवहार गर्थिन्।अस्मिताको पति अशोक काठमाडौंमा जागिर गर्थे। तत्कालीन प्रधानमन्त्रीको निजी सचिवालयमा काम गर्थे अशोकले।यता अस्मिताले गाउँमै बसेर सासू ससुरालाई हेरचार गर्ने गर्थिन्,।उनी खेतीपाती गर्ने गरी गाउँमा नै बसेको समयमा अशोक बजारिया नक्कली शर्मिलाको प्रेममा पर्छ।शर्मिला विवाहित महिला थिई।यो कुरा अस्मिताको देवर पर्ने निर्मलले थाहा पाउँछ। उसले अस्मितालाई काठमाडौं लिएर आउँछ।उनीहरू आएकै दिन अशोक सवारी दुर्घटना पर्छ।आफ्नी पत्नी परपुरुषसँग लागेको झोकमा शर्मिलाको लोग्नेले अशोक र शर्मिला चढेको मोटरसाइकललाई ठक्कर दिन्छ।शर्मिलाको मृत्यु हुन्छ।अशोक घाइते हुन्छ,उसको एउटा खुट्टा गुम्छ।अस्मिताले घाइते पतिलाई स्याहार गर्नुपर्ने हुन्छ।अस्मिता अशोकलाई स्याहार गर्न काठमाडौं नै बस्ने निधो गर्छिन्।उनले सासू ससुरालाई पनि काठमाडौं ल्याइन्।प्रधानमन्त्रीले अशोकको ठाउँमा अस्मितालाई जागिर दिन्छन्।लोग्नेको स्याहार गर्दै सासू ससुरासहित अस्मिता काठमाडौंमा बस्छिन्।उनको जागिर नै परिवार पालिने मुख्य आधार बन्यो।

अस्मिता बिहेपछि पनि पढाइलाई निरन्तरता दिइन्।एसएलसीपछि पद्मकन्या क्याम्पसमा उच्च शिक्षाका लागि भर्ना भइन्।भर्ना हुने समयमा पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनकी सभापति पिङ्कलासँग भेट हुन्छ।उनले भर्ना हुन सहयोग गर्छिन्।दुवैको घनिष्टता बढ्छ।आउने जाने क्रम चल्छ।एकपटक प्रधानमन्त्रीको सेन्ट पिटरवर्गको कार्यक्रमको भ्रमण टोलीमा अस्मिता पनि सहभागी हुने अवसर पाउछिन्।अस्मिताले नै पिङ्कलालाई घरमा बोलाउने,सबैसँग चिनजान गराउने,खाना खुवाउने गर्छिन्।पिङ्कलालाई अन्य समयमा पनि आइदिन अनुरोध गर्छिन्।अपाङ्ग पतिलाई आफू नहुँदा सहयोग गर्न पनि अनुरोध गरिन्। अस्मिता सेन्ट पिटर वर्गको कार्यक्रममा गएको समयमा पिङ्कला अशोकलाई भेट्न आइन्।एकान्तमा दुवैको शारीरिक सम्पर्क हुन्छ।पिङ्कला गर्भवती हुन्छिन्। सम्बन्ध विच्छेद गरेकी पिङ्कला गभवती भएपछि अशोकले स्वीकार्दैनन्।पिङ्कला निराश हुन्छिन्।यस्तो समयमा क्रिस्चियन मण्डलीका नवीना,पवित्रा,उर्मिला,शान्ता र शैलजा जस्ता व्यक्तिसँग भेट भयो।उनीहरूले पिङ्कलाको धर्म परिवर्तन गराउँछन्,आश्रय दिन्छन्,सहयोग गर्छन्।पिङ्कला सुत्केरी हुँदा पनि सहयोग गर्छन्।

अस्मिताका बच्चा नभएकाले पिङ्कलाका जुम्ल्याहा छोराछोरीलाई अस्मितालाई सुम्पिने प्रपञ्च गरिन्छ।अस्मितालाई बच्चाको खाँचो हुन्छ।जुम्ल्याहा छोराछोरीलाई अशोक र अस्मिताले स्वीकार्छन्।पिङ्कलाले अस्मितालाई चर्चमा लग्छिन्।त्यही दिन भुँइचालो आउँछ।पास्चरले प्रभुले बचाउनुहुन्छ भनी भित्र बस्न लगाउँछ, पिङ्कलालाई तानेर अस्मिताबाहिर ल्याउछिन्।चर्चको घर भत्किन्छ।भित्रका सबै एकै चिहान हुन्छन्।यस घटनाले पिङ्कलालाई क्रिस्चियन प्रतिको मोह भङ्ग हुन्छ। अस्मिताले बालुवाटारको जागिर छोड्छिन्,त्यस ठाउँमा पिङ्कलालाई जागिर मिलाइदिन्छिन्।बालुवाटार बस्दा बस्दै पिङ्कलाको पार्टीका नेतासँग नजिक हुँदै जान्छिन्।पिङ्कलामा व्यक्तिलाई चाँडै नै प्रभाव पार्ने क्षमता छ।उनी समानुपातिक कोटाबाट माननीय हुन्छिन्।लगतै महिला,बालबालिका तथा समाज कल्याण मन्त्रीका रूपमा नयाँ मन्त्रिपरिषद्को सदस्य हुन पुग्छिन्।कशेश्वरको महायज्ञमा पुगेर सहभागी हुन्छिन्,आफू एकपटक क्रिस्चियन भएकामा पछुतो मान्दै सुनकोशीको जलले शुद्ध हुने प्रयास गर्छिन्।

उपन्यासको मुख्य कथा यति नै हो।यो कथासँग अनगिन्ती उपकथा जोडिएर आएका छन्।सासू शकुन्तलासँग सम्बन्धित कथा,अस्मिताको विगतसँग जोडिएको कथा,चिया पसलमा सुनिएको कथा,पिङ्कलाका विगतका कथा,वि.सं.२०४७ देखि २०७२ सम्मका राजनीतिक गतिविधिका कथा, दरवार हत्याकाण्डका कथा, राजनीतिक विकृतिका कथा,माओवादी द्वन्द्वका कथा,संसदीय व्यवस्थाका विकृतिका कथा,राजनीतिक कार्यकर्ताका कथा जस्ता अनगिन्ती कथाहरू मूल कथासँग जोडिएर आएका छन्।

उपन्यासमा कतिपय उपकथा जबरजस्त ल्याएका जस्ता देखिन्छन्।उपन्यासकारले केही कुरा भन्न मन लाग्यो भने मुख्य कथाको पात्रसँग सामान्य सम्बन्ध देखाउँदै उपकथा जबरजस्त ल्याएका छन्।लेखकका थुप्र्र अनुभवहरू मनभित्र गुम्सिएर बसेका छन् र यस्ता अनुभवले अभिव्यक्तिको प्रतिक्षा गरिरहेका झै देखिन्छन्।कुनै प्रसङ्ग पाउने बित्तिकै उपकथा सुरु हुन्छ,चाहे ती उपकथा मुख्य कथालाई योगदान दिऊन् वा नदिऊन्।उपन्यास पढ्दै जाँदा वीरसिक्का वा पञ्चतन्त्रको कथा पढे जस्तै लाग्छ,एक कथाभित्र अर्को कथा,कथाभित्र कथैकथा।यस्ता कथा लेखकका अनुभवजन्य सिर्जना जस्तो लाग्छ।

‘अस्मिता’ उपन्यास विकृतिमाथिको प्रहार हो।विशेष गरी यो उपन्यास राजनीतिक विकृतिमाथिको प्रहार हो।नेपालको कर्मचारीतन्त्र,राजनीतिक दल,नव युवा युवतीको मनोदशा,राजनीतिक कार्यकताको दशा,छिमेकी देश भारतको हेपाहा प्रवृत्ति,धर्म परिवर्तनको प्रलोभन,सांस्कृतिक विचलन जस्ता विविध विषयमा भएको विकृतिमाथिको प्रहार हो ‘अस्मिता’ उपन्यास र यसको अन्तर्वस्तु।

‘अस्मिता’ उपन्यासको मुख्य पात्र अस्मिता नै हो।उनैको वरिपरि यो उपन्यास घुमेको छ।अन्य पात्रहरू कथाको मागअनुसार आएको हुन् बिचैमा आउँछन्,बिचैमा हराउँछन्।अशोक,पिङ्कला,शकुन्तला,निर्मल,नर्मदा,शर्मिला,सुमित्रा,प्रतिमा,प्रधानमन्त्री,राजनीति दलका नेता,प्रधानमन्त्री कार्यालय र निवासका कर्मचारीहरू, नवीना,पवित्रा,उर्मिला,शान्ता र शैलजा जस्ता पात्रहरू मूल पात्र अस्मिताको कथासँग गाँसिएर आएका हुन्।उपन्यासको मूल पात्र अस्मिताको भने मुख्य पात्रको तार्किक बैठान भएको छैन।उपन्यास सकिँदासम्म हराइसकेकी हुन्छिन्।यसरी हराउनु मुख्य पात्रमाथिको अन्याय हो लेखकीय बेवास्था हो,असावधानी हो। उपन्यासको अन्त्यमा पिङ्कलालाई चम्काउनु औपन्यासिक कच्चापना हो।

‘अस्मिता’ उपन्यासको सुरुवाती परिवेश सिन्धुली जिल्लाको सुनकोशी नदी र कुशेश्वर महादेव हो।दुम्जा र सुनकोशीको बेंसी उपन्यासको उत्पत्तिको स्थान हो। हेटौडा,काठमाडौं,काभ्रेको तिमाल डाँडा,रूपन्देहीको मर्चचार,रसियाको सेन्ट पिटर्स वर्ग जस्ता ठाउँमा उपन्यास घुमेको छ।लेखकले उपन्यासलाई आञ्चालिक बनाउने प्रयास गरेका छन् तर उपन्यास आंशिक रूपमा देखिए पनि अधिकांश परिवेश र घटना आञ्चालिक हुन सकेको छैन।उपन्यासमा आञ्चालिक शब्दको प्रयोग पनि पाइन्छः छेस्,ऐले।

लेखकको जन्मस्थान सिन्धुली हो।त्यसैले लेखकले आफ्नै जन्मस्थानको परिवेशमा उपन्यास लेखेका हुन्।इन्जिनियरको रूपमा रूपन्देहीमा काम गरेकाले रूपन्देहीको मर्चवारको परिवेश पनि छ।लेखकले स्नातक र स्नातकोत्तर तह रसियाको सेन्ट पिटर्स वर्गमा पढेकाले उपन्यासलाई जबरजस्त रसियन परिवेशमा पुर्याएका छन्।कथाले मागेमा उनले सेन्ट पिटर्सवर्ग नभई न्युयोर्क,जेनेभा,बेइजिङ,देल्ली पुर्याउन सक्थे।उपन्यासको कथालाई लेखकले आफूले जन्मेको र घुमेका स्थानमा डोर्याएका छन्।यसरी डोर्याउनुको अर्थ आफ्नो अनुभवलाई पस्कन चाहनु नै हो।

विषयवस्तु र विचारमा ओझपूर्ण भए पनि यो उपन्यास भाषिक रूपमा निकै कमजोर देखिन्छ।यो कमजोरी हुनुको मुख्य कारण राम्रो सम्पादन नहुनु नै हो। प्रकाशनका लागि हतार गरिएको पनि हुन सक्छ।

उपन्यासमा एउटै शब्दको पनि फरक फरक प्रयोग भएको पाइन्छः चाहीँ–चाँही–चाहिँ,स्वाध्यान–स्वअध्यायन, पारि–पारी,चित्कार–चीत्कार,कृया–क्रिया, क्रियापुत्री–कृयापुत्री, गरीब–गरीव, भौजहा–भौजाहा,माइतीघर–माइतिघर, जिङ्रिङ्ग–जिङ्रीङ्ग,राजाकाँहा–राजाकाहाँ।

उपन्यासमा सामान्य वर्णविन्यासलाई पनि ध्यान दिइएको पाइँदैनःशरिर,मातृभूमी,सानोठीमी,सामाग्री,सवृद्धि,म्युनिजयम,पलेस,आछाम,हेरक,अगाडी,अग्नी, पीताजी,पढाई,राणाकालिन,शाषक,प्रतीकृया,बुद्धिजीवि,आाज,मन्त्रीपरिषद्,प्रतिनीधि,नीकैबेर,ढीला,पन्द्र,सिमित,खोजि,घडि,माइतीघर मण्डेलातिर,सहि, चूरीफूरी,पूरानो,चुनावद्धारा,वालुवाटार,वाजेको,नदिको,सृजना,महत्पुर्ण,केहि,लीन।

उपन्यासमा अङ्ग्रेजी शब्दको प्रयोग पनि छ्याप्छ्याप्ती पाइन्छः कल,कमेन्ट,लिभिङ रुम,गेट,म्याडम,रेमिट्यान्स,ºयाकल्टी,बेल्ट,डोज,डेलिगेशन,रुलिङ्ग।

उपन्यास पढ्दै जाँदा झर्रा शब्दहरू प्रशस्तै भेटिन्छन्ः लठिंगर,तघारे,अर्घाप्न,हन्वेर्ना,सोवर्नी, बकेर्नी,बकेर्नु,दोहोलो,सेनामेना,उम्दा,ह्वासलाङ्गे,लुतेधन्दा,छडुँली, वैला,बाइफाले,कुखुरे वैंश,लाठे,रण्डी,वेश्या,मुकुर्टा,हलका,जस्केलो,चलाक,खलासी,खुराफाती,पोइल,लाउकेहरू,सपेती,भौजाहा,भाषणभूषण,जिङ्रिङ्ग, उट्पट्याङ्ग,खुचिङ्ग।

उपन्यासलाई प्रगतिवादी भन्न खोज्दाखोज्दै पनि पढ्दै जाँदा केही सामन्ती भाषिक शब्द पनि पाइन्छन् : पाल्नभाथ्यो,प्रधानमन्त्रीको सवारी भयो,दर्शन गरे,।यस्ता शब्दको प्रयोगले यथार्थतालाई उजागर गरेको छ तर उपन्यासको कथावस्तु हेर्दा यो सुहाउने जस्तो लाग्दैन।

उपन्यासभित्र आदरर्थी शब्दमा एकरूपता पनि छैन।कहीँ ‘प्रधानमन्त्री पाल्नुभयो’ भनिएको छ,कहीँ ‘सवारी भयो’ भनिएको छ भने कहीँ ‘प्रस्थान गरे’ भनिएको छ ।कतै ‘तुरुन्तै प्रधानमन्त्री पनि सिंहदरवारतिर प्रस्थान गरे’ पनि भनिएको छ।

उपन्यासमा पद सङ्गतिअनुसार काल र पक्षलाई ध्यान दिइएको पाइँदैनः ‘प्रधानमन्त्रीको कार्यालयमा आज खचाखच मान्छेहरू थिए’ भनिएको छ।यसमा ‘आज’ भनेपछि ‘थिए’ नभएका भए हुन्थ्यो।कालअनुसार मिलाउनुपथ्र्यो।‘तपाईँहरूलाई पहिलो पटक नै राखेको छु’ भनिएको छ,यसको सट्टा ‘तपाईँहरूलाई पहिलो पालामा नै राखेको छु’ भनेको भए हुन्थ्यो।

उपन्यासभरि कारक र विभक्तिको प्रयोग सही हुन सकेको छैनः समाधानको लागि,रमाइलोका लागि,जनताको लागि,प्रधानमन्त्रीकोमा,लागेकोले,सकिएकोमा, भएकोमा।

उपन्यासका लेखक अपाङ्गलाई प्रयोग गर्ने शब्दप्रति सचेत देखिँदैनन्।केही ठाउँमा अपाङ्गमैत्री शब्द चयनमा लेखक चुकेका छन्ः लङ्गडाको,अन्धो,लाटो,लठेब्रो । उपन्यासमा नेपाली उखानको प्रयोग रहर लाग्दो छ।

उपन्यासमा विषयगत अस्पष्टता पनि भेटिन्छ।प्रधानमन्त्रीद्वारा संसदको विघटन भनिएको छ,संसद विघटनको सिफारिस हो,श्री ५ बाट मन्त्रिपरिषद्को सिफारिसमा विघटन हुनुपर्ने हो।यसमा विषयगत सङ्गतिको अभाव देखिन्छ।भक्तपुरको सानोठिमीमा शिक्षा मन्त्रालय भनिएको छ,समाचारमा भक्तपुरमा शिक्षा कार्यालयको भवन शिलान्यास पनि भनिएको छ।सानोठिमीमा शिक्षा कार्यालयको भवन छैन,यो छ भक्तपुरको व्यासीमा छ।यसमा स्थानगत र कार्यालयगत अस्पष्टता देखिन्छ।‘न्यायधीशको नियुक्ति आखिर संवैधानिक परिषद्ले सिफारिस गरे अनुसार हुने हो’ भनिएको छ।न्यायधीशको सिफारिस संवैधानिक परिषद्ले गर्दैन,प्रधानन्यायधीशको मात्र गर्छ।न्यायधीशको सिफारिस न्याय परिषद्ले गर्छ।मन्त्रिपरिषद्को बैठकमा मुख्य सचिवलाई मन्त्रीले सचिवज्यू भनेको मिलेको छैन ।मन्त्रीले भन्नु परेमा मुख्य सचिव नै भन्छन्।मन्त्रिपरिषद् बैठकमा मन्त्रीले मुख्य सचिवलाई आदेश दिदैनन्,आदेश दिनुपर्दा प्रधानमन्त्रीले नै दिन्छन्।मन्त्रिपरिषद् बैठकको अध्यक्षता प्रधानमन्त्रीबाट हुन्छ।अर्को कुरा मन्त्रिपरिषद्को बैठकमा सचिवहरूको उपस्थिति नै हुँदैन,एकजना मुख्य सचिवको मात्र हुन्छ।उपन्यासको चालिसौं अङ्कमा मन्त्रिपरिषद् बैठककमा सचिवको कुरा पटकपटक आएको छ।यो विषयगत अस्पष्टता हो।

लेखकले पटकपटक पशु हिंसालाई किन उल्लेख गर्न रुचाएका हुन् बुज्न सकिएको छैन।पशु हिंसालाई कथाले मागेमा साङ्केतिक रूपमा उल्लेख गर्न सकिन्थ्यो। उपन्यास पढ्दा तीन स्थानमा यस्ता पशु हिँसा पढ्नुपर्ने बाध्यता छ।यस्ता पशुलाई गरिएको हिँसाले पाठकलाई पढाइबाट अलग्याउँछ।

श्रीमद्भागवतका वाचक शुकदेव स्वामीकी आमा पिङ्गला थिइन्।यस उपन्यासकी पात्र पिङ्कला पात्र खडा गरिएको छ।भागवतकी पिङ्गला थिइन्,यो उपन्यासमा पिङ्कला छन्।उपन्यासकी पिङ्कलाको भूमिका खल पात्रका रूपमा रहेको देखिन्छ।उपन्यासमा गीतालगायत धार्मिक ग्रन्थका श्लोकको पनि आवश्यकतानुसार उल्लेख गरिएको छ।उपन्यासमा लेखकले गीताको उपदेश उल्लेख गर्दै भनेका छन्ः ‘काम गर्दै जानु, फलको आशा नगर्नु’।यसलाई ‘काम गर्दै जानु,फलप्रति आशक्त नहुनु’ भनेको भए उपयुक्त हुन्थ्यो।

उपन्यासको शैली वर्णनात्मक छ।लेखकले पात्रका माध्यमद्वारा घटनालाई वर्णन गरेका छन्।लेखकले घटना वर्णनमा पूर्वदीप्ति प्रणालीको भरपूर उपयोग गरेका छन्।यसका लागि लेखकको प्रशंसा गर्न कञ्जुसाई गर्नु हुँदैन।उपन्यासमा वक्रोक्ति छैन,भन्न पर्ने कुरालाई सिधा सिधै भनिएको छ।बिम्ब तथा प्रतीकको प्रयोग खासै छैन।दृष्तान्त भने थुपै्र छन्।सरल भाषामा औपन्यासिक कथालाई उनिएको छ।कथा उन्दा लेखकलाई भन्न मन लागेका कुराहरू उपकथाका रूपमा आएका छन्।कतिपय ठाउँमा अस्मिता लेखकको मुख पात्र हो कि भन्ने झलक दिन्छ।

उपन्यास तत्कालीन समयको ऐना जस्तो देखिएको छ।प्रजातन्त्रको पुनर्बाहलीदेखि संविधान सभाबाट नयाँ संविधान घोषणा नहुँदासम्मका राजनीतिक घटना, सामाजिक परम्परा र विकृति,नेपाली राजनीतिक नेतृत्वमा आएको अधोगति जस्ता विषयलाई मिहिन रूपमा केलाइएको छ यस उपन्यासमा।यही समयको विकृतिलाई प्रत्यक्ष भोगेका पाठकका लागि थप रोचक छ।भोग्न नपाएका पाठकका लागि नयाँ स्वाद दिन्छ,इतिहासको ज्ञान गराउँछ।उपन्यास पढ्न सुरु गरेपछि अन्त्य नभइञ्जेल पाठकले धैर्यतापूर्वक एक एक घटना स्मरण गर्दै पढ्नुपर्छ।उपन्यासमा धेरै नै घटना आउँछन्।

दाहालको लेखन पेसागत होइन,रुचिको विषय हो।आºना मनमा लागेका विषयलाई पस्कने माध्यम साहित्यलाई बनाएका छन्।इन्जिनियर भएर होला दाहालका अभिव्यक्ति लाक्षणिक भन्दा पनि अभिधामूलक छन्।यसको भरपूर ‘अस्मिता’ उपन्यासमा उपयोग गरेका छन्।व्यञ्जनाको भने अभाव पाइन्छ।

विचारमा विद्रोह छ तर यस्तो विद्रोहमा औपन्यासिकता कम छ।विकृतिलाई उदाङ्गिएको छ तर यस्ता विकृतिलाई कलात्मक किसिमले भनिएको छैन।कतिपय स्थानमा लेखकले व्यक्ति,राजनीति दल,राजनीति दलका नेता आदिको नाम नभने पनि अनुमान गर्न प्रशस्त सङ्केत पाइन्छ।यस्तो भनाइले साहित्यभन्दा नारा बढी कुन सक्छ।उपन्यासमा विचारहरू ढिक्का ढिक्का भएर आएका छन्,विचारको उकुसमुकुस नै छ।विचारहरू सुनकोशी जस्तै सलललल बगेका छैनन्,ग्यासियर जस्तो देखिन्छन्।साहित्यमा विचारहरू आउँछन्,यस्ता विचारहरू चियामा चिनी घुले जस्तै घुलेर आउनुपर्ने हुन्छ,छुट्याउनै नसकिने गरी, एकाकार भएर।

भाषिक र अन्य त्रुटिहरू आगामी संस्करणमा सुधार गर्दा उपयुक्त हुन्छ।उपन्यास एकपटक ससर्ती पढ्नका लागि मनोरञ्जक पनि छ,नेपालका समसामयिक विकृतिको अनुभूति पनि दिन्छ।आगामी दिनमा थप रोचक र कौतुहलपूर्ण सिर्जनाको अपेक्षा दाहालबाट गर्न सकिन्छ।

-श्रमिक बराल

 

 

प्रतिक्रिया